coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘एकीकरण गर्ने भए १५ दिनभित्र आउनू’

निर्वाचन आयोगद्वारा नेकपा एकता खारेज

निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँँताएको छ। सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको पूरै प्रक्रिया उत्प्रेषणको आदेशद्वारा बदर गर्ने निर्णय गरेसँगै आयोगले दर्ता नम्बर १४५ रहेको नेकपा खारेज गरेको हो। आयोगले मंगलबार दल खारेजीको जानकारी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराएको छ।  

आयोगले साबिकमा राजनीतिक दलका रूपमा दर्ता भएका एमाले र माओवादी केन्द्र अब उप्रान्त अलगअलग राजनीतिक दलका रूपमा एकीकरण गर्नुअगाडिको अवस्थामा कायम रहेको जानकारी संघीय संसद् सचिवालय काठमाडौं, सातवटै प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई गराउने निर्णयसमेत गरेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलाबमोजिम अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहेको बेहोराको जानकारी एमाले र माओवादी केन्द्रलाई गराइएको बताए। आयोगले २०७५ जेठ २३ को निर्णयले एमाले र माओवादी केन्द्रवीच एकीकरण भई बनेको नेकपा नामको दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८ अतिरिक्तांक ८ (अ) मा प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। सोसँगै अदालतको आइतबारको फैसलाले आयोगमा साबिकमा दर्ता रहेका एमाले र माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्था अथवा २०७५ जेठ २३ भन्दा अगाडिकै अवस्थामा कायम रहेको बेहोराको सूचनासमेत राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।  

आयोगले एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नियमावली २०७४ विपरीत नहुनेगरी आआफ्नो केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र निवेदन दिन आह्वानसमेत गरेको छ। यसरी एकीकरण गर्ने भएमा दुई दलको निर्णयसहित एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनुपर्नेछ।

साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिने भएपछि सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले र गोपाल किरातीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्रले समेत नाम परिवर्तन गर्नुपर्ने भएको छ। आयोगले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै तिवारीलाई नयाँ नाम र किरातीलाई नयाँ नाम र चिह्न प्रस्ताव गरी सुधारसहितको विवरण १५ दिनभित्र पेस गर्न आग्रह गरेको छ। एमाले र माओवादीबीच एकीकरण भएपछि तिवारीले एमाले र किरातीले माओवादी केन्द्रको नाम राखेर दल दर्ता गरेका थिए।  

२०७४ सालमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संसद्को पहिलो ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भई बनको नेकपा नामको दल २३ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७७ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App