१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संसारकै उत्कृष्ट संविधान भन्ने खड्गप्रसाद, सुवास नेम्वाङहरु त्यही संविधानको घाँटी रेट्दैछन्’

टीकापुरमा आयोजित कार्यक्रममा सहभागीहरु। तस्वीरः योगेश रावल

मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्माले प्रतिनिधि सभा विघटन् गरेर मुलुकलाई हिंसाको बाटोमा धकेल्न खोजेको आरोप लगाएका छन्। बिहीबार टीकापुरमा आयोजित असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन प्रतिगमनको सिलसिला विषयक गोष्ठीलाई सम्बोधन गर्दै पहाडीले न्यायालय, सेना, प्रहरी लगायतलाई विवादमा तानेर ओलीले मुलुकमा मुटभेडको अवस्था सिर्जना गर्न खोजेको जिकिर गरे। उनले प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतान्त्रिक व्यवस्थालाई साँघुरो घेरामा कैद गरेको बताए।

पहाडीले संसारकै उत्कृष्ट संविधान भन्नेहरु घाँटी रेट्न उद्दत र कालो संविधान भन्नेहरु संरक्षणमा उत्रिने अवस्था आएको बताए। ‘हिजो यिनै खड्गप्रसाद, विद्या भण्डारी, सुवास नेम्वाङले संसारकै उत्कृष्ट संविधान भने आज घाँटी रेट्दै छन’ उनले भने,‘हिजो कालो संविधान भन्नेहरु आज संविधानको रक्षाका लागि सडकमा आएका छन।’

तर, सर्वोच्च अदालतले प्रधानमन्त्रीले चालेको प्रतिगमनलाई रोक्ने उनको विश्वास छ। ‘यो कुनै न्यायाधीशको दक्षताको विषय मात्रै हैन। यो व्यवस्थाको रक्षाका लागि चालिने कदम हो’ उनले भने,‘सर्वोच्च अदालतले प्रतिगमनलाई रोक्ने विश्वास छ।’

उनले पछिल्लो राजनीतिक घटनाक्रमले लोकतान्त्रिक व्यवस्थालाई बदनाम गरेर २०१७ र २०४७ मा फर्काउने षडयन्त्र भैरहेको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि मुलुक प्रतिगमनमा नफर्किने बताए। उनले राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय शक्ति समेत आकर्षित हुने सम्भावना रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांस उमादेवी बादीले काँग्रेस जहिले लोकतन्त्रका पक्षमा रहेको बताईन्। उनले काँग्रेस र लोकतन्त्र एकाअर्काका परिपूरक जस्तै भएको बताईन। ‘काँग्रेस हिजो पनि लोकतन्त्रका पक्षमा लडेको थियो आज पनि लड्दै छ र भोलि पनि लड्नेछ’ उनले भनिन्,‘काँग्रेस लोकतन्त्र भन्दा अलग हुन सक्दैन।’

उनले काँग्रेस संसद विघटनका विरुद्ध सडक आन्दोलनमा रहेको बताउँदै सबै लोकतन्त्रवादीहरुलाई हातेमालोका लागि आग्रह गरिन ।

जानकी गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले विगतका घटनालाई भजाएर टीकापुरमा राजनीति गर्न खोजिएको बताए। उनले टीकापुर घटना राज्यसँगको अधिकारको लडाईका क्रममा भएको बताउँदै राजनीतिक तवरबाटै निकास खोजिनुपर्ने बताए। ‘त्यो राज्यसँग अधिकारका लागि भएको लडाई थियो’ उनले भने,‘अधिकारको लडाई कुनै व्यक्ति र जाति विशेषसँग हुँदैन।’

समाज कैलालीका सभापति भक्त विश्वकर्माको सभापतित्वमा भएको सो समारोहमा कवि अर्जुन पराजुलीले कविता वाचन गरेका थिए भने अन्य अतिथिहरुले आफ्ना धारणा राखेका थिए। साधारण सभाले विश्वकर्मालाई पुनः सभापतिमा निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित: ८ माघ २०७७ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App