१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई वर्षपछि हामी जितेरै छोड्छौं, ओलीले मुलुकलाई फेरि धनी बनाउनुहुनेछ : शेरबहादुर तामाङ

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संगठन झन् बलियो हुने दाबी गरेका छन्। ओली निकट राष्ट्रिय युवा संघको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै नेता तामाङले कतिपयलाई सर्वोच्चको फैसलापछि आफूहरुको संगठन कमजोर हुने लागेको भएपनि तर त्यस्तो नहुने दाबी गरे।

‘सर्वोच्चको फैसलापछि आज मान्छेहरुलाई लागेको होला, जसरी मनमोहन अधिकारीको सरकार अविश्वासको प्रस्तावका कारण त्यतिखेर हट्यो, त्यसैगरी आज केपी ओलीको सरकार त्यसैगरी सकिन्छ भनेर लागेको होला,’ उनले भने,‘तर, पार्टी तपाईं(कार्यकर्ता)हरुको हातमा छ र तपाईंहरुले बनाउनुहुन्छ। हामी झन् बलियो हुनेछौं’

केहीदिनअघि प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा खुलेका नेता तामाङले सर्वोच्चको फैसला संसद विघटनको पक्षमा आए अर्को खेमाले ‘आज नेपाल बन्द’ गर्ने बताए। ‘सायद हिजोको फैसला आजको जुन फैसला आएको छ, त्यसको ठीक उल्टो आएको भए के हुन्थ्यो होला, आज सायद नेपाल बन्दको अवस्थामा हुन्थ्यो होला, उहाँहरु आगो बालिरहनुभएको हुन्थ्यो होला,’ तामाङले भने,‘तर, हामीले संयतापूर्वक राजनीतिक विचार राखिरहेका छौं। त्यसैले हामी समृद्धिको पक्षमा छौं। यो मुलुकको निर्माण हाम्रो प्रमुख एजेण्डा हो। फेरि पनि यो मुलुकलाई धनी बनाउन सक्छौं। हामीसँग प्रशस्त एजेण्डा छन्। प्रत्यक जनतालाई गरीबबाट मुक्त गर्न सक्छौं। र, ती एजेण्डाहरु कमरेड केपी ओलीको नेतृत्वमा सम्पन्न हुनेछन्।’

उनले सर्वोच्चको फैसलापछि आफूहरुले संगठन निर्माणको लागि दुई वर्ष पाएको बताए। ‘हामीलाई कस्तो गज्जब भयो, छिट्टै चुनावमा जाँनुपर्दा हामी हतारमा थियौं। तर, अब दुई वर्ष संगठन बनाउने अवसर पायौं। हामी जितेरै छोड्छौं। किन हार्ने?’

गत पुस ५ गते प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णलयलाई सर्वोच्च मंगलबार बदर गरिदिएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App