७ वैशाख २०८१ शुक्रबार
राजनीति

नागरिक आन्दोलनमा दमन

काठमाडौंमा सोमबार प्रहरीले प्रहार गरेको पानीको फोहराबीच आन्दोलनकारी । तस्बिर : मोनिका मल्ल/नागरिक

निधारमा कालो माटोको टीका र ‘कु’ लेखिएको कालो पट्टी लगाएका प्रदर्शनकारी भाटभटेनी हुँदै बालुवाटार क्षेत्रतिर प्रवेश गर्दै थिए। मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठी पानीको फोहरा प्रहार गर्‍यो। प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नागरिक समाजले सोमबार निकालेको ‘बालुवाटार मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

बृहत् नागरिक आन्दोलनको आह्वानमा कमलपोखरी बचाऊँ अभियानका अभियन्ताबाट माटोको टीका लगाएर सुरू गरिएको मार्चमा प्रहरीले लाठी र पानीको फोहरा प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भए। मार्चमा कवि, लेखक, कलाकार र नागरिक अगुवाको सहभागी थिए।

बृहत् नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए। ‘शान्तिपूर्ण धर्ना दिन गइरहेका थियौं,’ उनले भने, ‘हामीमाथि बर्बर दमन भयो। यसले राम्रो संकेत गरेन। अब तेस्रो जनआन्दोलन सुरू भयो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नागरिक अगुवाहरू चरणबद्ध आन्दोलनमा छन्। ‘हामीले काठमाडौं सभ्यताको कालो माटो निधारमा पोतिसकेका छौं,’ वाग्लेले भने, ‘नागरिक चेतनासहितको नागरिक आन्दोलन आज उठेको छ। यो हरेक प्रतिगमनविरूद्ध आन्दोलित हुनेछ। पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइन ? दोस्रो जनआन्दोलनमा पनि फेरि त्यही नारा किन लगाउनुपर्‍यो ? दोस्रो जनआन्दोलनमा त्यही नारा लगाएर पुगेन, त्यही नारा फेरि मधेसका जनताले लगाएर किन जनआन्दोलन गर्नुपर्‍यो ? किन दलितहरू उफ्रिनु पर्‍यो, जनजातिहरू फेरि किन आन्दोलित हुनुपर्‍यो ?’

पत्रकार वाग्लेले बृहत् नागरिक आन्दोलन आवश्यक रहेको तर्क गरे। ‘म अरू आन्दोलन जोड्न चाहन्न, अहिले बालुवाटारमा हामी किन छौं भनेर मैले एउटा कुरा भन्छु,’ उनले भने, ‘बालुवाटारमा आज जो साथी हुनुहुन्छ, जनताको प्रतिनिधित्व गर्दै उहाँले के गर्नुभयो भने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलन हो तर त्यसलाई भत्काउन महत्वपूर्ण एजेन्सीहरू आफू (प्रधानमन्त्री) मातहत लानुभयो। प्रधानमन्त्री कहिल्यै पनि सिंहदरबार जाँदैनन्। प्रधानमन्त्री जहिले पनि निजी निवासमा बस्छन्। निजी निवासमा नेपालको स्वतन्त्र न्यायालयको प्रमुखलाई दर्शन भेट दिनलाई बाध्य बनाउँछन्। निजी निवासमा प्रतिपक्षी दलको नेतालाई भागशान्ति भन्नलाई बोलाउँछन्। त्यसकारण यो प्रतिगमन सम्भव भएको छ।’

वाग्लेले प्रधानमन्त्री ओलीले शासकीय शक्ति सन्तुलन खल्बल्याएर बालुवाटारलाई श्री ३ जंगबहादुरको जस्तो निजी निवास बनाएको आरोप लगाए। ‘उनका मान्छेले भन्दैछन्, प्रधानमन्त्रीविरूद्ध धेरै ठूलो षड्यन्त्र भइरहेको थियो,’ वाग्लेले भने, ‘के षड्यन्त्र भएको रहेछ भने अविश्वासको प्रस्ताव आउँदै थियो रे। अविश्वासको प्रस्ताव आउँछ भन्ने डरले संसद् नै भंग गरिदिने ? अनि के भन्छन्, अविश्वास प्रस्ताव आउने मात्रै होइन, उहाँलाई त खाली खुट्टा नै बालकोट हिँडाउनेवाला थिए, बालकोट फर्काउनेवाला थिए रे। खाली खुट्टा हातमा चप्पल लिएर दौडिएका नेपाली जनताले ल्याएको लोकतन्त्र हो कि होइन ? उनले खाली खुट्टा हिँड्न नहुने ? हिजो नारायणहिटीबाट नागार्जुन जान हुने ? आज बालुवाटारबाट बालकोट फर्कन नहुने ? त्यसकारण उनको अहम्ताको श्रीपेच फुकाल्न नागरिक आन्दोलन जुर्मुराएको छ।’

वाग्लेले संविधानविरुद्ध जान नहुने तर्क गरे। ‘जो बालुवाटारमा बसेका छन्, तिनीहरूले पहिले मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजाआरती गर्दै हिँड्दैछन्,’ उनले भने, ‘तिनीहरूले संविधान पढेका छैनन्। संविधानमा के लेखेको छ ? संविधानमा लेखेको छ, धर्मनिरपेक्षता। यिनीहरूले खल्बल्याउन खोजेको संघीयता, धर्मनिपेरक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र नै हो।’

त्यसअघि पोलिटिकल लिट्रेसी फर वुमनका सदस्यहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सत्ताले गल्ती गरेपछि नागरिकलाई बालुवाटारको गेट देखाउनसमेत डराएको बताइन्। ‘हाम्रो चाहना संविधानको रक्षा होस् भन्ने थियो,’ उनले भनिन्, ‘प्रहरी यहाँ हाम्रो सुरक्षाका लागि आएका होइनन्, प्रहरी त बालुवाटारको गेटको पो रक्षा गर्दैछन्।’

त्यस्तै डा. गोविन्द केसीले प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको आरोप लगाए। जनताले रगत र पसिना बगाएर ल्याएको संविधानविरुद्ध गएका ओली अब श्री ७ महाराजाधिराज बन्ने दिशातिर अघि बढेको उनले बताए।

लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध देशभर विरोध भइरहेको बताए। ‘जसजसले खड्गप्रसाद शर्मा ओलीलाई सम्झिएका छन्,’ उनले भने, ‘ती सबैले मुर्दावाद मात्रै भनिरहेका छन्। ओलीले कम्युनिस्टको आवरणमा सहिदको बलिदानलाई मुर्दावाद भनेकाले नागरिक सडकमा आउनुपरेको छ। नेपाली जनताले श्री ३ महाराज र श्री ५ महाराजको दासत्व अस्वीकार गरिसकेको अवस्थामा नाथे खड्गप्रसाद कत्रो महाराज हो ?’

कमलपोखरीदेखि सुरू भएको मार्चलाई भाटभटेनीअघि प्रहरीले रोकेको थियो। काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले नागरिक समाजको मार्चलाई बालुवाटारको निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि रोकिएको बताए। ‘निषेधित क्षेत्र तोड्न खोजेपछि सामान्य बल प्रयोग गरेका हौं,’ उनले भने।

प्रकाशित: १३ माघ २०७७ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App