पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपामा देशव्यापी विभाजन आएसँगै प्रचण्ड–माधव र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेबारी तोक्ने क्रम जारी छ । उदयपुरमा पनि सुरुवातदेखि दुवै समूह कार्यकर्ता तानातानदेखि नयाँ मनोनित र कारबाहीसम्म गर्ने काममा लागेका छन् । अल्पमतमा रहेको ओली समूहले यसअघि नै नयाँलाई अध्यक्ष र सचिव तोक्दै जिल्ला कमिटी विस्तार गरिसकेको छ भने दुईतिहाई बढी बहुमत रहेको प्रचण्ड–माधव समूहले शुक्रबार जिल्ला कमिटी बैठक राखेर नयाँ जिम्मेबारी तोक्नुका साथै केहीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
जस अनुसार पार्टीले जिल्लाका ८ वटै स्थानीयतह (पालिका) इन्चार्ज र सहइन्चार्ज तोकेको छ भने जनवर्गीय संगठनहरुको जिम्मेबारी पनि हेरफेर गरेको छ । विभाजनअघि रहेका १ सय ६१ सदस्यमध्ये १ सय ५ जनाको उपस्थितिमा बसेका जिल्ला कमिटी बैठकले ओलीपक्षमा खुलेकालाई कारबाही गर्ने निर्णय गरेको सचिव ईश्वरमणि राउतले बताए ।
राउतका अनुसार बैठकले बेलका नगर इन्चार्जमा धनपति आचार्य र सहइन्चार्जमा राकेश किरातीलाई तोकेको छ भने चौदण्डीगढी नगर इन्चार्ज र सहइन्चर्जको जिम्मेबारी क्रमशः कुमार खड्का र चुना थापामगरले पाएका छन् । त्यसैगरी त्रियुगा नगर इन्चार्ज यदु ढकाल र सहइन्चार्जको जिम्मेबारी दिलबहादुर तामाङलाई दिएको बैठकले कटारी नगर इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सहइन्चार्ज किसुनलाल दनुवारलाई तोकेको छ ।
गाउँपालिकातर्फ रौतामाई इन्चार्ज र सहइन्चार्जमा क्रमशः कैशाल बस्नेत र दिपेन्द्र दाहालले जिम्मेबारी पाएका छन् भने उदयपुरगढी इन्चार्ज देव गिरी र सहइन्चार्ज कर्णमाया मगरलाई तोकिएको छ । लिमचुङबुङ इन्चार्ज कृष्ण निरौला र सहइन्चार्ज डिकबहादुर राउतलाई तोकेको बैठकले ताप्ली गाउँ इन्चार्जको जिम्मेबारी उद्धवसिंह थापालाई दिएको छ । ताप्लीमा सहइन्चार्ज भने पछि तोक्ने निर्णय भएको सचिव राउतले बताए ।
बैठकले बैठकले ओलीपक्षमा खुलेका ३ पालिका अध्यक्ष र एक सचिवलाई कारबाही गरेको छ । चौदण्डीगढी नगर कमिटी अध्यक्ष राजेन्द्र कटुवाल, उदयपुरगढी गाउँ अध्यक्ष गोपाल खत्री र लिमचुङबुङ अध्यक्ष भलराज राई तथा बेलका नगर कमिटी सचिव गणेश बस्नेतलाई जिम्मेबारीबाट हटाउदै उनीहरुको ठाउँमा नयाँलाई जिम्मेबारी तोकेको छ । चौदण्डीगढी अध्यक्षमा विसन विष्ट, उदयपुरगढीमा केशव कार्की र लिमचुङबुङमा विनोद राईलाई अध्यक्षको जिम्मेबारी तोकेको छ भने बेलका नगर सचिव पछि तोक्ने निर्णय भएको राउतले बताए । त्रियुगा नगर कमिटी अध्यक्षमा केशब घिमिरेलाई जिम्मेबारी दिने निर्णय भएको बैठकमा यसअघिका त्रियुगा अध्यक्ष प्रकाश बस्नेतलाई कारबाही गर्ने विषयमा भने बोलेको छैन ।
बैठकले जिल्लाका दुईवटै संघीय निर्वाचन क्षेत्रमा संयोजक र सचिव तोक्ने निर्णय पनि गरेको छ । १ को संयोजक टेकबहादुर राउत र सचिव विमल किरातीलाई तोकेको बैठकले २ नं. मा संयोजक र सचिवमा क्रमशः एबिराज राई र हृदय तामाङलाई जिम्मेबारी दिने निर्णय गरेको छ । त्यसैगरी पार्टीले जनवर्गीय संगठनतर्फ प्रेस संगठन इन्चार्ज तुलसीप्रसाद कोइराला र सहइन्चार्ज सुखीलाल चौधरी, विद्यार्थी परिचालनतर्फ हेम खड्का, प्रतिक्षा ढुंगाना, विमल कार्की र सरोज अधिकारीलाई तोकेको छ । युवा परिचालनको जिम्मेबारी किशोर ताम्राकार, मोहन घिमिरे, दिपक दंगाल र सुपेन्द्र राईलाई तोकेको बैठकले खेलकुदमा नारायण अधिकारी, मजदुरमा चुडामणि पोखरेल र पदम दाहाल तथा लोकतान्त्रिक थारु संघको जिम्मेबारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भवानी चौधरीलाई सुम्पने निर्णय गरेको छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, प्रदेश सदस्यहरु संविधानसभा सदस्यत्रय मोहन खत्री, मणि खम्बु र भेषकुमारी राउत, भिम अधिकारी, राजकुमार राई, अमर रायमाझी, काजीमान तामाङलगायतको उपस्थिति थियो । विभाजनपछि नेकपालाई सशक्त पार्दै सुद्धिकरण अभियानसहितको संगठन विस्तारमा पार्टी जुटेको जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालले बताएका छन् ।
प्रकाशित: ३ माघ २०७७ ०९:४१ शनिबार