१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् विघटबारे सभामुखद्वारा पूर्वसभामुखसँग छलफल

सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटको विषयमा गरेको पूर्वसभामुखहरूसँगको छलफलमा उनीहरूले अल्पमतको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका छन्। उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै पुनस्थापनाको माग गरेका छन्।  संसद् विघटनको विषयमा सभामुख सापकोटाले मंगलबार नयाँ वानेश्वरस्थित प्रतिनिधिसभा भवनको ल्होत्से हलमा परामर्श बैठक राखेका थिए।  

बैठकमा पूर्वसभामुख रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा र भर्चुअल माध्यमबाट तारानाथ रानाभाटको सहभागिता थियो। अन्य दुई पूर्वसभामुख दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने सहभागी भएका थिएनन्। पूर्वसभामुख नेम्वाङले भने आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएकाले छलफलमा उपस्थित  हुन नसक्ने जानकारी दिएका  थिए। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा पनि विघटवरुद्ध ३० ओटा रिट  परेका छन्।  

पूर्वसभामुख कांग्रेस नेता रामचन्द्र पौडेलले ‘संसद् भएको बेला राजनीतिक समस्याको छिनोफानो संसदबाटैहुनुपर्छ’ भनेका थिए। उनले बहुमत हस्ताक्षर लगेर राष्ट्रपतिसमक्ष बुझाएपछि प्रधानमन्त्री नियुक्त गरी त्यसको छिनोफानो गर्ने अधिकार संसद्लाई दिनुपर्ने बताए। पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र यसलाई पुनस्थापना गर्नुपर्ने बताएकी थिइन्। अहिलेको  विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका  के हुनसक्छ भनेर पनि छलफल भएको थियो। सभामुख सापकोटाले संसद् विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपिल गरिसकेका छन्। बैठकमा पनि सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएको स्रोतले बतायो।  

प्रकाशित: १२ जेष्ठ २०७८ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App