१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संकटमा साथ: तीनजना मन्त्री नियुक्त

पार्टी ह्विप उल्लंघन गरेका नेकपा एमालेका तीनजना सांसदलाई महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाबाबाट शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरी आफूलाई सघाएका एमालेका चारमध्ये तीन सांसदलाई शनिबार मन्त्री बनाएका हुन्। फ्लोर क्रस गरेका ती सांसदलाई एमालेले भने पार्टीबाट निष्कासन गरेको छ।

मुख्यमन्त्री शाहीले एमाले सांसद नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। तीनैजनाले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्। बुढा शाही नेतृत्वको सरकारमा यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए। सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि चैत ५ गते कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

पार्टीले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढा र सामाजिक विकासमन्त्री दल रावलले २५ चैतमा राजीनामा दिएका थिए। ‘संकटमा साथ दिनुभएका नेकपा एमालेका तीनैजना सांसदलाई समेटेर मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ,’ सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री विमला केसीले भनिन्, ‘केही दिनभित्रै नेपाली कांग्रेसलाई पनि सरकारमा सामेल गराउने तयारी छ।’

चार सांसद पार्टीबाट निष्कासित

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदलाई पार्टीको कर्णाली प्रदेश कमिटीले निष्कासन गरेको छ। एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले प्रकाश ज्वालालाई साधारण सदस्यसमेत नरहने गरी र अन्य तीनजनालाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको बताए।  

‘पार्टीको ह्विपलाई उल्लंघन गरी मुख्यमन्त्री शाहीलाई मतदान गर्ने जघन्य अपराधपूर्ण काम गरेकाले प्रदेशसभा दलको निर्णयअनुसार नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत शुक्रबारदेखि लागू हुने गरेर निष्कासन गरिएको छ,’ अध्यक्ष बोगटीले भने, ‘राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य रहेका प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ।’

‘विश्वासको मत ऐतिहासिक सफलता’

माओवादी केन्द्रले कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिनु ऐतिहासिक सफलता भएको बताएको छ। कर्णाली प्रदेश सभामा संख्यात्मक रूपमा सानो आकारमा भए पनि ऐतिहासिक सफलता प्राप्त भएको निष्कर्ष संसदीय दलले निकालेको हो। शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफूले उठाएको मुद्दाका कारण उक्त सफलता हासिल भएको निष्कर्ष निकालेको छ। बैठकले फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको पक्षमा मत दिने एमालेका सांसदलाई धन्यवाद दिएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही एवं प्रतिगामी प्रवृत्तिविरुद्ध विद्रोह गर्दै दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिने नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतृत्व तहमा माननीय प्रकाश ज्वाला, माननीय कुर्मराज शाही, माननीय अमरबहादुर थापा र माननीय नन्दसिंह बुढाको योगदान विशेष महत्वको रहेको अनुभूति गर्दै उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘संसदीय दलमा संख्यात्माक हिसाबले सानो संख्या भए पनि यो ऐतिहासिक सफलता हो, यसले ओलीको प्रतिगामी कदमलाई ठूलो झड्का दिएको छ।’

प्रकाशित: ५ वैशाख २०७८ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App