१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीविरुद्ध खनिए विपक्षी नेता

प्रतिनिधिसभामा विश्वासको मतको छिनोफानो हुनुअघि विपक्षी दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक र अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे। उनले सरकार गठन भएदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जोखिममा परेको बताए। 

सरकार गठनसँगै संविधान भत्काउने काम सुरु भएको उनको आरोप थियो। प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण नगरीकन कुनै पनि सदस्यले संसद् तथा त्यसअन्तर्गतका कामकारबाहीमा भाग लिन नपाउने व्यवस्था संविधानले गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने ‘तर प्रधानमन्त्रीजी प्रतिनिधिसभाको सदस्यको सपथ नलिई प्रधानमन्त्री नियुक्त हुनुभयो।’

हालसम्म पनि प्रतिनिधिसभालाई उपसभामुखविहीन राख्ने काम भएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा हुकुमी शैलीमा शासन चलाउने काम गरेको उनको आरोप थियो। प्रधानमन्त्री ओलीले चुनावमा गरेको प्रतिबद्धताबमोजिमको काम गर्न नसकेको बरु पछिल्लो समयमा सरकारका काम दिनप्रतिदिन अलोकप्रिय भएको देउवाले बताए। झन्डै दुईतिहाइ मत प्राप्त गरेर गठन भएको सरकारले तीन वर्षमा नै प्रतिनिधिसभामा विश्वासको मत लिन पर्नुमा स्वयं प्रधानमन्त्री जिम्मेवार रहेको उनको भनाइ थियो। 

अंकगणितीय दम्भ देखाएको, राजनीतिक अव्यवस्था बनाएको, कुशासन र भ्रष्टाचार बढाएको आरोप पनि देउवाले लगाए। ‘दुई हप्ताअगाडि संक्रमितको संख्या निकै बढ्न थालेको अवस्थामा प्रधानमन्त्रीजी ठूलो तामधामका साथ काम हुन बाँकी नै रहेको धरहरा उद्घाटन गर्न जानुभयो। यो गैर जिम्मेवारीपनको नमुना हो’, उनले भने। कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको बताउँदै देउवाले थपे, ‘यो जनताविरुद्धको अक्षम्य अपराध हो।एक वर्षपहिले कोभिड–१९ को पहिलो लहर सुरु हुँदा सरकारले आयात गरेका स्वास्थ्य सामग्री पिपिई, कोभिड–१९ परीक्षणका सामग्री, मास्क, सेनिटाइजर र अत्यावश्यक औषधिमा भ्रष्टाचार भयो, अहिले खोपमा भ्रष्टाचार भएको छ’ यो भन्दा निर्लज्जता के हुन सक्छ।

प्रकाशित: २८ वैशाख २०७८ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App