चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको बुधबार दिउँसो चारबजेसम्म कोरोना पुष्टि हुन सकेको छैन ।
चरक मेमोरियल अस्पतालको कोरोना वार्डको आइसियूमा शाहीको उपचार भईरहेको अस्पतालले बताएपनि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने दिउँसो ४ बजेसम्म शाहीको कोरोना रिपोर्ट पोजेटिभ नभेटेको बताएको छ ।
‘मंगलबार प्रदेशका सबै सांसदको कोरोना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । तर, शाहीको रिपोर्ट भने नेगेटिभ थियो,’ निर्देशनालय श्रोतले भन्यो, ‘उनमा संक्रमण भएको भए प्रदेशको स्वास्थ्य निर्देशनालयलाई थाहा हुन्थ्यो । किनकी सबैतिरको रिर्पाेट निर्देशनालयमा आउँछ । शाहीलाई कोरोना संक्रमण भएको भनेर हामीले पुष्टि गर्न सक्दैनौ ।’ कोरोना नै संक्रमण नभई त अस्पतालको कोरोना वार्डको आईसीयूमा भर्ना नहुनुपर्ने ती अधिकृतले बताए । शाही भने दिउँसो १२ बजे नै बिरामी भएको भनेर अस्पतालमा भर्ना भएका थिए ।
तर, चरक मेमोरियल अस्पतालका एकजना उच्च अधिकारीले भने शाहीमा कोरोना संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भईरहेको बताएको छ । ‘शाहीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको अहिले आईसीयूमा राखेर उपचार भईरहेको छ,’ अस्पतालका एकजना उच्च अधिकृतले भने ।
प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदविन्दु शर्माले शाहीको रिपोर्टबारेमा जानकारी नभएको बताए । ‘म यो बारेमा ‘अपडेट’ छैन,’ शर्माले भने, ‘मैले पनि बुझ्नुपर्छ ।’
प्रकाशित: १५ वैशाख २०७८ १२:४५ बुधबार