८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभा विघटनले मुलुक अन्धकारतर्फ जाने खतरा : उपेन्द्र यादव

अवधी पत्रकार संघ बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाट । तस्बिर : अर्जुन ओली/नागरिक

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यावदले प्रतिनिधिसभा विघटनले मुलुक अस्थिरता, अन्धकार र द्वन्द्वतर्फ जाने खतरा बढेको बताएका छन्। अवधी पत्रकार संघ बाँके शाखाले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले त्यसबाट मुलुकले पार पाउन निकै लामो समय लाग्ने धारणा राखे। मुलुकको संविधानले संघीता, समावेशिता लगायतलाई समेटेको भन्दै अध्यक्ष यादवले जनताका अधिकारलाई आफूहरुले कदापी गुम्न नदिने जिकिर गरे।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको मुद्दा सर्वोच्चमा पुगेको स्मरण गराउँदै उनले भने, ‘संविधानको संरक्षण गर्ने, ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै भएको हुनाले मलाई लाग्छ सर्वोच्चले विवेक पुर्‍याएर निर्णय गर्नेछ।’ संवैधानिक इजलासले वर्तमान संविधानको संरक्षण गर्ने यादवको विश्वास छ। ‘संविधानको ब्यवस्था अनुसार नै ब्याख्या गर्नेछ भन्ने कुरामा मलाई चाही विश्वास छ,’ उनले थपे। असंवैधानिक कदम र प्रतिगमन खारेज गराउनका लागि लोकतन्त्रको पुनर्बहाली गर्न र ओलीलाई सिंहदरबारबाट निकाल्नुपर्ने एक मात्र विकल्प मुलुकमा रहेको उनले जोड दिए।  

‘प्रतिगमनलाई सच्याउन र यसलाई खारेज गर्नका लागि दुई वटा महत्वपूर्ण कुरा हुन जरुरी छ, एउटा संसदको पुनर्स्थापना र जुन विघटनको आदेश छ त्यसको खारेजी,’ उनले भने ‘अर्को कुरा प्रधानमन्त्रीलाई लोकतान्त्रिक विधिबाट सत्ता च्युत गर्नुपर्छ, संसद पुनर्स्थापना भएपछि उहाँ निश्चित रुपले सत्ताबाट हट्नुहुन्छ, त्यसपछि मात्र लोकतन्त्रको रक्षा र प्रतिगमन खारेज हुन सक्छ।’

नेपालमा पटक पटक सरकार र कार्यकारिणी प्रमुखद्वारा संविधानको उल्लंघन गर्दै आएको उदाहरण दिँदै अध्यक्ष यादवले भने, ‘जब–जब नेपालमा असंवैधानिक बाटो सरकार, राज्यले लिएको छ, तब तब नेपालमा लोकतन्त्र, गणतन्त्र, मौलिक हक, जनताका अधिकारहरु नै खतरामा परेका छन्, खोसिएका छन्, धरापमा पारिएका छन् र जनताले पुनः संघर्ष गरेर प्राप्त गरेका छन्।’ प्रधानमन्त्री ओलीले अहिले गरेको संसद विघटन गर्ने कार्य पनि पुरानै राजा, महाराजाले गर्दै आएका घटनाको पुनरावृत्तिको रुपमा आफूहरुले हेरिरहेको स्पष्ट पारे।  

पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मिति तोकिएको होइन, नत्र झण्डै दुई तिहाईको नजिक बहुमत पाएको संसद किन भंग गर्नुपथ्र्यो होला र?’ मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र अर्थतन्त्र तहस नहस भइरहेको अवस्थामा चुनाव हुने हो भने लगभग २० अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।

प्रधानमन्त्री ओलीसँग चुनाव गराउने सोच, इच्छा र ताकत नभएको जसपा अध्यक्ष यादवको बुझाइ छ। पत्रकार भेटघाटमा पूर्वमन्त्री एवम् जसपाका नेता मोहम्मद इस्तियाक राई, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष कमरुद्धिन राई, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह लगायत नेताको उपस्थिती रहेको थियो।

प्रकाशित: १५ माघ २०७७ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App