गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुमतको सरकार हुँदा पहिले पनि संसद विघटनका अभ्यास हुने गरेको बताएका छन्।
आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौँ संस्करणअन्तर्गत पोखरामा बोल्दै उनले २०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको परिस्थिति अहिले नेकपा सरकारले भोग्नुपरेको उनले बताए। ‘हामीलाई थाहा छ, नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी गर्योह, हामीलाई मान गरेन भनेर विरोध गरे। गिरिजाको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो। त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो।’ केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले बताए। भने, ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो युनिभर्सल ट्रुथ हो।’
पार्टीको असहयोगपछि जनतामा जानु असंवैधानिक नभएको र यो लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ। पार्टीभित्रको अराजक व्यक्तिले काम गर्न नदिएको कारणले उनीहरूलाई कारबाही गर्न र को ठीक, को बेठीक छुट्याउन जनतालाई अधिकार दिएको बताए। गुरुङका अनुसार लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता हो।
गुरुङले वैशाखमा चुनाव हुने बताए। संसद् विघटन भइसकेपछि अदालतको निर्णय कुर्ने र त्यसपछि जनताले के निर्णय दिन्छन्, त्यही मान्नु लोकतान्त्रिक अभ्यास हुने उनले बताए। छलफलमा बुहमतको सरकार असफल हुनुको कारणबारे बहस गरिएको थियो। प्रतिपक्षको अवरोधभन्दा पनि आफ्नै नेता र पार्टीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको गुरुङको भनाइ छ। पहिला झलनाथ खानालको नेतृत्वमा सरकार गठन भएको समयमा भएको असफलताका लागि खनाल नै जिम्मेवार भएको उनले संकेत गरे। ‘केको मुखमा के अटाएन भनेको जस्तै हामीले हारेको मान्छेलाई मन्त्री बनाएका थियौँ,’ उनले भने।
केन्द्रमा प्रतिनिधिसभा विघटन भएपछि त्यसको प्रभाव विभिन्न प्रदेशमा देखिएको बेलामा मुख्यमन्त्री गुरुङले भने भर्खर संघीयता आएको महसुस गरेको अभिव्यक्ति गरेका छन्। संविधान जारी भएपछि अहिले लागू गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उनले बताए। ‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो। हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उनले भने, ‘मेरो त अझै पनि गुनासो छ।’
पछिल्लो समय नेकपामा विवाद भएपछि पार्टी दुई खेमामा विभाजित भएको छ। केपी शर्मा ओली एकतर्फ र प्रचण्ड–नेपाल खेमा एकतर्फ हुँदा भएपछि यसको असर प्रदेशहरूमा पनि देखिएको छ। वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दायर भइसकेको छ। तर गण्डकी प्रदेशमा अहिलेसम्म विवादको अवस्था देखिएको छैन। मुख्यमन्त्री गुरुङको स्थान सुरक्षित भएको बताइन्छ। अरु प्रदेशमा विवाद भइरहेको अवस्थामा गण्डकी प्रदेशमा मुख्यमन्त्रीले भने बल्ल संघीयता आएको जस्तो आफूलाई भान भएको बताएका छन्।
पार्टी केन्द्रमा विभाजित भएको अवस्थालाई व्याख्या गर्दै उनले भने, ‘कानुनी वैधानिक रूपमा पार्टी एक छ तर भावनात्मक रुपमा, क्रियाकलापलाई आधार मान्ने हो भने पार्टी फुटिसक्यो। मुलुक, देशका अन्य प्रदेश फुटेर क्षतविक्षत भएको अवस्थामा गण्डकी शान्त छ,’ उनले भने, ‘हामी मिल्नेतीर रुचाउँछौँ, विभाजनको आगो आएको हो, तर देवताले जोगाउँछ।’
माक्सवाद लेलिनवादमा जनता भगवान् हो भन्दै आफूलाई गण्डकी प्रदेशका नागरिकको साथ भएको दाबी गरे। आफ्नो प्रदेश सरकारमा अर्को खेमाका दुई मन्त्रीहरू भएको र उनीहरूले राजीनामा दिए भने मात्रै अर्को विकल्प सोच्न बाध्य हुने उनको भनाइ छ।
प्रकाशित: १५ पुस २०७७ ०९:१३ बुधबार