८ वैशाख २०८१ शनिबार
राजनीति

जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

कृष्ण थापा

गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद थापालाई उनको पार्टीले कारवाही गरेको भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएपछि उनी पदमुक्त भएका हुन् । जनमोर्चाले सांसद थापालाई पदमुक्त गर्न विहीबार प्रदेशसभा सचिवालयमा पठाएको थियो ।  

संसद सचिवालयले विहीबार दिउँसो नै उनी पदमुक्त भएको पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ भने विहीबार बसेको प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्न पत्र आएको जानकारी गराए । साथै उनले सांसद थापाको ठाउँमा प्रदेश सभा सदस्य पद रिक्त रहेको बताए । सांसद थापालाई यसअघी नै पार्टीले साधारण सदस्य पदबाटसमेत हटाइसकेको छ । पार्टी हित विपरित कार्य गरेको भन्दै जनमोर्चाले उनलाई १ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारवाही गरेको हो ।  

राष्ट्रिय जनमोर्चाले प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन सघाउने निर्णय गरेपनि सांसद थापा त्यसको विपक्षमा उभिदै आएका थिए । उनी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको निरन्तरताको पक्षमा थिए । राष्ट्रिय जनमोर्चा पार्टी निर्णय कार्यान्वयन भएमा यहाँ कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था छ । तर थापा कांग्रेस नेतृत्वमा सरकार बनाउने जनमत नभएको र कांग्रेसले जनतालाई दुःख दिएको भन्दै पार्टी निर्णयको विपक्षमा उभिदा प्रदेशमा पृथ्वी सुब्बा गुरुङले दोश्रो पटक मुख्यमन्त्री बन्ने मौका पाए ।

यसअघि अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गर्ने समयमा जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही बेपत्ता हुनुमासमेत सांसद थापाको हात रहेको आशंका गर्ने गरिन्छ । यद्वपी यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । शाही हाल आएर भने कांग्रेस नेतृत्वमा सरकार बनाउन केहि लचिलो भएको अनुमान गरिएको छ । बुधबार प्रदेश सभामा बोल्ने क्रममा उनले संविधान अनुसार सरकारले विश्वासको मत लिनुपर्ने बताएका थिए । बिपक्षी गठबन्धनकै लोलीमा बोली मिसाउँदै उनले भनेका थिए, ‘विपक्षी गठबन्धनले विश्वास लिनुपर्छ भनिरहेको र सत्तापक्षले पनि विश्वासको मत लिन्छु भनिरहेकै कारणले संविधान अनुसार विश्वासको मत लिन आग्रह गर्दछु ।’

त्यतिमात्र होईन शाहीले संघमाजस्तै प्रदेशमा पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नराख्नुको कारण कतै प्रदेश सभा विघटन गर्ने नियतले त होईन भन्ने प्रश्न समेत गरेका थिए । सांसद थापाको पद गएसँगै ६० सदस्य रहेको गण्डकी प्रदेश सभा ५९ सदस्यीय भएको छ । राष्ट्रिय जनमोर्चाका ३ सांसद मध्ये थापा पदमुक्त भएसँगै २ सदस्य मात्र बाँकी रहेको छ । 

प्रकाशित: २० जेष्ठ २०७८ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App