४ वैशाख २०८१ मंगलबार
राजनीति

‘विघटनको पक्षमा फैसला नआए आन्दोलन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट तीनवटा सन्देश दिएका छन्। सर्वोच्च अदालतबाट संसद् विघटनको पक्षमा फैसला नआए आफूहरू आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरू एक ठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन्।

देशव्यापी रूपमा आम सभा गर्दै हिँडेको नेकपा ओली समूहका अध्यक्षसमेत रहेका उनले विराटनगरको सभालाई सम्बोधन गर्दै सम्मानित अदालतले आफ्नो पक्षमा फैसला गर्ने दाबीसमेत गरे। उनले मुलुक निर्वाचनतिर गइसकेको पनि संकेत गरे। ‘सम्मानित सर्वोच्च अदालतले देशभरि भइरहेका यस्ता सभाहरूलाई हेरेको होला। यस्ता सभाहरूबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला। संविधानको मर्म र भावना हेरेको होला। त्यसपछिका परिणतिहरू र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला,’ प्रधानमन्त्री ओलीले भने। सर्वोच्च अदालतलाई उनले सिधै धम्कीको भाषा प्रयोग नगरे पनि देशभरि आफूहरूले गरेको सभा हेर्न आग्रह गर्नुलाई एक प्रकारको धम्की नै भएको टिप्पणी गरिएको छ। प्रधानमन्त्री ओलीले जबजब आफू असजिलोमा पर्छन्, त्यतिबेला विभिन्न राजनीतिक कार्ड मिल्काउने गरेका छन्।  

सर्वोच्च अदालतलाई आफ्ना विरोधीहरूले धम्क्याएको भन्दै आएका ओलील शनिबार विराटनगरबाटै अदालतलाई देशभरिको सभा हेर्न आग्रह गरे। त्यति मात्र होइन, उनले सांसद किनबेच हुने, अस्थिरता हुने र मुलुकमा संसदीय विकृति आउने दाबी गर्दै संसद् पुनःस्थापना नहुने जिकिरसमेत गरेका थिए। उनका यी भनाइबाट ओली कि त गलेको कि त उनले अझै ठूलो हुंकार गरेको आभास हुन्थ्यो।

यस्तो अभिव्यक्तिले सरकारमै रहेको पार्टी आन्दोलनमा भन्ने प्रश्न पनि उठेको छ। प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरू आन्दोलन जाने अगाडि बताइरहँदा उनले सबैतिर तर्साउन खोजेको आभास हुन्छ। ‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरूलाई पराजित गर्छौं,’ प्रधानमन्त्री ओलीले भने।  

सोही सभाका ओली समूहमा प्रवेश गरेका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ दम्पती प्रवेशप्रति लक्षित गर्दै पुष्पकमल दाहाल–माधव नेपाल समूहमा पूर्वएमाले कमजोर हुने संकेत गरेका थिए। उनले दाहालको माया लागेर आफूले सिङजुरो हालिदिएको तर अब बचाउ गर्न नसक्ने बताए। प्रधानमन्त्री ओलीले ठूलो संख्यामा पूर्वएमाले आफ्नो पार्टीमा रहेको दाबी पनि गरे। आफ्नै सरकारमा रहेका कानुनमन्त्री तामाङलाई रुवाउँदै निकालेका ओलीले फेरि विराटनगर सभाबाट भित्र्याएका छन्। उनले तामाङलगायतलाई आफ्नो समूहमा ल्याएर देशभरका पूर्वएमाले र पूर्वमाओवादीका असन्तुष्ट पक्षलाई पार्टीभित्र ल्याउँदै छु भन्ने सन्देश दिन चाहेका छन्। 

तामाङ दम्पती आफ्नो समूहमा आएपछि उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै नेता नेपाललाई मक्ख नपर्न भनेका थिए। ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरू अध्यक्षलाई चिन्दिनँ। तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने। त्यही क्रममा ओलीले ‘थर’ माथि समेत टिप्पणी गर्न भ्याए। प्रचण्डले पहिले वैद्य, त्यसपछि डाक्टर र अहिले झाँक्री लिएर हिडेको भन्दै थरमाथि व्यंग्य र टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको हैसियतले गरेको सो टिप्पणी निकै असुहाउँदिलो थियो।  

त्यसैगरी प्रधानमन्त्री ओलीले ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति जारी गरेको थियो। शनिबार बिहान प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका गोकुल बास्कोटाले आज केही नयाँ हुन्छ भन्ने संकेत गरेका थिए। विराटनगर सभामा ओलीले सम्बोधन गर्नुअघि सुवास नेम्वाङले पनि प्रधानमन्त्री ओलीले केही नयाँ अभिव्यक्ति दिने संकेत गरेका थिए। प्रधानमन्त्रीको ओलीको सम्बोधन भइरहेको बेला विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गरेर आफूहरू वार्तामा बस्न तयार रहेको बताएका थिए। त्यसपछि उत्साहित भएका ओलीले दाहाल–नेपाललाई समेत गाली गर्न भ्याएका थिए। कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेका दाहालले आयोगमा गएर सूर्य चिह्न आफ्नो हो भनी दाबी गर्नु केटीकेटीले पुतलीका लागि झगडा गर्नुजस्तै भएको ओलीले टिप्पणी थियो। यसअघि पनि उनले यस्तै टिप्पणी गर्दै आएका थिए।

ओली सरकारका खानेपानी मन्त्री मणि थापाले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई निरन्तर सम्पर्क गरेर वार्ताको वातावरण बनाइरहेका बेला सरकारले उनीहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। यसअघि प्रतिबन्धित समूहमा रहेका विप्लव समूहप्रति निकै आक्रामक हुने ओली अहिले भने सहजै प्रतिबन्ध फुकुवा गर्ने तयारीमा छन्। उनले मन्त्रिपरिषद्को बैठकबाट प्रतिबन्ध फुकुवा गर्ने सन्देश विप्लव समूहलाई दिएका छन्। सोहीअनुरूप सो समूहले वार्ताका लागि सकारात्मक रहेको भन्दै विज्ञप्ति जारी गरेको हो।

यसअघि सिके राउत समूहलाई पनि मूलधारको राजनीतिमा ल्याएको ओली सरकारको योजना अहिले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याएको जस लिने रहेको छ। साथै निर्वाचन घोषण गरिसकेको अवस्थामा निर्वाचनमा पनि सो समूहसँग सहकार्य गरेर अघि बढ्न सकिने ओली समूहको उद्देश्य रहेको छ। ‘यसका दुई कारण छन्, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेन भने विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा समेत सहभागी गराउने र निर्वाचनलाई पछि धकेल्ने तथा संसद् पुनःस्थापना भए संकटकाल लगाएर विप्लव समूहसँग वार्ता भइरहेको बहानाबाजीमा तत्काल सत्ता नछाड्ने उद्देश्यका साथ नयाँ फन्डा आएको हो,’ स्रोतले भन्यो।

प्रकाशित: ९ फाल्गुन २०७७ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App