८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पुनर्स्थापना कि निर्वाचन, कांग्रेस विभाजित

नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्नेमा विभाजित देखिएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले निर्वाचनमा जोड दिएका छन्। संस्थापन इतरका नेताहरूले भने संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ओली सरकारको चर्को आलोचना गरे पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले निर्वाचनमा जोड दिएका छन्। निर्वाचन आयोगले चुनावको तयारी नगरेको भन्दै सभापति देउवाले असन्तुष्टि जनाए। निर्वाचन आयोगको कार्यक्षमताप्रति नै आशंका व्यक्त गर्दै देउवाले चुनावको तालिका अहिलेसम्म नआएकोमा विरोध जनाए। सभापति देउवा, उपसभापति विमलेन्द्र निधिसहितका नेताले निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादसमेत टुंगो नलागाउँदा वैशाखमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै आयोगलाई आफ्नो काम अघि बढाउन आग्रह गरेका छन्।

तर नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिएका छन्। संसद् विघटनले संविधान लिकबाहिर गएको जनाउँदै त्यहीलाई पुरानै अवस्थामा फर्काउन पुनर्स्थापना एकमात्र विकल्प भएको उनीहरूको दाबी छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि कांग्रेसले अहिलेसम्म निर्वाचन वा पुनर्स्थापना, कुनै पनि पक्षमा औपचारिक निर्णय गरेको छैन। नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम अदालतको विषय बनेको जनाउँदै त्यसले गर्ने फैसलालाई स्वीकार गरेर जाने बताउँदै आएका छन्।

सभापति देउवाले भैरहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थासँग नखेल्न निर्वाचन आयोगलाई चेतावनी दिए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न सक्ने उनको भनाइ थियो। देउवाले संसद् विघटन भएको ६ महिनाभित्रै निर्वाचन गराइसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयोग संविधानभन्दा माथि जान खोजेको टिप्पणी गरे। ‘संसद् विघटन भएको ६ महिनामा चुनाव भइसक्नुपर्छ तर आयोगलाइ चासौ नै छैन। किन उसले चुनावको प्रक्रिया अगाडि बढाउँदैन, शंका गर्नुपर्ने भएको छ,’ देउवाले भने।

यस्तै धादिङमा आयोजित सभामा नेता पौडेलले संसद् विघटन ओलीले गरेको राष्ट्रघात, जनघात र वितण्डा भएको बताए। स्थायी सरकार चलाइरहेका बेला सनक र लहडको भरमा गरेको संसद् विघटनले देशमा झनै अस्थिरता ल्याएको टिप्पणी उनले गरे। नेपालमा न्यायालय र न्याय जिउँदो छ भने संसद् पुनर्स्थापना हुने उनको भनाइ थियो। ‘संविधानमा नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु भनेको देश दुर्घटनामा पर्नु हो,’ नेता पौडेलले भने, ‘यसअघि संसद् विघटन हुँदा देशले ठूलो क्षति बहोर्नुपरेको थियो। व्यक्तिगत चाहनाले संविधानको मर्म नबुझी शक्तिको उन्मादमा प्रधानमन्त्रीले संसद् विघटन गर्नु दुर्घटना निम्त्याउनु हो।’  

संसद पुनर्स्थापना नभए नेपालमा भीषण द्वन्द्व निम्तिने उनले बताए।

उता दाङमा आयोजित सभालाई सम्बोध गर्दै पार्टी महामन्त्री डा. शशांक कोइरालाले वैशाख १७ र २७ गते निर्वाचन ‘असम्भव’ रहेको बताए। चुनाव हुन्छ कि भनेर कांग्रेसका कोही कसैले पनि विश्वास गर्न नहुने उनको भनाइ छ। कोइरालाले भने, ‘वैशाखमा चुनाव हुन्न, यसमा सबै ढुक्क भए हुन्छ।’ प्रधानमन्त्री ओलीले आफ्नो पद लम्ब्याउन चुनावको कुटिल चाल चलेको भन्दै कोइरालाले यसमा अरू कुनै सत्यता नभएको बताए। ‘प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउन चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भने, ‘चुनाव चिह्नमा देखिएको नेकपा विवादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन।’ दाहाल–नेपाल समूहले सूर्य चिह्न प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्दा हाल्ने र यो प्रक्रिया लम्बिने उनको भनाइ थियो।

कोइरालाले संसद् पुनर्स्थापना मात्रै कांग्रेसको एकल अजेन्डा रहेको बताए। संविधानको हत्या गर्नेगरी प्रधानमन्त्रीले विघटन गरेको संसद्को पुनर्स्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने भन्दै उनले थपे, ‘आज कांग्रेस सडकमा छ, संविधानको रक्षाका लागि।’ उनले कांग्रेस संसद् पुनर्स्थापनाका सवालमा एकल रूपमा आन्दोलनमा रहेको भन्दै यो मुद्दामा कसैसँग पनि सहकार्य नगर्ने बताए।

यसैगरी पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा पुनर्स्थापना नभए मुलुक विदेशीको खेलमैदान बन्ने बताए। ‘नेपाल जोगाउने कि विदेशीको हातमा जाने भन्ने अब थाहा हुनेछ,’ उनले भने, ‘संसद् पुनर्स्थापना नभएमा बाह्य शक्ति हाबी हुनेछन्।’ संविधानलाई असफल बनाउन ओलीले संसद् विघटन गरेको आरोप पनि सिंहले लगाए। संसद् विघटनमा ओलीको मात्र हात नभई विदेशीको इशारा पनि रहेको उनले बताए।

‘ओलीले संविधानमाथि नै धावा बोलेका छन्। व्यवस्था नै असफल बनाउन उनी लालायित भए,’ सिंहले भने, ‘ओलीको अधिनायकवाद शैलीले देश अस्थिरताको भुमरीमा फसेको छ।’ ओली दुइतिहाइ मतका आधारमा प्रधानमन्त्री बने पनि उनले दुईतिहाइको त्यो मत धान्न नसकेको उनले बताए। ‘ओली प्रधानमन्त्री हुँदा उनीसँग दुईतिहाइ मत थियो तर उनले त्यो धान्न सकेनन्,’ सिंहले भने, ‘अब पनि दुईतिहाइ ल्याएर उनीसँग आशा गर्ने ठाउँ रहँदैन।’ ओली आफ्नै दलमा पनि असफल भएको सिंहले बताए। ‘राम्रो काम गर्दा सहयोग हुन्थ्यो तर ओली संसद्सँग फेस गर्न चाहेनन र सकेनन्। ओलीमा आफूले भनेको सबैले मानिदिनुपर्ने अहंकार प्रवृत्ति छ,’ उनले भने। सभामा पूर्वसभामुख तारानाथ रानाभाटले ओली अहिलेको व्यवस्था नै असफल बनाउन उद्यत् रहेको बताए। ‘देश कहाँ जान्छ भन्ने अवस्था रहेन,’ रानाभाटले भने, ‘संसद् पुनर्स्थापना नै कांग्रेसको मूल उद्देश्य हुनुपर्छ। कांग्रेसले दोधारे नीति बनाउनु हुँदैन।’ चुनाव कि संसद् पुनर्स्थापना भन्नेमा पहिलोमा पुनर्स्थापना र दोस्रो प्राथमिकतामा बल्ल चुनाव हुनुपर्ने उनले बताए।

देउवाको धन्यवाद

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको विरोध सभामा सहभागि पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन्। ७७ वटै जिल्लामा आयोजना भएको विरोध सभामा व्यापक जनसहभागिता रहेको देउवाले जनाएका छन्। ‘प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले यसअघि पुस १३ गते प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते स्थानीय तह, माघ ८ गने वडा तहमा विरोध प्रदर्शन गरेको थियो। माघ १९ गते भ्रातृ संगठन र माघ २४ गते शुभेच्छुक संगठनको अगुवाइमा कांग्रेसले देशभरि प्रदर्शन गरिसकेको छ। विरोधका थप कार्यक्रम तय गर्न र पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकमा अहिलेसम्म भएका विरोध कार्यक्रमको समिक्षा गर्नुको साथै फागुन ७ गते गतेका लागि तय भएको १४औं महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय लिनेछ।

यसैबीच सभापति देउवाले बुधबार २ बजेका लागि केन्द्रीय समिति बोलाएपछि सोही दिन बिहान ११ बजेका लागि तय गरिएको पौडेल पक्षधर जिल्ला सभापतिको भेला स्थगित भएको छ। नेता पौडेलले बुधबार नै केन्द्रीय समितिको बैठक बोलाइएकाले पार्टी कार्यालयमा बोलाइएको जिल्ला सभापतिसहितका नेताहरूको बैठक स्थगित गरिएको जानकारी दिए।  

(रेखा भुसाल/बुटवल, सरिता श्रेष्ठ/धादिङ, सन्तोष पोखरेल/पोखरा, देवेन्द्र बस्नेत/दाङ)

प्रकाशित: ४ फाल्गुन २०७७ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App