१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा आफूलाई पस्न नदिए पनि पानी पस्न भने नरोक्न अनुरोध गरेका छन्। सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तराई/मधेसमा केपी ओलीलाई पस्न नदिने भनेको सुनेको थिएँ तर म पानीचाहिँ पसाइदिन्छु।

तराईको बाँझो खेत भिजाइदिन्छु। केपी ओलीलाई पस्न नदिए हुन्छ, पानीचाहिँ पसाइदिन्छु, सख्खा खेत चिसो बनाइदिन्छु।’ यो आयोजना सरकारको प्राथमिकतामा छ। सुनकोसी–मरिण डाइभर्सन आयोजनाले पहाड र तराईको सम्बन्धलाइ जोड्ने बताउँदै उनले पहाडको पानी पस्न तराईमा नरोक्न अनुरोध गरे। उनले सुनकोसी–मरिण डाइभर्सनको पानी सुनकोसी नदीबाट अर्को खोलामा पानी मिसाउने, खोलैखोला जान दिने र वाग्मतीबाट नहर बनाएर सिँचाइ सुविधा पुर्‍याउने अनौठो योजना रहेको बताए।  

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

‘बीचबीचमा हाम्रा प्रयासमा प्रहार हुन्छ’, उनले भने, ‘हामीले उभ्याएको बिरुवालाइ कहिले हावाहुरी आएर हाँगा भाँचिदिन्छ, फेरि पलाउँछ, हामीले बनाएको पर्खाल पहिरोले भत्काइदिन्छ, फेरि हामी बनाउँछौं।’ प्रधानमन्त्री ओलीले राजनीतिमा देखापरेको हावाहुरीले केही मान्छेहरू ढल्दै जाने पनि बताए।  

‘केहीकेही मान्छेहरू ढल्दै जान्छन् तर यो स्वर्ग जानेजस्तो ढल्दै जाने नभएर एउटा ढलेमा १० वटा र सयवटा र एउटा उछिट्टिए हजारवटा जन्मन्छन्। एउटा विरुवा मासिए हजारौं रोप्नेछौं।’ सबैजना सधै सँगै साथमा नहुने उनले बताए। महाभारतको प्रसंग सुनाउँदै उनले हिमालतिरबाट युधिष्ठिरहरू स्वर्गतिर जाँदा पहिले सहदेव ढलेको र त्यसपछि नहकुल ढलेको अनि अर्जुन र भीम ढलेको र अन्त्यमा युधिष्ठिर एक्लै परेको बताए।

तर नेकपाको प्रसंगमा ओलीले केही मान्छे ढल्दै गए पनि महाभारतको कथाजस्तो नहुने बताए। प्रधानमन्त्री ओलीले एकअर्कालाई गाली गर्ने, होच्याउने संस्कृतिको अन्त्य गर्नुपर्ने बताए। उनले आफ्नो सम्बोधनमा नेकपा दाहाल–नेपाल समूहलाई कुनै गाली गरेनन्। शिलान्यास कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु शाह, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७७ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App