१६ चैत्र २०८० शुक्रबार
राजनीति

गण्डकीमा राष्ट्रिय जनमोर्चाको अड्को

राष्ट्रिय जनमोर्चा नयाँ सरकारलाई समर्थन दिन तयार छैन

गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न सक्ने सम्भावना कम हुँदै गएको छ । अविश्वास प्रस्तावमा साथ दिएको जनमोर्चाले नयाँ सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि बहुमतको प्रदेश सरकार नबन्ने देखिएको हो । यद्दपी बहुमतीय सरकार निर्माणको समय बुधबार अपराह्न ४ बजेसम्म छ । तर त्यतिञ्जेलसम्म चमत्कार नभए बहुमतको सरकार नबन्ने पक्काजस्तै छ ।

विपक्षी ३ दलले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएका थिए । राजिनामा दिएलगत्तै प्रदेश प्रमुख सीता पौडेलले आइतबार साँझ ३ दिनको समय दिएर बहुमतीय सरकार निर्माणको लागि आह्वान गरेकी थिईन् । उनले दिएको समय बुधबार अपराह्न ४ बजे सकिनेछ ।

नयाँ सरकार गठनका लागि आह्वान भएको दुईदिन वित्दासमेत दुबै पक्षले बहुमत पु¥याउन सकेका छैनन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन अविश्वास प्रस्ताव पक्षधर दलहरु लागिपरेका छन् । तर २ दिनको प्रयास हात लाग्यो श्ुन्य भएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी र जसपा तयार नै छन् । तर अविश्वास प्रस्तावमा समर्थन जनाएको राष्ट्रिय जनमोर्चा नयाँ सरकारलाई समर्थन दिन तयार भएको छैन ।

सरकार बनाउन जनमोर्चा निर्णायक शक्ति हो । किनकी कांग्रेस नेतृत्वमा सरकार बनाउन कांग्रेस १५, माओवादी केन्द्र ११ (सभामुख बाहेक) र जसपा २ गरी २८ सांसद तयार छन् । ६० सदस्य रहेको प्रदेशसभामा बहुमत पु¥याउन ३१ मत आवश्यक पर्छ । उसो त एमालेकोे २७ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) थपिदाँ २८ मत छ ।

कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउनका लागि मत दिने जनमोर्चाले निर्णय नै गरेको थियो । त्यतिमात्र होइन जनमोर्चाकी सचेतक पियारी थापाले कांग्रेस नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर गर्न भनेर ह्वीप नै जारी गरेकी छन् । तर जनमोर्चाकी सचेतक थापा बाहेक संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाही कांग्रेस नेतृत्वमा सरकार बनाउन कुनैपनि हालतमा तयार छैनन् ।

यसैबीच जनमोर्चाको नेत्वले सांसदहरुलाई मनाउन र पार्टीको निर्णय कार्यान्वयन गर्न केन्द्रबाट महासचिव मनोज भट्ट र प्रदेश अध्यक्ष शंकर बराललाई खटाएको छ । तर उनीहरुको प्रयास सार्थक बन्न सकेको छैन । बरु उल्टो दुई सांसदले नयाँ सरकारका लागि मत नदिने स्पष्ट अडान राखेका छन् । जसका कारण सरकार बनाउन तयार भएर बसेका ३ दल अहिले खिन्न बनेका छन् । ्

सोमबार साँझसम्म भोलि निर्णय गर्छौं भन्दै पर्खाएको जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो पार्टीको निर्णय कार्यान्वयन गर्न नसक्ने जानकारी नेतृत्वलाई गराएका छन् । सांसदहरुले नै धोका दिएपछि पार्टी नेतृत्वले ३ दललाई सरकारका लागि समर्थन गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिएको बताइसकेका छन् । तैपनि बुधबार विहानसम्म कुनै चमत्कार हुन्छ कि भन्ने आशामा तीनदल छन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन समर्थन नगर्ने जानकारी पार्टी नेतृत्वमार्फत ३ दललाई दिइसकेको बताए । ‘हामीले हाम्रो निर्णय प्रदेश पार्टी नेतृत्वमार्फत ३ दललाई दिइसकेका छौं, हामी कांग्रेसलाई सघाउन सक्दैनौं,’उनले भने । पार्टी निर्णय विपरित सरकार बनाउन हस्ताक्षर नगर्दा जनमोर्चाका २ सांसदलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङप्रति लम्पसार परेको तथा बिकाउमा परेको हुनसक्ने टिप्पणी भएको छ ।  

तर नेता थापा भने त्यसको प्रतिकार गर्दै भन्छन् ,‘हामीले कांग्रेसलाई समर्थन नगर्नुको कारण भनेको कांग्रेसको नेतृत्वमा समृद्धि सम्भव छैन भनेर हो, किनकी कांग्रेसको विगत कलंकित छ ।’ उनले कांग्रेस र एमाले दुबै दललाई आफूहरु समर्थन नगर्ने पक्षमा रहेको स्पष्ट पारे ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल)पनि बहुमतीय सरकार नबन्ने स्थिति आएको स्वीकार्छन् । प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका नेपालीले भने, ‘हामीले सक्दो प्रयास गरेका हौं, तर जनमोर्चाका दुईजना सांसद हस्ताक्षर गर्न तयार हुनु भएन, त्यसैले अहिलेलाई बहुमतीय सरकार बन्ने सम्भावना लगभग सकियो ।’

जनमोर्चाको समर्थन नपाउँमा कांग्रेस नेतृत्वमा सरकार बन्ने स्थिति देखिएको छ । उसो त एमालेको नेतृत्वमा पनि बहुमतीय सरकार बनाउन संख्या पुग्दैन । जसका कारण प्रदेश प्रमुखले दिएको समयसीमा त्यसै घर्किने देखिएको छ ।

समयसीमा भित्र बहुमतीय सरकार नबनेमा अल्पमतको सरकार बनाउन प्रदेश प्रमुखले आह्वान गर्नेछिन् । जसमा एमालेले ठूलो दलको हैसियतले सरकार बनाउने अवसर प्राप्त गर्नेछ । मुख्यमन्त्री गुरुङको अभिष्ट पनि यहि हो । यहि स्थिति आउँछ भनेर नै मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने अघिल्लो दिन पदबाट राजिनामा दिएका थिए । उनले जनमोर्चाका सांसदहरुलाई यसैका लागि तयार गरेर राखेको पहिल्यै सार्वजनिक भएको थियो ।

बहुमतीय सरकार नबनेर अल्पमतको सरकार बनेमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा दोहोरिने छन् । यसो भएमा उनले एकमहिना भित्रमा पुनः विश्वासको मत लिनुपर्नेछ । तर त्यतिबेला विस्वासको मत प्राप्त नगरेमा सो सरकार पनि ढल्नेछ । 

प्रकाशित: २८ वैशाख २०७८ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App