१६ चैत्र २०८० शुक्रबार
राजनीति

राप्ती पुलमाथि प्रधानमन्त्रीको ‘झुठ’

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे। ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ वर्षपछि ओलीले लिने अवसर जुर्‍यो। पुल उद्घाटन सकिईसकेपछि छोटो मन्तब्य दिएका प्रधानमन्त्री ओलीले कोरोनाको कहरबाट आफ्नो भनाइ सुरु गरे। संगै यहि कोरोना महामारीकै बीचमा आफ्नो नेतृत्वको सरकारले विकासलाई गती दिएको गतिलो उदाहरणको रुपमा यो पुललाई देखाइदिए।  

‘सरकार विकास निर्माणबाट बिचलित छैन, निरन्तर अगाडी बढिरहेको छ,’ उनले भने ‘कोरोनाको महामारीले पनि सरकारलाई विकास गर्नबाट रोक्न सकेन, यसको दृष्टान्त नेपालकै दोस्रो लामो यो पुल हो।’ कोरोना कहरकै बीच यो पुल निर्माण भएको भनेर पुलको जस पूर्ण रुपमा आँफैले लिन खोजेका प्रधानमन्त्री ओली वास्तवमा झुठ बोलिरहेका थिए।  

जबकी यो पुल कोरोना कहर सुरु हुनु अगावै निर्माण सम्पन्न भैसकेको थियो। पुल निर्माणमा लागेको समयावधि समेत दिनमा उल्लेख गरेका प्रधानमन्त्रीको भनाइले नै पुल निर्माण कोरोना कहरका बीच निर्माण भएको भन्ने उनकै दाबीलाई गलत साबित गरिरहेको थियो। उनले दुई वर्ष ९ महिना ७ दिनमा पुल निर्माण भएको भनेर मन्तब्य राखेका थिए। ‘दुई वर्ष ९ महिना ७ दिनको अवधिमा पुल निर्माण सम्पन्न भएको छ,’ ०७३ देखि निर्माण सुरु भएको पुलको दुई वर्षे अवधिलाई ०७७ सालको कोरोना कहरसंग जोड्दै उनले उनले भने ‘कोरोनाको कहरले पनि पुल निर्माणको सरकारको कामलाई रोक्न सकेन।’

उनकै भनाइलाई आधार मान्ने हो भने ०७३ मंसिरदेखि निर्माण सुरु भएको पुल दुई वर्षको अवधिमा कसरी कोरोना महामारीका बेला सम्पन्न भयो? भन्ने प्रश्न यहाँनेर उठ्छ। कोरोना महामारी सुरु हुनु अगावै निर्माण सम्पन्न भैसकेको पुललाई जोडेर आफ्नो नेतृत्वको सरकारलाई अनवरत विकासे यात्राको महारथी बनाउन खोजेका प्रधानमन्त्री ओलीले पुल उद्घाटन पश्चात आयोजना गरिएको नेकपाको जनसभामा पनि यहि दाबी गरिरहे। विकास निर्माणमा आँफू र आफ्नो नेतृत्वको सरकार बिचलित नरहेको भनेर हज्जारौँ सहभागी मासमा आफ्नो झूठो लोकप्रियता कायम गर्न चाहिरहेका थिए।  

प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो यो पुलको निर्माण इतिहास बिल्कुलै छैन। पुल निर्माण सहयोग समितिका अनुसार यो पुल कोरोना महामारी सुरु हुनुपूर्व नै निर्माण भैसकेको थियो। समितिका संसथापक अध्यक्ष धनिराम चौधरीका अनुसार ०७६ असोजमा पुलको रंगरोगनको काम समेत सकिईसकेको थियो।  जबकी नेपालमा कोरोना महामारी ०७६ चैतदेखि सुरु भएको थियो।  

‘यो पुल कोरोना महामारी सुरु हुनु पूर्व नै सकिईसकेको थियो,’ उनले भने ‘यो पुलमा पहिले देखिनै धमाधम गाडीहरु चल्न सुरु भैसकेका थिए।’ प्रधानमन्त्रीले आफ्नो सरकारलाई विकासमा अनवरत रहेको देखाउनका लागि पुलका बारेमा गलत धारणा राखेको उनको भनाइ छ।

‘उनले पुलमाथि आफ्नो श्रेय कायम गर्ने नियतले धेरै गलत बोले,’ चौधरीले भने ‘पुलको निर्माण इतिहास र उनले बोलेको कुराबिच धेरै फरक छ।’ यो पुल निर्माणका लागि योगदान गरेका तत्कालीन संविधानसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रधानमन्त्रीले पुलमाथि आफ्नो श्रेय कायम गर्ने नियतले जनतालाई झूठो कुरा बोलेको बताउँछन्।  

‘आफ्नो, सरकार र नेकपाको प्रभाव कायम गर्ने नियतले प्रधानमन्त्रीले पुलमाथि राजनीति गरे,’ उनले भने ‘यो पुलमाथि उनले बोलेका कुरा सतप्रतिशत झूठो हो,पुल कोरोनाको कहर भन्दा धेरै अगाडीनै निर्माण भैसकेको थियो।’  

हरेक विकास निर्माणका योजनाहरुमा आफ्नो श्रेय कायम गरेर पार्टी राजनीति उँचो पार्ने नियतका रुपमा प्रधनमन्त्रीको भाषणलाई अथ्र्याएका चौधरीले पुल निर्माणको वास्तविकता फरक रहेको बताए। ‘देउखुरीका जनताले पुल निर्माणको इतिहास सबै बुझेका छन्,’ उनले भने ‘प्रधानमन्त्रीको झूठो दाबीलाई पनि हामी देउखुरीवासीहरुले बुझ्नु पर्छ।’

प्रकाशित: १३ माघ २०७७ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App