२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक: कार्यसूचीमा प्रवेश नगरी स्थगित

लामो समयपछि बसेको वाग्मती प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रदेश राजधानी हेटौंडा १० स्थित प्रदेशसभा भवनमा आईतबार बसेको वर्षे(बजेट) अधिवेशनको पहिलो बैठक शोक प्रस्तावमै सीमित भएको हो ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने लगाएतका कार्यसूची रहेको थियो ।

कोरोना संक्रमणका कारण निधन भएका प्रदेश सांसद पशुपति चौलागाईप्रति श्रद्धाञ्जली स्वरुप शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो । दोलखाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट निर्वाचित स्वर्गीय चौलागाई एमालेको भातृ संगठन युवा संगठनका पूर्व अध्यक्ष समेत थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको मनमोहन मेमोरियल कलेज स्वयम्भुमा उपचाररत ५८ वर्षीय उनको वैशाख २८ गते निधन भएको थियो । प्रदेशसभामा उनको सम्झनामा १ मिनेट मौन धारणसमेत गरिएको थियो ।

बैठकमा वाग्मती प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनबारे संसद्लाई जानकारी गराईएको थियो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईबाट प्राप्त भएको मन्त्रिपरिषद्को पुनर्गठनको पत्र पढेर सुनाएका थिए ।

यसैबीच, प्रदेशसभाको आगामी बैठक सोमबार विहान ११ बजे बस्ने भएको छ । सभामुख श्रेष्ठले आईतबार बसेको बैठक स्थगित गर्दै यस्तो जानकारी दिएका थिए । बैठकअघि सबै प्रदेश सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरेपछि प्रदेशसभा हलमा प्रवेश गराईएको थियो ।

प्रकाशित: १६ जेष्ठ २०७८ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App