७ वैशाख २०८१ शुक्रबार
राजनीति

२२ दिनअघि बेपत्ता भएका झा दम्पतीकाे अवस्थाबारे प्रहरी अझै सुराकविहीन

फाइल फोटोः बीस दिनदेखि बेपत्ता महोतरीका मुसाफिर झा दम्पती।

महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया श्रीमती गीतादेवी फागुन १० गते देखि बेपत्ता छन्। प्रहरीले न उनीहरुलाई जिउँदै छ भन्न सकिरहेका छन न मृत नै। उनीहरुको खोजीमा ५० भन्दा बढी पोखरीमा खोजतलास गरिसकिएपनि प्रहरीको हातमा कुनै सुराक परेको छैन।

प्रहरी र पीडित परिवारले खोजी गरेको २२ दिन भैसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ। प्रदेश २ प्रहरीका प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार झा दम्पतीलाई खोज्न शंकित ५० वटा भन्दा बढी पोखरीमा तलास गरिसक्यौं। सीमा पारिका सुरक्षा अधिकारीसँगको समन्वयमा खोजी जारी छ। प्राविधिक टोलीबाट समेत अनुन्धान जारी छ।  

‘घटनाको २२ दिन भइसक्दापनि बेपत्ता झा दम्पतीको अवस्था यकिन हुन सकेको छैन,’ डीआईजी सिंहले नागरिकसँग भने, ‘व्यक्तिगत, पारिवारिक र आर्थिक पाटोबाट घटनाको शुक्ष्म अनुसन्धान भइरहेको छ । चार जना व्यतिmलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको छ। नियन्त्रणमा रहेका शंकितहरुको वयान र तथ्य केलाउँदा घटनाको कारण यकिन भैसकेको छ। दम्पतीको अवस्था पत्तो लाग्ने बित्तिकै सब कुरा प्रस्ट हुन्छ।’

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका चार जनामध्येका  मुसाफिरसँग जग्गा विवाद रहेका रामजी यादवले झूटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ। ‘पोलिग्राफबाट रामजीले झूटो बोलेको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्।’

प्रहरी नियन्त्रणमा रहेका चार जनासँग वयान लिँदै वयानको प्राविधिक परिक्षणबाट तथ्य यकिन गर्ने काम भैरहेको छ। गीतादेवी सुतेको खाट र भुइँमा रगतका छिटा र पक्राउ परेका एक व्यक्तिको घरमा भेटिएको रगतको छिटाको समेत प्राविधिक परिक्षण गराउने काम प्रहरीले गरेको छ।  

‘झा दम्पतीको अवस्थाबारे अहिल्यै भन्न सकिने अवस्था छैन,’ डिआइजी सिंहले भने, ‘जिउँदै छ भनु भने मानिस भेटिएको छैन, मृत भनु भने शव फेला परेको छैन। बडो सकसपूर्ण अवस्था छ। घनिष्ठ सम्बन्ध भएका व्यक्तिबाट घटनाइएका कतिपय घटनाको अनुसन्धान जटिल हुन्छ। समय लाग्छ तर घटना बाहिर आउछ। प्रहरी इमान्दारीता, सक्रियता र सुझबुझका साथ अनुसन्धान गरिरहेको छ, तथ्य चाँडै बाहिर ल्याउँछौं, डिआइजी सिंहले भने।’

घटनास्थल सिल गरेर प्रहरीले निगरानीमा राखेको छ। मालपोत कार्यालयमा ४० वर्ष काम गरेर मुसाफिर १० वर्षअघि अवकाश पाएका थिए। भूमि व्यवस्था कार्यालय जलेश्वरमा मोहियानी हकसम्बन्धी एउटा जग्गाको मुद्दामा छिमेकी गाउँका एक व्यक्तिको पक्षमा मुसाफिरले वकालत गर्दै आएका थिए।  

प्रकाशित: २ चैत्र २०७७ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App