५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश: मतदान छल्न कोरोना बहाना

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाही बुधबार एकाएक सम्पर्कविहीन भए। बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशसभामा खैलाबैला मच्चियो। शाही अनुपस्थित हुँदा अश्विास प्रस्ताव फेल हुने सम्भावना थियो। 

त्यसैले शाहीको चारैतिर खोजी सुरु भयो। शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनको खोजी गर्न र सार्वजनिक नभएसम्म सदन अघि बढाउन नहुने भन्दै निवेदन दिइन्। त्यसपछि सदन स्थगित पनि भएको छ। त्यसपछि एकाएक शाही चरक मेमोरियल अस्पतालको आइसियू कक्षमा उपचारार्थ भर्ना भएको हल्ला फैलियो। अस्पतालले पनि शाही उपचारका लागि भर्ना भएको जनाएको छ। अस्पतालका एक उच्च अधिकारीका अनुसार शाहीमा कोरोना संक्रमण देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ।

प्रदेशसभाका सबै सदस्यको मंगलबार नै कोरोना परीक्षण गरिएको थियो। त्यस परीक्षणमा शाहीको रिपोर्ट नेगेटिभ थियो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका एक उच्च अधिकारीका अनुसार बुधबार दिउँसो चार बजेसम्मको रिपोर्टअनुसार शाहीमा संक्रमण पुष्टि भएको छैन। तर उनी १२ बजेतिर नै अस्पतालमा भर्ना भएका थिए।  

‘मंगलबार प्रदेशका सबै सांसदको कोरोना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो। शाहीको रिपोर्ट भने नेगेटिभ थियो,’ निर्देशनालय स्रोतले भन्यो, ‘उनमा संक्रमण भएको भए प्रदेशको स्वास्थ्य निर्देशनालयलाई थाहा हुन्थ्यो। सबैतिरको रिर्पार्ट निर्देशनालयमा आउँछ। शाहीलाई कोरोना संक्रमण भएको भनेर हामीले पुष्टि गर्न सक्दैनौं।’

जनमोर्चाका तीनजना सांसदको पनि समर्थन हुने देखेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्ताव पारित हुन ३१ सांसद आवश्यक पर्छ। शाही हराएसँगै अविश्वासको प्रस्तावको पक्षमा ३० सांसदमात्र पुग्ने देखिएको छ। कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक) र जसपाका २ तथा जनमोर्चाका २ सांसद प्रस्तावको पक्षमा छन्।  

जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापाले शाहीलाई भेट्न नपाएको प्रतिक्रिया दिए। ‘साँच्चै बिरामी हुन् वा षडयन्त्र हो, भन्न सकिन्न, यो देशमा सम्भावना नहुने भन्ने केही हुँदैन,’ थापाले भने। हिजो मात्र सरकारी निकायले कोरोना परीक्षण गरेको भए पनि व्यक्तिगत भएकोले शाहीको रिपोर्ट आफूले नहेरेको उनले बताए। ‘यो अवस्था कसरी सिर्जना भयो भनेर मैले भन्न सक्दिनँ। रिपोर्ट पोजेटिभ आएको भए बाहिर आउनुपर्ने हो,’उनले भने।

थापाका अनुसार शाहीसँग दिउँसो साढे १ बजेसम्म फोन सम्पर्क भएको थियो। बैठकमा शाहीले पनि बोल्ने गरी नाम टिपाएका थिए। बैठक सुरु भएपछि शाहीलाई फोन गरेर बोलाएको थापाले बताए। ‘मैले कहाँ हुनुहुन्छ भनेर सोधिनँ तर बोल्ने पालो आउन थाल्यो, बैठकमा आउनुस् भनेको हुँ,’ थापाले भने, ‘त्यसपछि शाहीले बोल्नेको लिस्टबाट आफ्नो नाम हटाइदिन आग्रह गरेका थिए। मतदानका लागि आउँछु भनेका थिए, आएनन्।’

एकै दिन दुईठाउँमा स्वाब, दुईथरी रिपोर्ट

शाहीले अन्य सांसदसँगै मंगलबार दिउँसो कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। मुख्यमन्त्री र सभामुखसहित ६० जना सांसदले एकसाथ दिएको स्वाबको रिपोर्टमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तर उनले सोही समयमा पोखराको न्युरोडस्थित लाइफ केयर डाइग्नोस्टिक प्रालिमा समेत स्वाब दिएको र सो ल्याबमा भने उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। शाहीले मुख्यमन्त्री, सभामुखलगायतले दिएको ठाउँमा स्वाब दिएर फेरी किन निजी ल्याबमा पनि स्वाब दिए भन्ने प्रश्न उठेको छ। यसले गर्दा उनको रिपोर्टप्रति आशंका उब्जिएको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App