१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र त्यसका लागि आफू सामना गर्न तयार रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। ‘उहाँहरूले अविश्वासको प्रस्ताव जुनसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसका लागि म तयार छु,’ दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने, ‘केन्द्रमा र अरू प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्नेछैन, मिलेर जानुपर्छ। अरू प्रदेशका लागि पनि नमुना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ।’  

साथै उनले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलको नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। अगुवा कार्यकर्ता भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङले झ्यालबाट आउनेजाने गर्नेहरू पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे।

साथै उनले टाउको गनेर बहुमत र अल्पमतको कुरामा नअल्झन नेताकार्यकर्तालाई आग्रह गरे। विधानअनुसार चलेको पार्टीलाई अल्पमत र बहुमतका आधारमा चलाउन नहुने उनको तर्क छ। ‘विकास र समृद्धिको नारा लिएर अघि बढ्दा केपी शर्मा ओलीको उचाइ बढेको देखेर जलेका माधव नेपाल र प्रचण्ड (पुष्पकमल दाहाल) हरूले कहिल्यै पनि प्रधानमन्त्री हुन नपाउने डरले जालझेल र षड्यन्त्र गरी हटाउन खोजेका हुन्,’ उनले भने। शनिबार ओली पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्न मुख्यमन्त्री गुरुङ गोरखा आएका हुन्।

प्रकाशित: १९ पुस २०७७ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App