१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताका लागि भ्याक्सिन नै अन्तिम विकल्प: सामाजिक बिकास मन्त्री राई

स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री वितरणकाक्रममा बोल्दै सामाजिक बिकास मन्त्री उषाकला राई। तस्बिर: दमन राई/नागरिक

प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री उषाकला राईले ऋण काढेर वा मौज्दात रकम खर्च गरेर भए पनि जनतालाई कोभिड–१९ बिरुद्धको खोप दिने तयारी भइरहेको बताएकी छन्। विराटनगरबाट स्वास्थ्य सामग्री ल्याएर स्वास्थ्य कार्यालय खोटाङलाई मंगलबार हस्तान्तरण गर्दै सामाजिक बिकास मन्त्री राईले अहिले जनताका लागि चाँडोभन्दा चाँडो भ्याक्सिन उपलव्ध गराउनु नै अन्तिम विकल्प भएको निष्कर्षमा सरकार पुगेको बताएकी हुन्।  

‘मान्छेको जीवन नै सबैभन्दा ठूलो कुरा हो। मान्छेको जीवन रक्षा र स्वास्थ्य नै प्राथमिक कुरा हो । त्यस कारणले सरकारले आफ्नो जनताको स्वास्थ्यलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ मन्त्री राईले भनिन्, ‘चाँडोभन्दा चाँडो जनताका लागि भ्याक्सिन नै अन्तिम कुरा हो भन्ने कुरामा हामी पुगेका छौँ । ऋण काढेर भए पनि वा भएको मौज्दात बजेटबाट भ्याक्सिन किनेर लगाइदिने योजना हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । कोरोना कहरले उव्जाएको चुनौतीलाई अवशरमा बदल्न जरुरी छ।’  

सामाजिक बिकास मन्त्री राईले प्रदेश नम्बर १ भरीका जनतालाई चाँडोभन्दा चाँडो कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउने कार्यक्रम अगाडि बढाइएको बताएकीछन्। त्यसका लागि प्रदेश नम्बर १ सरकारले खोप किन्ने तयारी गरिरहेको मन्त्री राईको भनाई थियो। नेपाल सरकारले जनतालाई निःशुल्क खोप दिने बजेट ल्याइसकेको अवस्थामा प्रदेश सरकार आफैले सोभन्दा चाँडो खोप सेवा उपलव्ध गराउन प्रयत्न गरिरहेको बताइन्। ‘प्रदेश सरकारले छिटोभन्दा छिटो सबै जनतालाई कोभिड बिरुद्ध खोप लगाएर सुरक्षित गर्ने कार्यक्रम बनाएको छ,’ मन्त्री राईले भनिन्, ‘कोभिडको कहरले हामीलाई नयाँ कुरा सिकाइरहेको छ। स्वास्थ्यका बारेमा नयाँ ढंगले सोच्न बाध्य भएका छौँ।’  

मन्त्री राईले कोरोनालाई परास्त गर्नका लागि नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न, सामाजिक दुरी कायम गर्न, सेनीटाइजर र मास्क अनिवार्य लगाउने र जनचेनाका कार्यक्रमलाई जनता–जनतामा पुर्‍याउन आवश्यक रहेको औंल्याएकी छन्। मन्त्री राईले उपचारका लागि काठमाडाैँ वा बिराटनगर जाँदै गर्दा बाटैमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्याका लागि जिल्ला अस्पताललाई नै मजबुद अस्पताल बनाउन प्रस्ताव गरेको बताएकी छन्। जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान सहितको एचडियू, आइसियू र भेन्टिलेटर सहितको उच्च जनशक्ती र प्रविधियुक्त अस्पताल बनाउने योजना अघि बढाउन मन्त्रालयकातर्फबाट प्रस्ताव गरेको मन्त्री राईले बताईन्।  

मन्त्री राईले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका परिवारप्रति शान्त्वना, सहानुभूती र मृतकप्रति समवेदना प्रकट गरेकी छन्। मन्त्री राईमार्फत स्वास्थ्य कार्यालयमा साढे आठ लाखभन्दा बढी मूल्याको स्वास्थ्य सामग्री आइपुगेको छ। मन्त्री राईमार्फत प्रदेशबाट गत बैसाख ३० गते पनि ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो।  

प्रकाशित: १८ जेष्ठ २०७८ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App