१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनका साक्षी प्रचण्ड–माधव पनि हुनः पाण्डे

गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाण्डे लगायत । तस्बिरः नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संसद विघटनको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दिन नमिल्ने बताएका छन् । प्रेस युनियन गोरखाले गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले भने ‘संसद विघटन नेकपा नेतृत्वका प्रधानमन्त्री केपी ओलीले गरेका हुन्, ओलीलाई प्रधानमन्त्री बनाउन पुष्पकमल दाहाल र माधवकुमार नेपालको भूमिका भएपछि संसद विघटनमा पनि उनीहरु साक्षि हुन् ।’  

प्रधानमन्त्री ओलीको निरंकुशता, भष्ट्राचार विरुद्ध कांग्रेसले लामो समयदेखि आन्दोलन गरिरहेको बताउँदै पाण्डेले आफुमाथि प्रहार भएपछि मात्रै प्रचण्ड–माधव पक्षधर झस्किएको बताए । ‘केपी ओलीको असंवैधानिक  कदमविरुद्ध अहिले आन्दोलन गर्नेहरु पुस ५ अघि कहाँ थिए,’ पाण्डेले भने ‘आफु माथि प्रहार भएपछि मात्रै झस्कने, त्यसैले संसद विघटनको मतियार सिंगो नेकपा हो ।’  

नेकपाको दुवै गुट कांग्रेसलाई साथ लिन तछाड–मछाड गरिरहेको बताउँदै उनले तत्काल कुनैपनि पक्षसँग सहकार्य गर्नु कांग्रेसलाई आवश्यक नरहेको बताए । ‘कांग्रेसले यसअघिका आन्दोलन पनि एक्लैले नेतृत्व गरेको हो’ उनले भने ।  

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा पुगेकाले त्यसको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतकै भएको  उनले बताए । ‘संसद विघटन संविधानबिपरित हो भन्ने कांग्रेसको ठहर छ, तर अदालतले गरेको निर्णय कांग्रेसले मान्छ’ उनले भने । एकसाता यता गोरखा–२ मा आयोजित  कार्यक्रममा सहभागी बनेका पाण्डेले यस अघिको निर्वाचनमा बाबुराम भट्टराईलाई भोट हाल्नुपर्दा कांग्रेस कार्यकर्ता दुःखी भएको बताए । ‘अब हुने जुनसुकै निर्वाचमा गोरखा–२ मा कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्दैन’ उनले भने । कांग्रेस आफै चुनावमा सहभागी हुने नेता पाण्डेले बताए । ‘कांग्रेसका कार्यकर्ताले अन्यत्र भोट हाल्नुपर्दा मन दुखेको छ’ उनले भने ।  

केही समय अघि कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने बाबुराम भट्टराई अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै हिँडेको भन्दै उनले भने, ‘कांग्रेसलाई सत्ताको लोभ छैन, कसैले सरकारमा जा भन्दा जाने, नजा भन्दा नजाने होईन ।’  

प्रकाशित: ११ माघ २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App