८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘केचना टु सगरमाथा’ विशेष परियोजना अध्ययन सुरु: मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले झापाको केचनादेखि विश्वकै अग्लो शिखर सगरमाथा जोड्ने विशेष परियोजनाको अध्ययन सुरु गरिएको बताएका छन्। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शनिबार कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट उद्घाटन गर्दै राईले विश्वका पर्यटकलाई आकर्षित गर्नका लागि ‘केचना टु सगरमाथा’ नारा दिइएको परियोजनाको अध्ययन सुरु गरिएको जानकारी दिएका हुन्।

केचना–टु सगरमाथा फाष्ट ट्रयाक राष्ट्रिय गौरवको परियोजनाका रूपमा परिणत हुने राईको भनाइ थियो। ‘नेपालको सबैभन्दा होचो भाग केचनाबाट विश्वकै अग्लो हिमाल सगरमाथालाई जोड्ने केचना टु सगरमाथा नारा बनाएका छौँ। त्यो फाष्ट ट्रयाकको माध्यमबाट सगरमाथा पुगेर फर्कन मिल्नेगरी परियोजनाको अध्ययन सुरु गरिएको छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यो फाष्ट ट्रयाकका माध्यमबाट बिश्वका पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ। यसभित्र हलेसी क्षेत्रलाई कभरेज गर्ने गरी अध्ययन भइरहेको छ।’  

मुख्यमन्त्री राईले प्रदेशको नामकरण थप अनिश्चित बनेको संकेत गरेका छन्। पाँच दलबीचमा सहमति गरेर प्रदेशको नामकरण टुंग्याउने सहमती भएको अवस्थामा कोभिड–१९ ले असर पुर्‍याएको तथा त्यसपछि सुरु भएको प्रदेशसभा राजनैतिक चिखातानीको सिकार बन्न पुगेकाले नामाकरणको विषयमा छलफल गर्न नसकिएको मुख्यमन्त्री राईको भनाई थियो। ‘प्रदेशको नामांकनको विषय सकेसम्म छिटो टुंग्याउन पथ्र्यो तर राजधानी टुंग्याउँदै गर्दा हामी पाँच दलले छलफल गरेर, सहमतिको बिन्दु खोजेर नामांकनको विषय टुंग्याउने सहमति गरेका थियौँ।

त्यसपछि कोभिडको कारण नामांकनको विषयमा छलफल गर्न सकेनौँ,’ राईले भने, ‘यसपल्ट प्रदेशसभा सुरु भएपछि दुई÷तीन महिना राजनैतिक खिचातानीको सिकार बन्न पुग्यो। चैत २३ गते प्रदेशसभा बैठक आव्हान गरिको छ। तर अहिलेको राजनैतिक कारणले प्रदेशसभामा त्यस विषयले प्रवेश पाउँछ पाउँदैन। त्यो विषय सहजढंगले टुंगिन्छ वा टुंगिन्न भन्न सकिन्न। यद्यपि पहल प्रयत्न हुने छ।’ मुख्यमन्त्री राईले चर्चाको विषय बनेको खुवालुङलाई आस्थाको केन्द्र र साँस्कृतिक धरोहरकोरूपमा विकास गर्ने बताएका छन्।  

संघीय सरकार र प्रदेश सरकारले खुवालुङ फुटाउँदैछ भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘खुवालुङलाई धार्मिक तथा साँस्कृतिक केन्द्रकोरूपमा संरक्षण गरेर पर्यटक आउने हिसावले आस्थाको केन्द्र, एउटा साँस्कृतिक धरोहरकोरूपमा विकास गर्ने छौँ,’ राईले भने, ‘तर लगातार प्रदेश सरकारले खुवालुङ आज फुटाउँदै छ, भोलि फुटाउँदैछ। क्रेन पुर्‍याइसक्यो भनेर प्रचार गरेर समय खेर नफाल्न र गलत प्रचारमा नलाग्न आग्रह गर्दछु।’

प्रकाशित: २३ चैत्र २०७७ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App