१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संयुक्त आन्दोलनको विपक्षमा जसपा

जनता समाजवादी पार्टी संयुक्त आन्दोलनमा नजाने भएको छ। एक्लै आन्दोलन गर्ने जसपाका नेताहरूले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) पक्षले फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। संयुक्त आन्दोलनमा जसपा सहभागी नहुने पार्टीका नेताहरूले जनाएका छन्। 

संसद् विघटनविरुद्ध जसपा अहिले तेस्रो चरणको आन्दोलन सुरु गरिरहेको छ। योपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने तर संयुक्त आन्दोलनमा सहभागी नहुने निष्कर्ष पार्टीका नेताहरूले निकालेका छन्। जसपाका नेता राजेन्द्र महतोले तत्काल जसपा संयुक्त आन्दोलनमा सहभागी हुने सम्भावना नभएको र त्यस्तो अवस्था पनि नभएको बताए। ‘संसद् विघटनविरुद्ध हामीले आन्दोलन गरिरहेका छांै। आन्दोलनलाई निरन्तता दिन्छौं,’ महतोले भने, ‘तर तत्काल संयुक्त आन्दोलनको सम्भावना छैन।’

संयुक्त आन्दोलन सुरु गर्नुअघि दलहरूबीच संयुक्त अजेन्डामा सहमति हुनुपर्ने बताउँदै महतोले भने, ‘अहिले संयुक्त अजेन्डाबारे छलफल नै भएको छैन। संयुक्त अजेन्डाबारे छलफल नै नभई कसरी संय्ुक्त आन्दोलन सम्भव छ ?’  

संयुक्त आन्दोलनको विषयमा नेकपा (दाहाल–नेपाल) पक्षका नेताहरूसँग औपचारिक कुराकानी नभएको उनले बताए। ‘यसबारेमा हामीलाई औपचारिक रूपमा प्रस्ताव नै आएको छैन। छलफल पनि भएको छैन,’ उनले भने।  

जसपाका अर्का नेता रमेश यादवले भने संयुक्त आन्दोलन गर्ने/नगर्ने विषयमा पार्टीका शीर्ष नेताहरूले बैठक गरी निर्णय गर्ने बताए। ‘अहिले हामीले एक्लै आन्दोलन गरिहेका छौं। संयुक्त आन्दोलन गर्ने/नगर्ने विषयमा पार्टीका शीर्ष नेताहरूले छलफल गरी टुंगो लगाउनु हुनेछ।’ पार्टी स्रोतका अनुसार नेकपाको दाहाल–नेपाल पक्षसँग मिलेर आन्दोलन गर्ने कि एक्लै भन्नेमा पार्टीभित्र दुईमत देखिएको छ। पार्टी स्रोतका अनु्सार पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर नेपाली कांग्रेसझैं जसपाका पनि एक्लै आन्दोलन गर्नुपर्ने पक्षमा देखिएका छन्। 

ओली सरकारविरुद्ध सबै पार्टी एक ठाउमा उभिई आन्दोलन गर्नुपर्ने अवस्था अहिले नआएको निष्कर्ष ठाकुरको छ। ठाकुरलाई शरतसिंह भण्डारी, राजेन्द्र महतोलगायतका नेताहरूले साथ दिएका छन्। तर पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव भने ओली सरकारविरुद्ध जसपा दाहाल–नेपाल पक्षमा उभिनुपर्ने अडान राखेका छन्। ओली सरकारविरुद्ध पार्टीहरूले संयुक्त आन्दोलन गरे आन्दोलन प्रभावकारी हुने र सरकार गल्ने यादव पक्षधर नेताहरूको भनाइ छ। यादवलाई महेन्द्र यादव लगायतका नेताहरूले साथ दिएका छन्।  

जसपाभित्र दोस्रो तहका नेताहरू पनि दुई मतमा उभिएका छन्। एक थरी नेताहरू सर्वोच्चको फैसलापछि मात्र पार्टीले निर्णय गर्नुपर्ने अडानमा छन् भने केही नेताहरू सर्वोच्चको फैसला नकुरेर आन्दोलन अघि बढाउनुपर्ने धारणा राखेका छन्।  

संसद् विघटनविरुद्ध जसपाले अहिलेसम्म दुई चरणको आन्दोलन सकिइसकेको छ। पहिलो चरणको आन्दोलन पुस ८ देखि १४ सम्म गरेको थियो भने दोस्रो चरणको आन्दोलन पुस १७ देखि माघ ७ सम्म गरेको थियो। पहिलो र दोस्रो चरणको आन्दोलनको क्रममा जसपाले काठमाडौंलगायत देशभर विरोध प्रदर्शन तथा विरोधसभा गरेको थियो। विरोध सभाका लागि जसपाले पार्टीका शीर्ष नेताहरूलाई विभिन्न ठाउँमा खटाएको थियो। माघको तेस्रो साताबाट जसपाले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ।

प्रकाशित: २९ माघ २०७७ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App