७ वैशाख २०८१ शुक्रबार
राजनीति

वैद्यको विज्ञप्ति : ओलीको कदम फासीवादी

मोहन वैद्य नेतृत्वको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फासीवादी भएको आरोप लगाएको छ।  

यही पुस १४ गते सम्पन्न पार्टीको स्थायी समितिको बैठकले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फाँसीवादी कदम भएको ठहर गरेको हो।  

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले बिहीबार विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन्।  

विज्ञप्तिमा लेखिएको छ- ‘यस संकटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, संघीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ।’

यस्तो छ विज्ञप्तिकाे पूर्ण पाठ : 

१४ पौष २०७७ मा सम्पन्न स्थायी समितिको बैठकमा यही पौष ५ गते गरिएको संसद् विघटन र मध्यावधि निर्वाचनसम्बन्धी घोषणबारे आवश्यक छलफल गरी गरिएको निर्णय प्रेस–वक्तव्यमार्फत निम्नानुसार सार्वजनिक गरिएको छ :

१. प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद् विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो। साथै यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम पनि हो ।

२. वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन। यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ।

३. आज देशमा आन्तरिक तथा बाह्य रूपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको चलखेल तीव्र रूपमा बढ्दै गएको छ। देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गम्भीर खतरा उत्पन्न भएको छ। यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित विशेष अनुरोध गर्दछ ।  

मिति : १६ पुस २०७७ 

प्रकाशित: १६ पुस २०७७ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App