८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोना नियन्त्रणमा सरकार असफल : नेपाली काँग्रेस

नेपाली काँग्रेसले सरकार कोरोना नियन्त्रणमा असफल भएको ठहर गरेको छ। समसामयिक विषयमा नेपाली काँग्रेस, संगठन विभागले प्रेस विज्ञप्ति जारी गर्दै उक्त ठहर गरेको हो।

काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्तमात्र नभई कोरोना १९ महामारीका कारण मानवीय जीवनको रक्षा गर्न सरकार असक्षमसमेत भएको जनाएको छ।

यसका साथै काँग्रेसले सरकार यस महामारी विरुद्धको लडाईंलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपटमै अलमलिएको देखिएको उल्लेख गरेको छ। ‘कोभिड १९को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरी जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गर्दैछ।’ प्रेस विज्ञप्तिमा भनिएको छ।

नेपाली काँग्रेस, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा बढ्दो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएकाले सरकारले स्वास्थ्य सुरक्षाका लागि गर्नुपर्ने कामसमेत नगरेको जनाएको छ।

यस्तै अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई सरकारले नजरअन्दाज गरेको समेत जनाएको छ। ‘पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने, शिलान्यास र उद्घाटनको नाममा प्रधानमन्त्री आफै भिड जम्मा गर्न उद्यत रहेको कारण पनि कोराना संक्रमण बढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ।’ विज्ञप्तिमा भनिएको छ।

काँग्रेसले सरकारको गैरजिम्मेवारपूर्ण रवैया, चरम लापरबाही र स्वास्थ्य असंवेदनशीलताको भत्र्सना गर्दै स्थानीय तह र प्रदेशसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल बेड, आइसीयु बेड, आइसोलेसन केन्द्र, क्वारेन्टाइन र  होल्डिङ्ग सेन्टरको व्यवस्थापन, संचालन र अनुगमन गर्नका साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा विकसित गरी आवश्यक  बेड, आइसियु वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधी तथा अन्य जीवनरक्षक औषधीको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग समेत गरेको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App