१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्र आङ्वो चयन

दलको नेतामा चयन भएपछि आङ्वोको नेतृत्वमा सोमबार विराटनगरमा बसेको माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको बैठक । तस्बिरः विनोद/नागरिक

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो चयन भएका छन्। सोमबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो।  

माओवादी केन्द्रकी जेष्ठ सदस्य शौभाग्यवति राईको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको र दलको नेतामा आफूलाई चयन गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले जानकारी दिए। यस्तै सोमबार नै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उप नेतामा रामकुमार राई, प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवति राईलाई चयन गरेको छ। यस्तै माओवादी केन्द्रका साविक संसदीय दलका नेता टंक आङ्बुहाङ्लाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ।  

आङ्वुहाङले दल छाडेको भन्ने जवाफ दिए वा कुनै जवाफ नदिएको खण्डमा संसदीय दलको सदस्यबाट हटाउने प्रकृया सुरू गर्ने आङ्वोले जानकारी दिए। यस्तै प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफल गरेर अघि बढ्ने आङ्वोले बताए। उनले प्रदेशसभामा अविश्वासको प्रस्ताव टुंगोमा नपुग्दै सरकारले मन्त्रिपरिषद्को पुनर्गठन गर्नु संसदीय मूल्य मान्यता र कानुनी राज्य विपरित भएको आङ्वोको दाबी छ। उनले भने ‘प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव कानुनी रुपमा टुंगोमा नपुग्दै मन्त्रिपरिषद् विस्तार गर्नु संसदीय व्यवस्था र मूल्य मान्यता विपरित हो।’  

दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि आङ्वोले पदबाट राजीनामा दिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए। यता सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता टंक आङ्बुहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए। उनी पछिल्लो पटक मुख्य मन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्।

प्रकाशित: १६ चैत्र २०७७ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App