८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकार अल्पमतमा

एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य बोहराले नेकपा एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।  

बजेट अधिवेशनको दोस्रो बैठकको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नु पर्नेमा जोड दिए । एमाले (ओली समूह)का प्रदेश सभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए। ‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ, त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसकेको छ,’ उनले भने, ‘नेकपा एमाले अब प्रतिपक्ष भएको छ। प्रतिपक्ष बेन्चमा बसाइँको व्यवस्थापनका लागि पनि म आग्रह गर्दछु ।’ तर, आजको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा  माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेश सभा सदस्य छन् त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना रहेका छन्।  

यस्तै बजेट अधिवेशनको दोस्रो बैठममा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकार जुगाडको  भरमा चलेको आरोप लगाएका थिए। उनले भने, ‘म जनताको शब्द सापट लिएर प्रश्न गर्दैछु। प्रदेश सरकार कमिशनको भरमा चलेको छ।’

सरकार नेतामुखी भएको आरोप लगाउँदै उनले भने, ‘नेताको गुलामी गर्ने मात्रै काम सरकारले गरेको छ । तर, अब आउने बजेट जनमुखी बनाऔँ।’ सरकार कोरोना महामारीमा पूर्ण असफल भएको बताउँदै उनले भने, ‘पहिलो र दोस्रो चरणको कोरोना महामारीमा जनताको ज्यान बचाउन प्रदेश सरकार असफल भयो।’ सरकार जनताको ज्यान जोगाउन भन्दा कमिशनका भरमा योजना वितरण गर्नमै केन्द्रित भएको आरोप उनले लगाए।

सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा उनले जोड दिए।  

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो। प्रदेश सभाको पहिलो बैठकले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो। पहिलो बैठक सकिएको १५ मिनेटपछि बसेको दोस्रो बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवको पत्र सभामुख अर्जुन थापाले पढेर सुनाएका थिए।

प्रकाशित: २१ जेष्ठ २०७८ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App