५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : निर्वाचनको पूर्वसन्ध्यामा ४ सांसदलाई मताधिकार

निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको रिक्त पदका लागि हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा ४ जना मतदाता थपेको छ।

राष्ट्रिय सभाको रिक्त एक पदका लागि भोलि बिहान ९ बजेदेखि  मतदान  हुँदैछ। आयोगले यसअघि निकालेको अन्तिम नामावलीमा प्रदेश सभाका ७९ जना सांसदको नाम थियो। तर आइतबार साँझ पाँच बजेपछि आयोगले यसअघि मतदान गर्न नपाउने भनिएका ४ जना सांसदलाई मताधिकार दिएको हो।  

प्रदेश सरकारमा मन्त्री रहेका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले भोलिको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्। यी चारै जना अहिले प्रदेश सरकारका मन्त्री छन्।

निर्वाचन आयोगले प्रदेश सरकारमा मन्त्री रहेका यी ४ जना सांसदलाई पुरक मतदानको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। योसँगै भोलिको निर्वाचनमा लुम्बिनी प्रदेशसभाका ८३ जनाले मत दिन पाउनेछन्। राष्ट्रिय सभा निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ।  

जसपाको ठाकुर पक्षका ती ४ सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे पनि मन्त्री पद पाएपछि उसै दिन फेरि पोखरेल नेतृत्वको सरकारको मन्त्री बन्न गएका थिए।

त्यसलगत्तै जसपाले उनीहरुलाई कारबाही गरेको थियो। कारबाहीको पत्र संसद सचिवालयमा दर्ता भएपछि उनीहरुलाई सभामुखले पदमुक्त गरेका थिए। त्यसबिरुद्ध चारै जना सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले तत्कालका लागि सो निर्णय कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको थियो।

तर निर्वाचन आयोगले भने सर्वोच्चको सो आदेश आउनु अघि नै अन्तिम नामावली निकालेकोले उनीहरुको नाम समावेश नभएको यसअघि बताएको थियो। निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले ती ४ जनालाई पुरक मतदानको अधिकार दिइएको जनाएको हो।  

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको यो निर्णयलाई विपक्षी गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग भनेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका  प्रमुख सचेतक फकरुद्धिन खाँनले सत्ताको दुरुपयोग गरी अन्तिम नामावली र दाबी विरोधको समय सकिएपछि मताधिकार दिइएको बताए। संवैधानिक अंगहरुले समेत सत्ताको निर्देशनमा निर्णय फेर्नु गलत भएको उनले टिप्पणी गरे।

प्रकाशित: १६ जेष्ठ २०७८ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App