१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘गजेन्द्रबाबु’ जसले सत्याग्रहको विकल्प सोचेनन्

गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवस

गजेन्द्रनारायण सिंह नेपाली राजनीतिमा गजेन्द्र 'बाबु' को नामले चिनिने अग्ला नेता हुन्। मधेसको देहातबाट प्रतिनिधित्व गर्ने गजेन्द्रनाराण सिंह नेपाली राजनीतिको चहेता बन्नुमा उनको निष्ठापूर्ण राजनीतिलाई कारण मान्छन्, विश्लेषकहरू। नेपाली राजनीतिले सिंहलाई संघीयता, समभाव, समानता आन्दोलनका प्रणेता भनेर पनि चिन्छन्।

गजेन्द्रनारायण सिंह संसारबाट विदा भएको आज १९ वर्ष पुगेको छ। उनी ०५८ माघ १० गते बितेका थिए। मधेस राजनीतिलाई मूलधारमा ल्याउने राजनेताको रूपमा समेत उनी चिनिइन्छन्। नेपाली राजनीतिमा आदरपूर्वक नामका पछाडि बाबु जोडेर उच्चारण गरिने सीमित नाममा गजेन्द्रबाबुको पनि नाम अटाएको छ। यसका धेरै राजनीतिक र व्यवहारिक पक्षहरू छन्।

नेपाल सद्भावना पार्टीमा अभिवादन मन्त्र 'जय मातृभूमि’ उनैले सुरुवात गरेका थिए। यसले पनि उनको मातृभूमि प्रतिको स्नेह प्रष्ट्याउँछ। आफू जन्मिएको माटोप्रति उनको अमिट लगाब उनको राजनीतिक सहयात्रीहरू बखान गर्ने गर्छन्। उनी जुन माटोमा हुर्किए, जुन माटोबाट राजनीतिक यात्रा आरम्भ गरे, त्यो माटोलाई सधैं दिलोदिमागमा ताजा राख्न उनी अभिवादन मन्त्र बनाएका थिए। मातृभूमि प्रतिको प्रेमलाई उनले आफ्नो पार्टीपंक्तिमा मात्र सीमित राखेनन्, यसलाई नेपाली राजनीतिमा समेत स्थापित गराए। उनी मधेसका आर्थिक, सामाजिक, राजनीतिक मुद्दालाई निरन्तर रूपमा उठाइराख्ने एक अथक सिपाही थिए। यसो गर्दा उनी आफूइतर दलका नेतालाई घृणा, आलोचना गरेर समय बिताउन रुचि राख्दैन्थे। उनी आफूइतरका विचार राजनीतिलाई पनि उत्तिकै सम्मान गर्ने अग्ला नेता थिए।

राजनेता एवं चिन्तक प्रदीप गिरीले आफ्नो एउटा आलेखमा उल्लेख गरेका छन्, ‘आफ्ना समयमा गजेन्द्रनारायण सिंहले आफ्ना कार्यकर्तालाई सिकाएका थिए, यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन।’ यो कथन उनको राजनीतिक लक्ष्य र व्यक्तित्वलाई दर्शाउँछ। दूरदृष्टि, सालिन स्वाभाव, प्रष्ट विचार, मातृभूमि मोहलगायतका ओजले नै गजेन्द्रबाबु पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा पनि मधेस आन्दोलनलाई स्थापित गर्न मात्र सफल भएनन्, सबै नेताका मनमा बस्न सफल बनेका थिए। आफ्नो गन्तव्यमा कसरी पुग्न सकिन्छ भन्ने राजनीतिको उनलाई राम्रो हेक्का थियो। उनी आफ्नो गन्तव्यमा पुग्न मुलुकमा विभाजनको राजनीतिलाई कहिल्यै दिमागमा ल्याएनन्। न त्यस खालका अभिव्यक्ति उनीबाट कहिल्यै सार्वजनिक भए।

मधेस मामिलामा विद्यावारिधि डा. राजेश अहिराज उनलाई समभाव राजनीतिका प्रणेताको रूपमा विश्लेषण गर्छन्। उनी भन्छन्, ‘गज्जुबाबु कहिल्यै आफ्नो परिवारको हित गर्नमा आफ्नो राजनीतिलाई विवादित बनाएनन्। उनी जहिल्यै मातृभूमिप्रति आफ्नो राजनीतिक दृष्टिकोणलाई केन्द्रित बनाइराखे।’ अहिराज थप्छन्, ‘उनले घृणा, द्वेषको राजनीति भन्दा प्रेम, सद्भावको राजनीतिलाई केन्द्रमा राखे।’ मधेसमा पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि राजनीति गर्ने गज्जुबाबु पहाड र हिमालका पछाडि पारिएका समुदायको उत्थानका लागि राजनीति गर्ने गोरेबहादुर खपांगीसँग समेत सहकार्य गरेका थिए। 

२०५० सालताका विराटनगरमा संयुक्त पार्टी कार्यालय सञ्चालन गरी पछाडि पारिएका मधेसी र आदिवासी जनजाती समुदायको उत्थानका लागि संयुक्त आन्दोलन अघि बढाएको विश्लेषक अहिराज बताउँछन्। संघीयता र समभाव राजनीतिका अगुवा गज्जुबाबुको बाटोमा अहिले धेरै मधेसी नेता हिँड्दैछन्। जनता समाजवादी पार्टी पनि उही एजेन्डा अघि सारेर राजनीतिलाई गति दिइरहेका छन्, जुन गज्जुबाबुले सुरुवात गरेको थियो अहिराज भन्छन्, ‘दुःखको कुरा जसपाको केन्द्रिय कार्यालयमा गजेन्द्रबाबुको तस्विर समेत राखिएको छैन।’

गजेन्द्रनारायण सिंहको नाममा करिब आधा दर्जन संस्था छन्। जसको नेतृत्व मधेस केन्द्रित दलका नेता तथा उनका परिवारले गरिरहेका छन्। यी संस्थाहरूमा विभिन्न दातृ संस्थाबाट आउने करौडौं रकम गजेन्द्रनारायण सिंहको दर्शनलाई मधेसी समाजमा फैलाउन खर्चिएको पाइँदैन। विश्लेषक अहिराज भन्छन्, ‘गज्जुबाबुको नाममा व्यपारिक पसलहरू खोलिए तर उनको दर्शनलाई व्यवहारमा उतार्ने प्रयत्न भएन। गजेन्द्रबाबुका नाममा पसल खोलेर व्यापार फस्टाएको छ तर उनीको दर्शन व्यवहारमा उतार्ने काम भएको छैन।’ गज्जुबाबुको अर्को पनि असुल थियो, दलको जन्म र परवरिस(राजनीतिक अभ्यास) नेपालको सरहदभित्रै हुनुपर्छ। सद्भावनाको जन्मदेखि राजनीति सबै नेपालको सरहद भित्रै भएको मान्छन् विश्लेषक अहिराज। ‘उनी जमीन बेचेर राजनीति गर्ने मौलिक नेता थिए, उनले कहिल्यै घृणाको राजनीति गरेनन्, न राजनीतिलाई व्यपार बनाए।’

०५५/५६ साल ताकाको सन्दर्भ सम्झँदै गजेन्द्रवादी नेता विकास तिवारी भन्छन्, 'नागरिकता ऐनको विरोधमा गजेन्द्रबाबु कुनै हिंसात्मक विरोध गर्नुभएन। सत्याग्रह आन्दोलनबाटै उहाँले त्योबेलाको साशकलाई झुकाउन सफल हुनुभएको थियो', तिवारीले भने। उहाँ भूत, वर्तमान र भविष्यको विश्लेषण गरेर मात्र राजनीतिक कद्म अघि बढाउनुहुन्थ्यो लामो समय गजेन्द्रनारायण सिंहसँग बसेका तिवारी सम्झन्छन्, ‘उहाँको शक्ति भनेकै सत्याग्रह थियो। सत्याग्रहमार्फत आफ्नो विरोध दर्ज गराउने र त्यसमा अन्तसम्म अडिग रह्ने उहाँको शक्ति थियो।’ गजेन्द्रबाबुको कुनै पनि आन्दोलनबाट मधेस तथा नेपाली समाजका आमजनलाई कहिल्यै पीडा खेप्नु नगरेको तिवारी बताउँछन्। उनले पहाडी साशकलाई घृणा नगरेको तिवारीको भनाइ छ।

प्रकाशित: ११ माघ २०७७ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App