१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी

सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो। नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रबैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन्। सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो। १७ बुँदे प्रस्ताव पारित गर्दै दुईदिने भेला बिहीबार सकिएको छ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभरका पार्टी कमिटी ब्युँताउने भएको छ। देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरू ब्युँताउने प्रस्ताव पारित गरेको छ। जसअनुसार सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताइनेछ। ‘पहिला पार्टी कमिटीहरू ब्युँताउने हो, नभए समानान्तर कमिटी बनाउने तयारी छ’, भेला संयोजन गरिरहेका एक स्थायी कमिटी सदस्यले भने।  

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले साँझ भेलाको निष्कर्ष सुनाउँदै देशभरका पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउने निष्कर्ष भेलाले निकालेको बताए। उनले फागुन २८ गते ओलीले आफ्नो गुटको बैठक राखेर केन्द्रीय समितिमा सदस्य थप गरेको विषय मान्य नहुने निष्कर्ष पनि भेलाले निकालेको जानकारी दिए। ओलीले फागुन २८ गते गरेका निर्णय पार्टी विधानविपरीत भएको ठहर भेलाले गरेको छ। भट्टराईले माओवादी केन्द्रसँग एकीकरणपूर्वकै अवस्थामा पार्टी कमिटीहरू चलायमान बनाउनुपर्ने भेलाको सुझाव रहेको जानकारी दिए।

‘नेकपा (एमाले) केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग सम्झौता गर्नुका साथै २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणसम्बन्धी घोषणामा हस्ताक्षर गर्नुभएको थियो। यस तथ्यको स्मरण गराउँदै नेपालको कम्युनिस्ट आन्दोलनमा विगतमा देखिएका फुटको शृंखलालाई सधैंका निम्ति अन्त्य गर्ने प्रतिबद्धताविपरीत उहाँले पार्टीको एकता तथा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न गर्नुभएका विभिन्न गतिविधिप्रति दुःख प्रकट गर्दै नेकपा (एमाले) को एकता जोगाउन सर्वोच्च अदालतको फैसलाअनुरूप नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणपूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, बालुवाटारमा पार्टी विधान, पद्धति र अभ्यासविपरीत गरिएका कथित निर्णयहरू रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्छ’, भेलाले पारित गरेको बुँदा नम्बर ४ मा छ।  

भेलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ। ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वेच्छाचारीरूपमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको यो भेला स्वागत गर्छ। सो फैसलाबाट प्रधानमन्त्रीद्वारा नेपालको संविधानको अपव्याख्या गर्ने कामसमेत रोकिएको थियो। तर अदालतले नेकपाको नामसम्बन्धी अर्को मुद्दामा फैसला गर्दा विघटनसम्बन्धी मुद्दाको फैसलामा अन्तरनिहित कतिपय कुरासँग बाझिने गरी निवेदकले माग गर्दै नगरेको विषयमा प्रवेश गरी राजनीतिक किसिमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय गर्‍यो।  

सर्वोच्च अदालतको यस्तो फैसलाप्रति यो भेला असहमति प्रकट गर्छ’, पारित बुँदा नम्बर ५ मा लेखिएको छ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरेको छ। विघटन कदम असंवैधानिक भएकैले सर्वोच्च अदालतले पुनस्र्थापना गरेको हो। ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई समेत विधान, विधि, पद्धतिअनुरूप अगाडि बढ्न नदिई तथा प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गरी नेपालको राजनीतिमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योललाई चिर्न नेकपा (एमाले) का घोषित सिद्धान्त, नीति र कार्यक्रम अनुरूप पार्टी र यससँग सम्बद्ध सबै जनसंगठन र पेसागत संगठनलाई अगाडि बढाउन तथा अध्यक्ष केपी शर्मा ओली स्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनै पनि कामकारबाहीविरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा (एमाले) का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकमा हार्दिक आह्वान गर्छ’, पारित बुँदा नम्बर ७ मा छ।  

नेपाल पक्षको भेला चलिरहेकै बेला बिहीबार ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक राखेको थियो। दलको बैठकबाट नेपाल–खनाल पक्षले गरेको भेलालाई अनधिकृत भन्दै नेता–कार्यकर्तालाई यस्ता भेलामा नजान र गएमा कारबाही गर्ने चेतावनी दिइएको छ। ओलीले खनाल र नेपाललाई समेत सहभागी गराएर संसदीय बोर्ड गठन गरेका छन्। ओली समूहले बोलाएको संसदीय दलको बैठक नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो। भेलामा व्यस्त भएकाले जान नसकिएको यो समूहले जनाएको छ।

कार्यकता भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले आफूहरू ओलीले बोलाएको गुटगत भेलामा नजाने बताए। उनले संसदीय दलको बैठकमा जाने तर केन्द्रीय कमिटीका नाममा गुटको भेला गराएमा सहभागी नहुने बताए। 

ओली प्रवृत्तिको भण्डाफोर गर्नुस् : नेपाल  

एमाले वरिष्ठ नेता नेपालले कार्यकर्ता भेला समापनमा ओली प्रवृत्तिको भण्डाफोर गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्न ओली प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए। उनले तल्लो तहसम्म ओली प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिए। उनले नेता–कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले त्यसतर्फ सचेत रहनसमेत निर्देशन दिएका छन्। नेपालले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझै पनि कम्युनिस्ट आन्दोलन एकीकृत हुनुपर्ने र वामपन्थी पार्टीहरू एकीकृत हुनपर्ने पक्षमा रहेको बताए। ओलीको गलत प्रवृत्तिविरुद्ध लड्न पुराना नेताहरू समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेस गरेको दस्तावेज र प्राप्त सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  

नेपालले ओलीको चियापान कार्यक्रममा गएका केही साथीहरूलाई अपमान गरिएको बताए। उनले ओलीमा वैचारिक विचलन आएको समेत बताए। ‘ओलीमा गुटको मानसिकता एकदम गलत छ। उनमा वैचारिक विचलन आएको छ। संगठनका ध्वस्त गर्ने, कम्युनिस्ट आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामी वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ,’ नेपालले भने। उनले पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफू पक्ष बहुमतमा रहेको र केन्द्रीय कमिटीमा पनि बहुमत पुग्ने दाबी गरे। उनले चार वर्षको अवधिमा पार्टी अध्यक्ष ओलीले कहाँकहाँ गल्ती गरे भन्ने समीक्षा गर्नुपर्ने बताए। ‘२०७१ सालदेखि अहिलेसम्म आउँदा ओलीले कहाँकहाँ गल्ती गरे, त्यसको समीक्षा गर्दै भण्डाफोर गर्नुपर्छ’, नेपालले भने।

प्रकाशित: ६ चैत्र २०७७ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App