१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाका नाममा जित्नेलाई जनप्रतिनिधि मान्न सकिन्न : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका नाममा जितेर आएकालाई अब जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । शनिबार पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अदालतले छुट्याएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाइसकेकाले नेकपाका नाममा जितेकालाई जनप्रतिनिधि मान्न नसकिने बताएका हुन् ।

‘निवेदकले माग्दै नमागेको विषयमा प्रवेश गरेर अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा फर्काउने फैसला दियो,’ उनले भने, ‘तर नेकपा मृत्यु घोषणा हुँदा त्यसको विरोध गर्नुपर्नेमा उल्टै एमाले र माओवादी केन्द्र भएकोमा गर्व गर्दै खुसियाली मनाइसकेपछि अब नेकपा रहेन, नेकपाकै मृत्यु भइसकेपछि त्यसका नाममा जितेर आएकाहरूलाई जनप्रतिनिधि मान्न सकिन्न ।’ उनले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको ठाउँ कास्की निर्वाचन क्षेत्र २ लाई उदाहरण दिँदै थपे, ‘यहाँका जनताले नेकपाको उम्मेदवारलाई भोट हालेका हुन् । अब उपनिर्वाचनमा विजयी भएका जनप्रतिनिधि एमालेको हो कि माओवादीको ?’ त्यसबेला एमाले वा माओवादी भनेर नभई नेकपा भनेर जनताले भोट हालेको बताए । अब जनताले आफ्नो जनप्रतिनिधि पुनः छान्न पाउनुपर्ने उनको भनाइ थियो ।

थापाले अदालतले क्षेत्राधिकारभन्दा बाहिर गएर नेकपा खारेज गर्दा शोक मनाउने एकजना पनि नहुँदा आश्चर्य लागेको बताए । ‘नेकपा मरेको दिन मलामी जाने कोही भएन । यहाँ त शोक गीत बज्ला भनेको त लोकगीत बजाएर कसैले लड्डु खाए त कसैले मदिरा,’ उनले भने । नेकपाका नाममा झन्डै दुई तिहाइ मत आए पनि अब त्यो पार्टी नै नभएर एमाले र माओवादी केन्द्र बनिसकेकाले पाँच वर्षलाई दिइएको म्यान्डेट सकिएको र अब कांग्रेसले सरकारको नेतृत्व गर्न मिल्ने उनको तर्क थियो । उनले ओलीलाई परास्त गर्न पनि माओवादी केन्द्र र राजपालाई लिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । ‘त्यसका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाउने र आफ्नो नेतृत्वमा सरकार बनाउने हो भनेर निर्णय गर्ने,’ उनले भने, ‘त्यसपछि जसपा र माओवादी केन्द्रसँग वार्ता गर्ने ।’ जसपाले पनि अलमल गर्न नहुने, माओवादी केन्द्रले पनि त्यसैगरी निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसको नेतृत्वमा बनेको सरकारले पनि सरकार दुई वर्ष टिकाउने नभई जति सक्दो चाँडो चुनाव गर्नुपर्ने बताए । उनले केपी ओलीले निष्पक्ष चुनाव गर्नै नसक्ने ठोकुवा गरे । ‘अहंकार, निरंकुश, सर्वसत्तावादी, तानाशाही सोच भएको प्रधानमन्त्रीले निष्पक्ष चुनाव गर्दै गर्दैन । अड्डा, अदालत, निर्वाचन आयोग, कसैले पनि ओली भइन्जेल निष्पक्ष भएर काम गर्नै सक्दैन,’ उनले भने । उनले आगामी चुनावमा कांग्रेसले पाँच वर्षमा के–के गर्ने कामको सुस्पष्ट खाकासहित विगतको गल्तीप्रति माफी माग्दै जनतामा जानुपर्ने बताए ।

नेता थापाले ओली प्रवृत्ति भनेको सरकार नभई सत्ता भएको र त्यो सत्ता सरकारबाट फैलिएर अदालतमा, अख्तियारमा, निर्वाचन आयोगमा पुग्न खोजेको आरोप लगाए । ‘प्रधानमन्त्रीको कुर्सीमा बस्ने पनि मै हुँ, अदालतमा बस्ने पनि मै हुँ, निर्वाचन आयोगमा बस्ने पनि मै हुँ । प्रहरी, सेनाको कुर्सीमा बस्ने पनि मै हुँ, अख्तियारको कुर्सीमा बस्ने पनि मै हुँ भन्ने सोच्नुहुन्छ,’ उनले भने । यसरी सबै मै हुँ भन्ने कुरा डेमोक्रेसी र आवधिक निर्वाचनबाट आउने ठाउँमा यस्तो कल्पना गरिएको नहुने उनको भनाइ छ । यसलाई रोक्न पनि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेता थापाले प्रधानमन्त्री अहिले आफैंले हत्या गरेको संसद् पुनःस्थापना भएपछि त्यसलाई कसरी पंगु बनाउने भन्ने ध्याउन्नमा लागेको आरोप लगाए । प्रधानमन्त्री संसद्मा कुनै पनि प्रस्ताव नल्याएर आफूले संसद् भंग गरेको सही थियो र यो संसद्ले सरकार पनि दिन सक्दैन तथा यहाँ छलफलसमेत हुन सक्दैन भन्ने पुष्टि गर्न लागिपरेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री अयोग्य र चरम अहंकारी भएको टिप्पणी गरे । पाँच वर्षको म्यान्डेट पाएर पनि सरकार चलाउन नसकेकोमा प्रधानमन्त्रीमा रत्तिभर ग्लानि नरहेको बताए । ‘उहाँले जिम्मेवारी सही ढंगले निर्वाह गर्न सक्नुभएन । आफू अयोग्य भएकोमा कहिल्यै लाज लाग्ने, अप्ठेरो लाग्ने, संकोच लाग्ने उहाँमा रत्तिभर देखिनँ,’ उनले  

भने । प्रधानमन्त्रीमा अयोग्य भईकनपनि अहंकार बढ्नुमा कांग्रेससहित पुष्पकमल दाहाल र माधव नेपाल दोषी रहेको बताए ।

प्रकाशित: ७ चैत्र २०७७ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App