१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाममा आठ मतदानस्थल थप्न सिफारिस

जिल्लामा ८ मतदानस्थल थप्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयसहित सरोकारवालाको बैठकले विभिन्न कारणले मतदानमा कठिनाई भएपछि मतदानस्थल थप्न सिफारिस गरेको हो ।  

सन्दकपुर, माङ्सेबुङ, रोङ र फाकफोकथुम गाउँपालिकामा नयाँ मतदानस्थल थप्न लागिएको छ । सन्दकपुर १, आलुबारीस्थित अरुणोदय आधारभूत विद्यालय (आवि)को मतदानस्थलबाट चन्द्रोदय आविमा मतदानस्थल छुट्याइएको छ । माङ्सेबुङ–४, सिमलटारको सरस्वती आविबाट मार्चेबुङको विद्या सिर्जनात्मक आविमा अर्काे मतदातस्थल छुट्याइएको छ । रोङ–२, बदमटारको शशी माविबाट शान्तिपुर माविमा, यही गाउँपालिकाको वडा ६, जिर्मलेस्थित मोतीराम माविबाट पाटापुर आविमा मतदानस्थल सारिएको छ ।  

फाकफोथुम गाउँपालिकामा ३ मतदानस्थल थपिन लागेका छन् । फाकफोकथुम–४ को विष्णु माविबाट तालखर्ककोे सरस्वती आविमा, वडा ६ को जानकी आविबाट फलाँटे माविमा तथा वडा ७, दोकानडाँडाको जनकल्याण माविबाट रूपाटारको जन माविमा मतदानस्थल छुट्याइएको निर्वाचन कार्यालयले जनाएको छ । ‘जहाँबाट अर्काे मतदानस्थल छुट्टिएको हो, साविकका स्थानमा पनि कायमै छन्,’ जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले भने, ‘भौगोलिक हिसाबले मतदातालाई पायक पर्ने स्थानमा मतदानस्थल सारिएको हो ।’  

केही मतदानस्थल हटाएर नयाँ स्थानमा सारिएको छ । इलाम नगरपालिका–५ को वडा भवन रहेको मतदानस्थल हटाएर त्यहाँका मतदाताका लागि तोरीबारीको सप्तमाई गुरुकूल विद्यालय तथा स्थानीय कभर्ड हलमा सारिएको छ । इलाम नगरपालिका–७, बालमन्दिर र आदर्श आविका दुवै मतदानस्थल महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सारिएको छ । इलाम नपा–९, पोखरी आविको मतदानस्थल इलाम उच्च माविमा, देउमाई नपा–२ स्थित सिंहदेवी आविको मतदानस्थल रत्न–बम प्रतिष्ठान भवनमा र माङ्सेबुङ–१ स्थित गजुरमुखी महिला सहकारी भवनको मतदानस्थल १ नम्बर वडा कार्यालय भवनमा सारिएको निर्वाचन कार्यालयले जनाएको छ ।  

चुलाचुली गाउँपालिका–६, तोरीबारीको गीताञ्जली माविमा मतदान गर्ने २ सय ८५ मतदाताको मतदानस्थल उनीहरूको भौगोलिक हिसाबले नजिक पर्ने फुङनामस्थित राष्ट्रप्रेमी माविमा सारिएको छ । सन्दकपुर गाउँपालिकास्थित बालज्योति माविको मतदानस्थल यसअघि किबी जोन कार्यालयमा सार्ने सिफारिस भएकामा गाउँपालिकाको सुझावअनुसार पुनः बालज्योतिमै कायम गरिएको काफ्लेले जानकारी दिए । जिल्लामा १ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्र छन् । नयाँ सिफारिस निर्वाचन आयोगबाट सदर भए मतदानस्थलको संख्या २ सय ७४ पुग्नेछ ।  

प्रकाशित: १३ माघ २०७७ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App