१ असार २०७८ मंगलबार
राजनीति

गणेशमान सिंहको त्यो आह्वान

दृष्टिकोण

गिरिजाप्रसाद कोइराला पनि एउटा व्यक्तिका रूपमा, व्यक्तिगत अपिलको भरमा चुनाव लडेर सोझै प्रधानमन्त्री निर्वाचित हुनुभएको नभई नेपाली कांग्रेसको उम्मेदवारको रूपमा, कांग्रेसको घोषणापत्रका आधारमा चुनाव लडेर सांसद चुनिएपछि नेपाली कांग्रेसको निर्णयबाट प्रधानमन्त्री बन्नुभएको हो ।  

जनआन्दोलन–२०४६ निर्दलीय पञ्चायत व्यवस्थालाई समाप्त पारेर बहुदलीय प्रजातन्त्रको स्थापनाका लागि भएको थियो। सम्पूर्ण नेपाली जनताको वीरतापूर्ण संघर्ष र अनेकौँ सहिदहरूको पे्ररक सहादतले सो आन्दोलनलाई सफलताको ढोकासम्म पुर्‍याएको हो। आज तपाईं–हामीले उपभोग गरिरहेको प्रजातन्त्र त्यही जनआन्दोलनको सुन्दर उपलब्धि हो। जनतामा निहित सार्वभौमसत्ता, बालिग मताधिकारमा आधारित संसदीय व्यवस्था, संवैधानिक राजतन्त्र, अकुण्ठित मानव अधिकार र यी सबको प्रत्याभूति दिने संविधान पनि यसैका उपज हुन्। यस सन्दर्भमा म सर्वप्रथम प्रजातन्त्रका सारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै समस्त नेपाली जनतामा अभिवादन गर्दछु।

जनआन्दोलनको सर्वोच्च कमान्डरको जुन गौरवमय जिम्मेदारी तपाईंहरूले मलाई दिनुभएको थियो, त्यो जिम्मेदारी जनआन्दोलनको सफलताले मात्र टुंगिँदैन, यसले हासिल गरेका तमाम उपलब्धिलाई संस्थागत गर्दै आर्थिक क्रान्तिद्वारा नेपाली जनताको जीवनस्तर उकास्ने र नयाँ समृद्ध नेपालको निर्माण गर्ने प्रक्रिया सुस्थिर एवं सशक्त बनाएपछि मात्र टुंगिनेछ, किनभने प्रजातान्त्रिक आन्दोलनका समग्र योद्धा र सारा सहिदहरूको सपना त्यसबेला मात्र पूरा हुनेछ भन्ने मेरो सुनिश्चित धारणा छ। म त्यो जिम्मेदारी पूरा गर्न सक्ने कुरामा आशावादी मात्र होइन, प्रयत्नशील पनि थिएँ। तर जनआन्दोलनपश्चात् मुलुकमा सत्तासीन हुन पुगेको समूहले आर्थिक भ्रष्टाचार अनैतिकतालाई आफ्नो मूलमन्त्र मानेर नेपाली जनताको पेट तथा राष्ट्रिय अर्थतन्त्रलाई दिन प्रतिदिन खोक्रो पार्दै लैजान थालेको, जनआन्दोलनका उपलब्धि र प्रतिज्ञाहरूलाई निस्तेज तथा यसको मर्म र भावनालाई निष्प्राण तुल्याउने सुनियोजित प्रयासहरू चलाइरहेको, प्रजातन्त्र र यसका आदर्शलाई तिलाञ्जलि दिएर मुलुकलाई जनआन्दोलन पूर्वको युग र अवस्थातिर धकेल्न प्रयास गरिरहेको अनि सत्तारुढ पार्टीले पनि यस प्रवृत्तिमाथि अंकुश लगाउनाको सट्टा यसैलाई अन्धसमर्थन र विवेकहीन पुठ दिन लागेको देखेर म अत्यन्तै मर्माहत हुन पुगेँ। 

मैले कलबलगुडीको पार्टी महाधिवेशनदेखि लिएर महासमिति र केन्द्रीय कार्य समितिसम्मको पार्टीका सम्पूर्ण वैधानिक मञ्चका बैठकमा बारम्बार आवाज उठाएर त्यस्ता क्रियाकलापलाई रोक्ने प्रयास गरेँ, तर सत्ता–उन्माद र निहित स्वार्थको त्यो भीषण कोलाहलमा मेरो स्वरले सधैँ असहाय महसुस गर्नुपर्‍यो। मुलुक र प्रजातन्त्रको स्थिति ज्यादै विकराल हुन थालेपछि मैले अन्ततः मेचीदेखि महाकालीसम्म भ्रमण गर्ने र तपाईंहरूसँग स्वयं भेटघाट गरेर वास्तविकता स्पस्ट्याउने उद्देश्यले जनजागरण अभियानको क्रम पनि प्रारम्भ गरेको हुँ। तर अचानक ठूलो दुर्घटना परेर स्वास्थ्य उपचारमा लाग्नुपर्‍यो, जसले गर्दा त्यो क्रम बीचैमा टुट्न पुग्यो। तपाईंहरूको शुभेच्छाले अब म स्वस्थ भइसकेको छु, तापनि चिकित्सकहरूको सल्लाह अनुसार पहिलेजस्तै चलफिर गर्न अझै केही समय लाग्नेछ। 

यसैबीच राष्ट्रियता र प्रजातन्त्रमाथि नै सोझो एवं निर्णायक प्रहार गर्ने मनसाय बोकेका प्रतिगामी तत्वहरूको खुला समर्थनका आधारमा, वैयक्तिक सनकद्वारा प्रेरित भएर मध्यावधि निर्वाचन देशमाथि जबर्जस्ती लादिएको छ, जो देशका लागि बिल्कुलै आवश्यक थिएन। जनआन्दोलनकारी शक्तिहरू यसको समर्थनमा थिएनन्। तर जसरी लादिएको भएता पनि मध्यावधि निर्वाचनमा जानु आज हाम्रो नियति बनिसकेको छ र प्रजातन्त्रको रक्षाका अरू उपायहरू प्रभावहीन तथा निरर्थक भएर जन अदालतमा जानु एक मात्र विकल्प बाँकी रहेको वर्तमान सन्दर्भमा आफ्नो निहित महत्वाकांक्षा र स्वार्थका लागि संसद् र प्रजातन्त्रका मर्यादालाई भताभुंग पारेर तानाशाह बन्न खोज्ने प्रवृत्तिलाई परास्त गर्न यो मध्यावधि निर्वाचन ठूलो मौका बन्न सक्छ भन्ने मेरो विश्वास छ। यही विश्वासले गर्दा आज यो अपिलमार्फत आफ्ना भावनाहरू लिएर म तपाईंहरूका सामु उपस्थित भएको छु।

जनआन्दोलनको भावना  

प्रजातन्त्रको पुनः स्थापनाका लागि देशमा दशकौँसम्म थुप्रै संघर्ष र आन्दोलन चलेका हुन्। ती सबमा म पनि एउटा समर्पित सिपाहीका रूपमा सम्मिलित रहँदै आएको हुँ र तिनको उच्च मूल्यांकन पनि गर्दछु। तर सत्य के हो भने, २०४६ को जनआन्दोलनले मात्र आफ्नो लक्ष्य हासिल गर्न सक्यो, किनकि यसको भावना यसअघिका तमाम संघर्ष र आन्दोलनको भन्दा बिल्कुल बेग्लै थियो। त्यो भावना थियो– ‘राष्ट्रियता र प्रजातन्त्रका निम्ति पञ्चायतविरोधी एवं प्रजातन्त्रको पुनस्र्थापना गर्न चाहने तमाम शक्तिहरूबीचको सहमति, सहभागिता र मेलमिलाप अपरिहार्य छ।’  

‘राष्ट्रिय मेलमिलाप’को व्याख्याका रूपमा मैले २०३३ सालदेखि नै यो भावना बारम्बार अघि सार्दै आएको थिएँ, तर यसलाई व्यवहारमा उतार्ने बृहत्तर अवसर जनआन्दोलन–२०४६ का रूपमा मात्र उपलब्ध हुन सक्यो। जनआन्दोलनको यो मर्म, भावनालाई भविष्यसम्म जीवन्त रूपमा अघि बढाउन सके मात्र हाम्रो मुलुकमा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण संवद्र्धन हुन सक्छ, आर्थिक क्रान्तिद्वारा नेपाली जनताको जीवनस्तर उकास्ने लक्ष्य पूरा हुन सक्छ, अनि नेपालको स्वर्णिम भविष्यको रचना हुन सक्छ भन्ने मेरो दृढ विश्वास छ। यसो हुन नसकेमा कुनै न कुनै नाम, रूप वा अनुहारमा आएर प्रजातन्त्रविरोधी, अधिनायकवादी शक्ति र प्रवृत्तिले यो मुलुकलाई पुनः आफ्नो पन्जामा अँठ्याउनेछ र नेपाली जनताले पुनः अँध्यारो युगमा फर्कनुपर्नेछ। त्यसबेला प्रजातन्त्र मात्र समाप्त हुनेछैन, हाम्रो राष्ट्रियता पनि समाप्त हुनेछ र नेपालीको अस्तित्व एवं अस्मिता पनि लुटिनेछ।

दुर्भाग्यपूर्ण परिस्थिति

हाम्रो दुर्भाग्य के भइदियो भने, जनआन्दोलनको सफलतापश्चात् यसका उपलिब्धलाई संस्थागत गर्ने जिम्मा त्यस्तो प्रवृत्तिका हातमा पर्न गयो, जो जनआन्दोलनको भावनासँग बिल्कुलै सहमत थिएन, बरु त्यसको विपरीत प्रजातन्त्रविरोधी शक्तिहरूसँगै मेलमिलाप गरेर अघि बढ्न चाहन्थ्यो। यस प्रवृत्तिको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुहुन्छ। उहाँ जनआन्दोलनको पक्षमा हुनुहुन्नथ्यो। उहाँको तीव्र विरोधका बाबजुद पार्टीले आन्दोलन गर्ने निर्णय गरेपछि उहाँले त्यसको सार्वजनिक विरोध गर्नुभएन, जनआन्दोलनमा उहाँको एक मात्र योगदान यत्ति हो। त्यसपछि पनि उहाँको समूहले स–साना निहुँ झिकेर आन्दोलन आफ्नो लक्ष्यमा पुग्नुअगावै त्यसलाई समाप्त पार्न बारम्बार कोसिस गरेकै हो। यही कारण हो कि जनआन्दोलन समाप्त हुँदानहुँदै यसलाई ‘पञ्चको पनि जित’ साबित गर्न उहाँ हतारिनुभएको थियो। झन् प्राविधिक कारणले सत्ता सम्हाल्न पुगेपछि त उहाँको मिसन नै त्यहीजस्तो देखिन थाल्यो। जनआन्दोलनकारी शक्तिहरूसँग उहाँले शत्रुको व्यवहार गर्न थाल्नुभयो भने, जसका विरुद्ध जनआन्दोलन भएको थियौँ, उनीहरूसँग हातेमालो गरेर अगाडि बढ्न थाल्नुभयो। प्रजातन्त्रका समर्पित योद्धाहरूलाई सुनियोजित तबरले अपमान गर्न थालियो। 

पार्टीको ठाडो अवहेलना गर्न थालियो र टनकपुरजस्ता कैयौँ मामिलामा संसद्लाई ढाँट्न संकोच मानिएन। अदालतका आदेशको उपेक्षा र अवज्ञा सुरु भयो। प्रजातन्त्र बहुदलवाद व्यवस्था हो, तर विपक्ष त के, आफ्नै पार्टीका साथीहरूसँग पनि संवाद चलाइएन, सभामुख र संवैधानिक अंगसँग पनि संवाद गरिएन, एकोहोरो आफ्नो हठवादी डम्फू पिट्ने काम मात्र गरियो। विपक्षसँग गरिएका सम्झौताहरूको कार्यान्यन गर्नुको सट्टा तिनलाई झुक्याउने प्रपञ्चका रूपमा मात्र हेर्न थालियो। आफ्नै नेता र साथीहरूसँग गरिएको प्रतिज्ञा पनि निर्वाह गरिएन। प्रजातान्त्रिक मूल्य–मान्यतालाई पददलित गरेर निरंकुशतालाई अघि बढाइयो। राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतिर ध्यान दिइएन। राष्ट्रिय हितविपरीतका काम लगातार हुन थाले। देशको इज्जतमाथि नै खेलवाड सुुरु गरियो। जनता पञ्चायतमा भन्दा बढी शोषित, अवहेलित एवं असुरक्षित महसुस गर्न थाले। तीन वर्षमा महँगीले आकाश छोयो। 

बेरोजगारीमा व्यापक वृद्धि भयो, पिछडिएकाहरूले अघि बढ्ने अवसर पाएनन् र सर्वसाधारणको जीवन अत्यन्त कठिन बन्न पुग्यो। नातावाद, परिवारवाद र जातिवादको बोलबाला सुरु भयो। कुर्सीमा बस्नेहरू घुस–कमिसन खानु अवैध होइन भन्दै हिँड्न थाले, भ्रष्टाचारको ताण्डवनृत्य चल्न थाल्यो। गरिब जनताका लागि विदेशबाट प्राप्त सहयोगको व्यापक दुरूपयोग हुन थाल्यो। प्रधानमन्त्री स्वयं भ्रष्टाचार र अनियमिततामा संलग्न भएका प्रतिवेदन संसदीय समितिबाट आउन थाले। शैक्षिक क्षेत्र अराजकता ग्रस्त बन्यो र कर्मचारीतन्त्रमा स्वाभिमान एवं स्वच्छ छवि खोज्ने प्रयास गरिएन। समाज सेवाका क्षेत्र अन्योलग्रस्त बन्यो। समाजवादको आदर्श परित्याग गरियो। पारित भइसकेको भूमिसम्बन्धी कानुन लागू गरिएन र राष्ट्रिय पुँजी तथा राष्ट्रिय उद्योगलाई संरक्षण दिनुको सट्टा देशका उद्योगधन्दाहरू विदेशीलाई निस्संकोच बेच्न थालियो। सञ्चारको व्यापक दुरूपयोग गरियो। संक्षेपमा भन्ने हो भने, जनआन्दोलनका उपलब्धिलाई निरर्थक साबित गर्न कुनै कसर बाँकी राखिएन। सहिदको सपना र जनआकांक्षालाई धुलोमा मिलाइयो।

निर्दलीयताको प्रतिच्छाया

बहुदलीय प्रजातन्त्र भनेको पार्टी आधारित व्यवस्था हो। यसमा पार्टीहरूले आफ्नो घोषणापत्रका आधारमा चुनाव लड्छन्, जनताले पार्टीलाई भोट दिन्छन्, बहुमत प्राप्त पार्टीले सरकार बनाएर आफ्नो घोषणापत्र लागू गर्छ। पार्टीले नै सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्छ। सरकारले महत्वपूर्ण निर्णय लिँदा आफ्नो पार्टीको सहमति प्राप्त गर्छ, साथै विशेष महत्वका विषयहरूमा सदनमा अन्य पार्टीको समेत अनुमोदन लिन्छ। संसारभरिको प्रचलन र परम्परा यही हो। तर, गिरिजा प्रवृत्तिले प्रजातन्त्रको यो मर्म आत्मसात् गर्न सकेन। आफ्ना विचार र व्यवहारलाई पूर्व व्यवस्थाको प्रतिच्छायाबाट उसले मुक्त गर्नै सकेन। 

गिरिजाप्रसाद कोइराला पनि एउटा व्यक्तिका रूपमा, व्यक्तिगत अपिलको भरमा चुनाव लडेर सोझै प्रधानमन्त्री निर्वाचित हुनुभएको नभई नेपाली कांग्रेसको उम्मेदवारको रूपमा, कांग्रेसको घोषणापत्रका आधारमा चुनाव लडेर सांसद चुनिएपछि नेपाली कांग्रेसको निर्णयबाट प्रधानमन्त्री बन्नुभएको हो। तर, त्यो पदमा पुग्नासाथ उहाँ सरकारका कुनै पनि निर्णयमा पार्टीको कुनै सल्लाह, सहमति वा अप्रत्यक्ष भूमिकासम्म अग्रहीय र अवाञ्छनीय ठान्ने अन्धहठप्रति प्रतिबद्ध बनेर देखापर्नुभयो। यस्तो लाग्थ्यो, मानौँ उहाँ बहुदलीय निर्वाचनबाट सत्ता हासिल गरेर निर्दलीय प्रकृतिको सरकार चलाउन उत्सुक हुनुहुन्छ। त्यसको केही दिन नबित्दै उहाँ आफूलाई जनताले पाँच वर्षका लागि प्रधानमन्त्री निर्वाचित गरेको भन्दै हिँड्न थाल्नुभयो। देशका बुद्धिजीवीले त्यसो भन्नु ठूलो गल्ती हो भन्दाभन्दै पनि उहाँ आफ्नो गलत धारणालाई सच्याउन तयार हुनुहुन्न। पाँच वर्षका लागि त जनताले प्रतिनिधिसभाका सम्पूर्ण सांसदलाई नै निर्वाचित गरेका थिए। तर, त्यो जनादेशको उहाँले एकै छप्कामा हत्या गरिदिनुभयो र त्यसबापत कति पनि लाज शरमको अनुभव नगरी यति ठूलो झूट बारम्बार दोहोर्‍याउँदै हिँडिरहनुभएको छ। एउटा झूटलाई पनि सयपल्ट दोहोर्‍याएपछि जनताले पत्याउन थाल्छन् भन्ने विश्वास त हिटलर र उसका साथीहरूको थियो, गिरिजा प्रवृत्तिले उनीहरूलाई आफ्नो आदर्श बनाउन किन चाहेको हो ?

पार्टीको कमजोरी

विपरीत मनस्थिति लिएर पार्टीको आदर्श बमोजिम चल्न असम्भव हुन्छ, भयो पनि त्यस्तै। गिरिजा प्रवृत्तिको राजमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादजस्ता नेपाली कांग्रेसको आदर्शको अवमूल्यन गरियो। राष्ट्रिय अस्मिता र सार्वभौमिकतामाथि प्रहार हुन थाल्यो, प्रजातन्त्रका मूल्य–मान्यताहरूको धज्जी उडाइदियो, निजीकरण र खुला अर्थतन्त्रका नाममा समाजवादको आदर्शलाई रद्दीको टेकरीमा फ्याँकियो। नेपाली कांग्रेसको घोषणापत्रलाई कागजको बेवारिस खोस्टामा परिणत गरियो।

चुनावमा हारेका व्यक्तिहरूलाई महत्वपूर्ण पदमा नराख्ने र सरकारी नियुक्ति तथा पदोन्नति गर्दा पिछडिएका जाति तथा वर्गका सदस्यलाई विशेष अवसर दिने भन्ने दुइटा मूल कुरामा प्रधानमन्त्रीसँग पार्टीको उच्च नेतृत्वको सहमति भएकामा त्यसको पनि पालना गरिएन। पैसा र पावरको आडमा व्यापक गुटबन्दी गरेर पार्टी संगठनलाई प्रदूषित गरियो र गिरिजा प्रवृत्तिको निरंकुशतामाथि पार्टीले अंकुश लगाउन खोजेमा पार्टी संगठन नै तहसनहस गरिदिने धम्की बारम्बार दिन थालियो। पार्टीको सरकार भन्ने सिद्धान्तलाई नै नकारियो। तर, यो सब हुँदाहुँदै पनि पार्टीले गिरिजा सरकारका यावत् गलत कामलाई काँध थाप्तै गयो। कसैलाई देश चलाउन दिनुको अर्थ उसलाई तानाशाह बनाउनु होइन, न उसले जति बदमासी गरे पनि काँध थाप्दै जानु हो। 

त्यसैले पार्टीको आदर्शबमोजिम सरकार चलाउन नसक्नेलाई पार्टीले सरकारबाट झिकिदिनुपर्छ भन्ने मेरो धारणा थियो र मैले यसबारेमा पार्टीलाई बारम्बार घचघच्याएँ। टनकपुरको मामिलामा अदालतले त्यसलाई सन्धि ठहर्‍याएको खण्डमा प्रधानमन्त्रीले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्छ भनेँ। तर, पार्टीले हरेकपल्ट प्रधानमन्त्रीलाई बचाइरह्यो र टनकपुरसम्बन्धी सर्वोच्च अदालतको निर्णयपछि पनि ‘प्रधानमन्त्रीको राजीनामा अप्रासंगिक’ भन्ने प्रस्ताव पारित गर्‍यो। बारम्बार यस्तो हुन लागेपछि मैले नेपाली कांग्रेसले आफ्नो सबैभन्दा बहुमूल्य पुँजी नैतिकता पनि गुमाउन लागेको अनुभव गरेँ र सर्वाधिकारसम्पन्न पार्टी सभापतिलाई बडो आग्रहपूर्वक सरकारको नेतृत्वमा परिवर्तन र पार्टीको केन्द्रदेखि जिल्लासम्मको संगठनमा आमूल परिवर्तन तथा संस्थागत विकास गर्न जोड दिएँ। स्पष्ट शब्दमा भनेँ, ‘यी दुईवटा काम भएनन् भने तीन वर्षपछि चुनावमा म कांग्रेसलाई साथ दिन सक्तिनँ।’ दुभाग्र्यको कुरा, उहाँले पनि मलाई अलमल्याउन मात्र खोज्नुभयो, मेरो कुरामा कान दिनुभएन। अनैतिकता सिद्धान्तहीनता र लक्ष्यहीनतातिर पार्टीको यात्रा जारी नै रह्यो।

नेपाली कांग्रेस र म

यो सब महसुस गर्दागर्दै पनि आफूले जन्माएको, हुर्काएको र सँगसँगै जिन्दगी बिताएको पार्टी भएकाले नेपाली कांग्रेससँग मेरो लगाव यथावत् नै थियो। म देखिरहेको थिएँ, जुन आदर्श र सिद्धान्त लिएर नेपाली कांग्रेस जन्मेको थियो, त्यसबाट ऊ बिल्कुल अलग भइसकेको छ। प्रजातन्त्रको संघर्षको प्रतीक बनेको जुन पार्टीका नाममा देशका लाखौँ तरुणहरूले आफूलाई समर्पित गरेका थिए, त्यो नेपाली कांग्रेसमा अब संघर्षको त्यो ऊर्जा र त्यो चाहना बाँकी छैन। सबैतिरबाट यसको परीक्षण गरेर म यो निष्कर्षमा पुगेको थिएँ कि नेपाली कांग्रेसले आफ्नो मिसन पूरा गरिसक्यो। अब यो श्रान्त र गलित पार्टी बन्यो, जसमा नयाँ प्राण सञ्चार हुन सक्तैन। तर पनि नेपाली कांग्रेससँग मेरो जीवनभरको अविच्छेद्य सम्बन्ध र हार्दिक लगावले गर्दा मैले आफ्नो जिन्दगी यसैसँग बिताउने विचार गरेको थिएँ। कांग्रेसबाट अलग्गिनु मेरा निम्ति अकल्पनीय कुरा थियो। त्यही भएर मैले भरतपुरमा भएको पार्टी महासमितिको बैठकमा भनेको थिएँ, ‘नेपाली कांग्रेसको जहाजमा प्वाँल परिसकेको छ र यदि समयमै त्यो प्वाँल नटाल्ने हो भने यो एक दिन डुब्छ। त्यो दुर्घटना हुने सम्भावना देख्तादेख्तै पनि जसरी एउटा इमानदार क्याप्टेन जहाज छाडेर भाग्दैन, त्यसरी नै म पनि जहाज छाड्दिनँ, त्यो जहाज सँगसँगै म आफू पनि जलसमाधि लिन्छु।’

मैले कांग्रेस किन छाडेँ ?

तर करिब एक वर्ष यताका घटनाक्रमहरू र राष्ट्रिय स्तरमा सञ्चालित निकृष्ट दुरभिसन्धिहरूलाई केलाउँदै जाँदा मैले आफूलाई बडो कठिन दोबाटोमा उभिएको पाएँ। त्यो दोबाटोमा एकातिर राष्ट्रियता, प्रजातन्त्र र सहिदका सपना निन्याउरो अनुहार लिएर उभिएका थिए भने अर्कातिर ती सबैलाई तहसनहस पार्न उद्यत समूह उभिएको थियो, जसका हातमा मेरो पार्टीको साइनबोर्ड, झन्डा, संगठन र मुलुकको सत्ता समेत थियो। त्यो समूह मैले जीवन उत्सर्ग गरिआएका सिद्धान्त र आदर्शको हत्या गर्न ती तमाम शक्ति र प्रवृत्तिलाई समावेश गरी खडा भएको थियो, जसका विरुद्ध म, मेरो पार्टी र तमाम नेपाली जनताले सुदीर्घ संघर्ष गरेका थियौँ। यस स्थितिमा विवेकशूल्य भावुकतामा बगेर नेपाली कांग्रेसको प्राणहीन साइनबोर्डको पछि लाग्नुभन्दा देश, जनता, प्रजातन्त्र र सहिदहरूप्रतिको आफ्नो कर्तव्य पूरा गर्न उचित ठानेर आफ्नो अन्तरात्माको आवाज बमोजिम मैले नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरेको हुँ। यद्यपि, हाल हाबी भएका सम्पूर्ण अप्रजातान्त्रिक शक्ति, प्रवृत्ति र विकृतिलाई निर्मूल गरेर आफ्नो सिद्धान्त, आदर्श र पुरानो संघर्षशील चरित्रलाई आत्मसात् गर्न सक्ने हो भने नेपाली कांग्रेस फेरि प्रजातन्त्रको मूलधार बन्न नसक्ने होइन, तर त्यसका लागि पनि यसको पूरै कायाकल्प गरिनुपर्छ र त्यसको पहिलो चरण हो– आसन्न मध्यावधि निर्वाचनमा गिरिजा प्रवृत्तिको सम्पूर्ण पराजय।

मध्यावधि निर्वाचन किन ?

मैले पहिले नै भनिसकेँ, यो मध्यावधि निर्वाचन प्रतिगामी तत्वहरूको खुला सार्थनका वैयक्तिक स्वार्थद्वारा पे्ररित भएर देशमाथि लादिएको हो, यो देशका लागि बिल्कुलै आवश्यक थिएन र जनआन्दोलनका शक्तिहरू यसको समर्थनमा थिएनन्। आफ्नो कुरा अझ स्पष्ट पार्न म यसको पृष्ठभूमि संक्षेपमा उल्लेख गर्न चाहन्छु। जब काठमाडौं क्षेत्र नं १ को उपनिर्वाचनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी सभापति कृष्णप्रसाद भट्टराईविरुद्ध सरकारी स्रोत र साधनको दुरूपयोग गरेर निर्लज्ज अन्तर्घात गरी उहाँलाई हराउनुभयो। त्यसबेला कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नत्र भने उहाँमाथि अनुशासनको कारबाही गर्नुपर्छ भन्ने जोडदार आवाज पार्टीभित्र उठ्यो।

यस मामिलामा निर्णय लिन केन्द्रीय कार्यसमितिको बैठक आठ–आठपल्ट बस्यो, तर कार्यसमितिको बहुमतले अनुशासनको कारबाहीका पक्षमा लिखित अभिमत प्रस्तुत गर्दागर्दै पनि त्यसले कुनै निर्णय लिन सकेन र निर्णयको सर्वाधिकार स्वयं पार्टी सभापतिलाई नै सुम्पिदियो। अन्तर्घातको प्रत्यक्ष अनुभव गर्ने ३६ जना सांसदहरू पार्टी अनुशासन कायम गर्न प्रधानमन्त्रीमाथि कारबाही गर्नैपर्छ भन्ने अडानमा थिए। यसैबीच संसद्को विशेष अधिवेशनमा प्रतिपक्षी पार्टीहरूले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए। सरकार गिराउने नियत भए उक्त सांसदहरूले त्यसबेला प्रस्तावको पक्षमा मत दिने थिए र सरकार गिर्ने थियो तर त्यो नियत नभएकाले उनीहरूले त्यसो गरेनन्। सरकार बच्यो तर त्यसको भोलिपल्टै प्रधानमन्त्रीले उक्त सांसदहरूलाई व्यंग्य गर्दै ‘मलाई हटाउने मन थियो भने तपाईंहरूले अविश्वासको प्रस्तावका पक्षमा किन भोट नदिएको ? ममाथि विश्वास प्रकट गरिसकेपछि अब कुन मुखले राजीनामाको कुरा गनुहुन्छ ?’ भनेर उनीहरूको विवेकलाई चुनौती दिनुभयो। यसैबीच पार्टी सभापतिले प्रधानमन्त्रीलाई क्षमादानको घोषणा गर्दै बालुवाटारमा ७४ जना सांसदहरूको बैठकमा भाग लिनुभयो र उक्त ३६ सांसदहरूसँग एक वचन नसोधी ‘पार्टी एकता भएको’ घोषणा गरेर उनीहरूको विवेकमाथि अर्को प्रहार गर्नुभयो। 

यसबाट मर्माहित भएर प्रधानमन्त्रीलाई अलिकति शिक्षा दिने उद्देश्यले मात्र ३६ जना सांसदहरू प्रधानमन्त्री तथा पार्टी सभापति दुवैलाई उहाँहरूले आफ्नो वचन निर्धारित समयभित्र पूरा नगरेमा अनुपस्थित रहने पूर्वसूचना दिँदै सरकारी नीति तथा कार्यक्रमको घोषणासम्बन्धी धन्यवाद प्रस्ताव पारित नहुँदैमा प्रतिनिधिसभा भंग गर्नुपर्ने कुनै कारण थिएन, किनभने सरकारले राखेका त्यस कोटिका थुप्रै प्रस्ताव र विधेयकहरू पहिले–पहिले पनि यस्तै कारणले पारित भएका थिएनन्। हाम्रा संविधानविद्हरू र अधिकांश संविधान निर्माताले समेत यस्तै राय व्यक्त गरेका छन्। तर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनिरहेका गिरिजाप्रसादले आफ्नो पार्टीसम्मलाई सूचना नदिई त्यत्तिकैमा प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरिदिनुभयो, जब कि पार्टीले मध्यावधि निर्वाचन असान्दर्भिक हो भन्ने प्रस्ताव पहिले नै पारित गरिसकेको थियो। 

यसरी सम्पूर्ण लाज, शरम नैतिकतालाई तिलाञ्जलि दिँदै संसद्लाई आफ्नो हातको खेलौना सम्झेर मनपरी किसिमले भंग गराउनाको वास्तविक कारण चाहिँ केही दिनभित्रै संसद्मा प्रस्तुत थियो, किनभने उक्त प्रस्ताव अवश्य पारित हुनेछ र त्यसो भएपछि आफ्नो राजीतिक जीवन सदाका लागि समाप्त हुनेछ भन्ने उहाँले राम्ररी बुझ्नुभएको थियो। गिरिजाप्रसादको सत्तालोलुपताबाहेक यो महँगो मध्यावधि निर्वाचनको अरू कुनै कारण छैन। एउटा व्यक्तिको कुर्सीमोहका निम्ति जनता र राष्ट्रले यत्रो दुःख पाउनु कहाँसम्म जायज हो ? यो अक्षम्य अपराधका निम्ति सचेत नेपाली जनताले गिरिजा समूहलाई कसरी माफ देला ? आफ्नो पार्टीको बहुमत छँदाछँदै संसद् भंग गरेर सरकार गुमाउनेहरू कुन मुखले जनतासामु गएर भोट मागिरहेछन् ? अराजकता र अस्थिरताका प्रतिनिधिहरूले कुन मुखले स्थिरताको कुरा गरिरहेछन् ? जनताले त्यस्तालाई किन भोट दिने ? फेरि ६ महिना, १ वर्षपछि अर्को मध्यावधि चुनाव बेहोर्ने ?  

तगारो हटाऔँ  

म अहिले जीवनको अन्तिम चरणमा पुगेको छु। आफ्नो जीवनमा पीडा–यातना, संघर्ष–क्रान्ति, सफलता–असफलता, मान–सम्मान, पद–पुरस्कार आदिका यावत् आरोह–अवरोहहरू मैले पार गरिसकेको छु, र ती कुनै पनि कुराप्रति मोह अथवा रागद्वेष ममा बाँकी छैन। अब म कुनै पार्टीको घेरामा बाँधिएको पनि छैन। राष्ट्रियता र प्रजातन्त्र नै मेरो एक मात्र स्वार्थ रहेको छ। र, जनआन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक क्रान्तिद्वारा नेपालको भविष्य समुज्ज्वल तुल्याउने प्रक्रिया सुनिश्चित गर्नु र सहिदका सपनालाई मूर्तरूप दिनु मात्र मेरो जीवनको अन्तिम लक्ष्य बनेको छ। यो कार्य तपाईंहरू सबैको सहयोग एवं सक्रिय समर्थनविना पूरा हुन सक्तैन र मलाई पूर्ण विश्वास छ, त्यस्तो समर्थन तथा सहयोग सदाझैं मलाई प्राप्त हुने नै छ। यस परिपे्रक्ष्यमा हाम्रो पहिलो कर्तव्य यस लक्ष्यको बाटोमा सबैभन्दा ठूलो तगारोका रूपमा रहेको गिरिजा प्रवृत्तिलाई यो मध्यावधि निर्वाचनमा निर्मूल पार्नु नै हो। गिरिजा प्रवृत्तिलाई परास्त गर्ने मेरो आह्वानका आधारमा देशभरिबाट विद्रोही उम्मेदवारका रूपमा उठेका सम्पूर्ण निष्ठावान कांग्रेसीहरूलाई मेरो नैतिक समर्थन रहेको छ। उहाँहरूलाई मैले मनसा, वाचा, कर्मणा सहयोग गर्नुपर्ने हो, तर शारीरिक बाध्यताले गर्दा मन र वचनले मात्र सहयोग गर्न सक्ने अवस्थामा छु। भौतिक स्रोत तथा साधनको न्यूनताले गर्दा उहाँहरूलाई यस्तो सहयोग गर्न सक्ने अवस्थामा समेत म छैन र यो अवस्थाप्रति अत्यन्त दुःखी पनि छु। 

तर पनि समयको क्रममा अत्यन्त जटिल परिस्थितिहरूका बीच पनि विभिन्न तानाशाही प्रवृत्तिहरूलाई परास्त गर्दै आएका वीर एवं विवेकी नेपाली जनताले परास्त गर्नेछन् भन्ने मेरो विश्वास छ र तपाईंहरूमा मेरो आह्वान पनि यही हो। म तपाईंहरूलाई हार्दिक आह्वान गर्दछु, नेपाली कांग्रेसको आदर्श स्थापना गर्न अघि सरेका, गिरिजा प्रवृत्ति विरोधी इमानदार कांग्रेसी उम्मेदवारहरू र पार्टी आदर्शप्रति निष्ठावान् एवं नैतिक विद्रोही कांग्रेसीहरूलाई भोट दिएर अत्यधिक बहुमतले विजयी गराउनुहोस्। त्यस्ता उम्मेदवारहरू नभएको ठाउँमा जनआन्दोलनको मूलधारमा सम्मिलित रहेका र त्यसको मर्म एवं भावनासँग तादाम्य राख्ने उम्मेदवारहरूलाई भोट दिनुहोस्। अप्रजातान्त्रिक, अयोग्य एवं भ्रष्टाचारी गिरिजा प्रवृत्तिलाई सम्पूर्णतः परास्त गर्नुहोस् र जनआन्दोलनकारी शक्तिहरूले सरकार बनाउने वातावरण सुनिश्चित पार्नुहोस्।  

गिरिजा प्रवृत्तिलाई हराऔँ, राष्ट्रियता र प्रजातन्त्र जोगाऔँ, देशबाट गरिबी हटाऔँ।

जय नेपाल !

खुमलटार, ललितपुर

२०५१/७/१४/२

(तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेको परिप्रेक्ष्यमा सर्वमान्य नेता गणेशमान सिंहद्वारा प्रसारित यो वक्तव्य आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेको बेला पनि सान्दर्भिक देखिएकाले प्रकाशित गरिएको।)

प्रकाशित: ३ माघ २०७७ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App