१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा संयुक्त गठबन्धनका नेकपा एमालेनिकट डा. खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा देवकोटाले कूल ५ हजार ८८ मतभार(१ सय ८६ मत)सहित एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका हुन् । थापाले ४ हजार १४ मतभार(१ सय ४८)मात्र पाउँन सफल भएका थिए भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार(४ मत) मात्र पाउन सफल भए ।

१ सय ९ प्रदेश सांसदमध्ये देवकोटाले २ हजार ७ सय ८४ मतभार(५८ मत), थापाले २ हजार १ सय ६० मतभार(४५ मत) र तामाङले ९६ मतभार(२ मत) पाउन सफल भए । त्यस्तै, स्थानीय तहका २ सय ३३ मतदातामध्ये डा. देवकोटाले २ हजार ३ सय ४ मतभार (१ सय २८मत) र रामबहादुर थापाले १ हजार ८ सय ५४ मतभार(१ सय ३ मत) पाएका थिए भने नेपाल मजदुर किसान पार्टीका तामाङले ३६ मतभार(२ मत) पाएका थिए । प्रदेश सांसद एक जनाको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार मानिन्छ ।

१ सय ५ प्रदेश सांसद र १३ जिल्लाका १ सय १९ स्थानीय तहका २ सय ३३ प्रमुख र उपप्रमुख गरी ३ सय ३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तहका ५ जना प्रमुख र उपप्रमुख तथा प्रदेश सांसद ४ जना मतदानमा सहभागी भएनन् ।

प्रदेशमा १ सय ९ जना सांसद(मृतक पशुपति चौलागाईबाहेक), स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४७ मतदाता थिए ।

प्रमुख प्रतिष्पर्धी थापा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् भने एमालेकै माधव नेपाल पक्षका देवकोटालाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ ।

९ हजार ५ सय ६४ मतभारमध्ये ५ हजार ८२ मत भारसहित एकल बहुमतमा रहेको एमालेको प्रदेश सांसदको २ हजार ६ सय ८८(मृतक चौलागाईको ४८ मतभारसहित)र स्थानीय तहका प्रमुख र उपप्रमुखको २ हजार ३ सय ९४ गरी कुल ५ हजार ८२ मत भार छ । त्यस्तै, कांग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)को गठबन्धनको ५४ प्रदेश सांसदको मतभार २ हजार ५ सय ९२ तथा १ सय ५ स्थानीय तहका प्रमुख र उपप्रमुखको एक हजार ८ सय ९० गरी ४ हजार ४ सय ८२ मतभार छ ।

२०७४ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको कोटामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)बाट राष्ट्रिय सभा सदस्य भएका थापाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि माओवादीले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

प्रकाशित: ६ जेष्ठ २०७८ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App