नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत्र दिइएको जानकारी दिए। ‘चारैजना नेताका स्वकीय सचिवमार्फत पत्र बुझाएका छौं,’ उनले भने, ‘उहाँहरूले नेताहरूलाई दिन्छौं भन्नुभएको छ।’ गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
नेपाल पक्ष भने स्पष्टीकरण नदिने सोचमा छ। स्पष्टीकरण दिनुको कुनै औचित्य नभएको रावलले बताए। ‘स्पष्टीकरण सोध्ने भनेर उहाँहरूले गर्नुभएको काम अवैध, पार्टीको विधानविपरीत, राजनीतिक दृष्टिकोणले अनैतिक र लोकतान्त्रिक दृष्टिकोणले अलोकतान्त्रिक छ। नेकपा एमालेको नवौँ महाधिवेशन मान्ने र त्यसको विधान तथा राजनीतिक सिद्धान्त स्वीकार गर्ने कुनै पनि व्यक्तिले यस्तो खालको निर्णय स्वीकार गर्न सक्दैन’, उपाध्यक्ष रावलले भने।
ओली पक्षले स्पष्टीकरण सोधेपछि नेपाल समूहका नेता आन्तरिक छलफलमा जुटेका थिए। उनीहरूले तत्काल स्पष्टीकरण दिनुनपर्ने जनाएका छन्। केन्द्रीय कमिटीको बैठक नराखी ओलीले एकपक्षीय ढंगले स्पष्टीकरण सोध्ने, केन्द्रीय कमिटीको बैठक राख्नेजस्ता निर्णय गरेका कारण तत्काल स्पष्टीकरण दिनुनपर्ने उनीहरूको तर्क छ। फागुन २८ गते एमाले अध्यक्ष ओलीले माधव नेपाल समूहलाई नबोलाई केन्द्रीय कमिटीको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गर्नुका साथै नेपाल समूहका सबै नेताको जिम्मेवारी खोसेका थिए।
नेपाल पक्षले फागुन २८ गतेको निर्णय सच्याउनुपर्ने माग गरेको थियो तर ओलीले आनाकानी गरेपछि नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेर देशभर समानान्तर कमिटी बनाउन सुरु ग¥यो। त्यसपछि ओली पक्षले नेपालसहितका नेतालाई स्पष्टीकरण सोधेको हो।
प्रकाशित: १० चैत्र २०७७ ०१:५९ मंगलबार