७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न कांग्रेसको माग

नेपाली कांग्रेस बाँकेको सोमबार बसेको उपलब्ध जिल्ला पदाधिकारीको बैठक । तस्बिर: नागरिक

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेसको निस्कर्ष छ । बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको कांग्रेसको ठहर छ ।  

यस्तै कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधि र दक्षजनशक्तिसहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ । अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोहीपनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेकोसभापति किरण कोईरालाले बताईन् ।

‘कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आएको छ, सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन हाम्रो आग्रह छ,’ उनले भनिन् । बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । कोरोनाको पिसिआर जाँच प्रक्रिया सहज बनाउनुपर्ने, पिसिआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिका स्तरमै स्वाब संकलनको ब्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ ।  

अस्पतालमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न माग गर्दै रेम्डिसिबिर औषधि, सेनिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तीव्रता दिन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।  

बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारलाई दवाव सिर्जना गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई समेत बैठकले अनुरोध गरेको छ । कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, आईसोलेसन सेन्टर, अक्सिजन उद्योग लगायतको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको सभापति कोईरालाले बताईन् ।  

आफ्नो मातहतका सम्पुर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधीलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाईरसबाट सुरक्षित भएर बस्न कांग्रेस बाँकेले निर्देशन पनि दिएको छ । बैठकले कोरोना भाईरसबाट संक्रमित बिरामीको स्वास्थ्य लाभको कामनाका साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ । कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेर बसेको उक्त बैठकमा सभापति कोइरालाका साथै जिल्ला सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित: २७ वैशाख २०७८ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App