२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश: एमालेका मन्त्रीले राजीनामा दिने

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरू सहभागी छन्।

‘२४ गते फेरि दलको बैठक बस्दैछ, सोमबार एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुहुन्छ,’ सांसद सुशील थापाले भने, ‘अब कर्णालीमा नेकपा एमाले नेतृत्वको सरकार बन्छ।’ बैठकमा एमालेका सबै सांसदहरूको उपस्थिति रहेको थियो। एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन्।  

एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ। ‘चैत ४ गते बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो, उक्त निर्णय अनुसारनै अघि बढ्छौं,’ उनले भने, ‘सत्ता साझेदार दलका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्रीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्। पर्यटन मन्त्री बुढाले दलको निर्णय अनुसार आफूहरूले राजीनामा दिने बताए। ‘दलको बैठकले अबिलम्व राजीनामा दिन भनेको छ,’ उनले भने, ‘सोमबारभित्र वर्तमान सरकारबाट बाहिरिन्छौं।’

संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर अविलम्व मार्ग प्रसस्त गर्न आग्रह गरेका छन्। ‘चैत ५ गतेदेखि लागु हुनेगरी हामीले समर्थन फिर्ता लिइसकेका छौं, अल्पमतमा रहेका मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ,’ उनले भने, ‘एमाले बाहेकका बाँकी दलहरू मिल्दा पनि संख्या नपुग्ने देख्दादेख्दै कुर्सीमा बसिराख्नु राम्रो होइन्।’ मुख्यमन्त्रीले एमालेका सांसदहरूलाई पनि आफ्ना भनेर टाउका गन्नु हास्यास्पद भएको बताए।

बैठकले दलको विधान निर्माणका लागि समिति गठन गरेको छ। संसदीय दलका नेता यामलाल कँडेलका अनुसार प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो। समितिले २४ गते बस्ने बैठकमा विधान तयार पारेर पेश गर्नेछन्।

प्रकाशित: २३ चैत्र २०७७ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App