१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिलो पुस्ताले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता जीवित रहन्छ : योगेश भट्टराई

ताप्लेजुङकाे फुङ्लिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी याेगेश भट्टराईलेसहितका नेताहरू। तस्बिरः खगेन्द्र अधिकारी/नागरिक<br>

नेपाक कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति तथा सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिने परिस्थतिमा पार्टी अहिले पनि जीवित रहने बताएका छन्। प्रेस संगठन ताप्लेजुङले शुक्रवार फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले मदन भण्डारी जन्मेको जिल्लाको नेताका नाताले पार्टी जीवित राख्ने सुत्र बताउँदै त्यसका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए।  

ओलीसहित पार्टी प्रमुख भइसकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समेत पार्टीलाई जीवित र पार्टीमा एकता राख्ने सर्तमा आफूहरु अहिलेको परिस्थतिमा प्रधानमन्त्री र पार्टीको शीर्ष नेतृत्वमा नबस्ने र पार्टीका दोस्रो पुस्ताका प्रतिनिधिसभा सदस्यमध्ये एकजनालाई प्रधानमन्त्री स्वीकार गरेर जाने अवस्था भएमा पार्टी जीवित र एकिकृत हुने उनको भनाइ थियो। नेता भट्टराईले यो अवस्थामा पार्टी सञ्चालनका लागि दोस्रो पुस्ताका नेताहरुको अध्यक्ष मण्डल बनाउने, अध्यक्ष मण्डलले पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव तयार पार्ने, पार्टी एकताका क्रममा देखिएका असन्तुलनमा सन्तुलित बनाउने र वृहत् राष्ट्रिय भेलामार्फत एकताको सन्देश दिने अवस्थामा पार्टीका लागि सबैभन्दा उत्तम विकल्प हुने बताए।  

यो अवस्थामा आगामी स्थानीय र संघीय तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रिय एकताको महाधिवेशन गरेर पार्टीका सबै किसिमका समस्याको हल गर्न सकिने धारणा व्यक्त गरे। पार्टीभित्र जीवित र एकताको बलियो सम्भावना रहेको बताएका नेता भट्टराई एकताको कुनै आधारमा सहमति नभए पार्टी बढी सम्भावना विभाजनतिर ढल्कनेतर्फ समेत संकेत गरे। २३ फागुनबाट सुरु हुने संसद अधिवेशनमा नेकपाका सांसदहरु कोही सत्तापक्ष र कोही प्रतिपक्षमा बस्न थालेपछि विभाजनको सुरुवात त्यहीँबाट हुने भट्टराईको भनाई छ।  

ओली, दाहाल र नेपालसहितका नेताहरुमा रहेको विजयको घमण्डले पराजयको अवस्थामा पुर्‍याउन लागेको भन्दै भट्टराईले आफू पराजित भएपनि पार्टी, सरकार र देश बचाउन शीर्ष नेतृत्वले योगदान दिनुपर्ने बताए।  

उनले कोमामा रहेको पार्टी एकताका लागि एक कुशल चिकित्सकको खाँचो रहेको भन्दै तर त्यो चिकित्सक नभेटाउनु नै अहिलेका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। ५ पुसको मन्त्रिपरिषद् बैठकमा संसद विघटन असंवैधानिक र लोकतन्त्र विरोेधी कदम छ भनेर आफुहरुले दिएको सुझाव नमान्नु नै प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक चरित्र रहेको उनको भनाइ थियो। ‘सायद प्रधानमन्त्रीले त्यो सुझाव मान्नुभएको भए अहिलेको अवस्था किमार्थ आउने थिएन’ उनले भने। यस अर्थमा प्रधानमन्त्री ओलीले देश र पार्टीलाई दुर्घटनातर्फ लैजान पहिलो कारक भूमिका निर्वाह गरेको भट्टराईको आरोप छ।  

भट्टराईले गरे सहयोगको घोषणा

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता भट्टराईले ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई ५ लाख दिने भएका छन्। उनले आफूले दिने ५ लाख र प्रदेशसभा सदस्य होमकुमारी साँवाले दिने ५० हजार गरी ५ लाख ५० हजार रकम शुक्रवारै मेरिङ्देन गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा गर्ने बताए। दोभान बजारका अग्नि पीडितका लागि सहयोग रकम संकलन पारदर्शी र व्यवस्थित बनाउन मेरिङ्देन गाउँपालिकाले एकद्वार नीति अपनाउने निर्णय गरेको छ।

सोहीअनुसार सांसद भट्टराईले अग्नि पीडितका लागि दिइने रकम मेरिङ्देन गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा गर्ने बताए। राहत संकलन तथा व्यवस्थापनका लागि मेरिङ्देन गाउँपालिकाले एनसीसी बैंकको ग–७–२ १५३०००००००६०१ नम्बरको खाता नम्बर प्रयोगमा ल्याइएको छ। सांसद भट्टराईले पत्रकार महासंघ ताप्लेजुङको भवन निर्माणका लागि तत्काललाई १ लाख रुपैंया र प्रतिनिधिसभाका सांसदले पाउने पूर्वाधार क्षेत्र विकासको रकम आए अर्को वर्ष १० लाख रुपैंया दिने घोषणा समेत गरेका छन्।  

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App