१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्मा पुरानै अनुहार

अस्थिरता निम्त्याउने कदम स्वीकार्य हुन्न: प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार सपथ ग्रहण गर्दै प्रधानमन्त्री केपी ओली । तस्बिर: रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ धकल्ने काम र प्रयास नगर्न विपक्षी राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका ओलीले सिंहदबारमा कार्यभार समालेपछि भने, ‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्वहरू लोकतान्त्रिक मूल्य–मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्दा प्रतिगमन भएको देख्छन्, आफूले सरकार बनाउन नसक्नुमा पनि प्रतिगमन देख्छन्, अरुले सरकार बनाउँदा पनि प्रतिगमन देख्छन्, तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन्, जनतालाई भ्रममा पार्न मुलुकमा प्रतिगमन भएको छ भन्छन्।’  

तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढिरहेको दाबी गर्दै संविधान र संसदीय प्रक्रिया अनुसार हटाउन नसक्ने तत्वहरूले आफूलाई प्रतिगामी भनेको आरोप लगाए।

सरकारलाई सफल हुन नदिने तत्वले भ्रष्टाचारको हल्ला फैलाएको आरोप लगाउँदै ओलीले कसैले भ्रष्टाचार गरेको थाहा पाए कारबाही गर्ने बताए। देशप्रति चिन्तित नहुने प्रवृत्ति र मुलुकलाई अस्थिरतातर्फ धकल्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै उनले भने, ‘जताततै पहेंलो देख्ने जन्डिसका बिरामीजस्ता, जता पनि भ्रष्टाचार देख्ने भएका छन् एकथरी।’

कोरोना भाइरस संक्रमण नियन्त्रणमा सक्रिय भएर लाग्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संकटका बेला मानवीय भावना बढी आवश्यक पर्छ। यस्तो बेलामा परोपकारी प्रवृत्तिलाई बढावा दिन आवश्यक छ।’ सबै जिम्मेवारीबोधका साथ सक्रिय भए संकट टार्न सकिने उनको भनाइ थियो। ओलीले शुक्रबार नै संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भडारीबाट शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका थिए। 

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले सोही दिन संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी गर्न तीन दिनको समय दिएकी थिइन्। राष्ट्रपतिले दिएको समय सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीको दाबी प्रस्तुत नगरेपछि बिहीबार राति उनले ओलीलाई संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री विष्णु पौडेलले यसअघिकै जिम्मेवारी पाएका छन्।  

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ भएका छन्।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दाबा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलिकुमारी महतो रहेका छन्। 

मन्त्रीहरूले पनि शुक्रबार नै सपथ लिएका छन्। यसैगरी सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नवराज राउत र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक दोहोरिएका छन्। उनीहरूले पनि सपथ लिएका छन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ट अधिकारी उपस्थित थिए।

प्रकाशित: १ जेष्ठ २०७८ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App