१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आत्मालोचनासहित समयमै सच्चिन प्रधानमन्त्रीलाई योगेश भट्टराईको सुझाव

प्रेस संगठन नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा नेता योगेश भट्टराई। तस्बिर : नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचनासहित समयमै सच्चिन सुझाव दिएका छन्। प्रेस संगठन नेपाल बाँकेले सोमबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा पुर्वमन्त्री भट्टराईले संसद विघटनको घटनाबाट कुनैपनि नेपाली खुसी नभएको भन्दै प्रधानमन्त्री ओलीले आफुलाई सच्याउनुको विकल्प नभएको बताए।  

‘प्रधानमन्त्रीलाई आफ्नो गल्ती सच्याउन र आत्मालोचना गर्न हाम्रो पहिलो केन्द्रिय समिति बैठकले सुझाव दिइसकेको छ, म पनि उहाँलाई सुझाव दिन्छु, आफ्नो गल्ती सच्याएर आत्मालोचना गर्नुस्, सच्चिएर आउनुस्।’ प्रधानमन्त्री ओली सच्चिएर आएमा फेरीपनि पार्टी एकतामा जान सकिने उनको भनाई छ। ‘प्रधानमन्त्रीले आफ्नो अयोग्यतालाई संसदमा लगेर प्रतिनिधी सभा विघटन गर्ने र आफ्नो कमजोरीलाई ढाकाछोप गरी मुलुकलाई दुर्घटनातिर लैजाने काम गर्नुभयो, आफुले गर्न नसकेका दोष मुलुकमाथी लगेर थोपर्ने होइन,’ उनले भने ‘प्रधानमन्त्रीले आफुलाई काम गर्ने वातावरण भएन भनेर जुन आरोप लगाउनु भएको छ, त्यो सरासर गलत छ, कुनै ब्यक्तिको हुकुमबाट पार्टी चल्दैन।’  

पार्टीभित्रको समस्यालाई पार्टीभित्रै व्यवस्थापन गर्नुपर्नेमा ओलीले संसद विघटन गरेको पुर्वमन्त्री भट्टराईको जिकिर छ। संसद विघटन सामान्य घटना नभएको तर्क गर्दै उनले यो एउटा ठुलो ऐतिहासिक भुल र दुर्घटना भएको दाबी गरे। २०४६ सालपछि संसदिय ब्यवस्थाको अभ्यास सुरु भएको र त्यसयता ३ पटक संसद विघटन भएको इतिहास रहेको स्मरण गर्दै भट्टराईले २०७२ सालको संविधानमा संसद विघटनलाई प्रधानमन्त्रीको स्वविवेकीय अधिकारबाट हटाइसकेको जिकिर गरे।  

‘यस्तो ब्यवस्थाले कुनैपनि बेलामा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्ने खतरा हुन्छ र यसले मुलुकलाई फाईदा गर्दैन भनेर थुप्रै दल सहमत भयौ र अहिलेको संविधानले त्यो अधिकारलाई कटौती गरिसकेको छ,’ उनले भने। प्रधानमन्त्री ओलीले ल्याएको भुकम्पको पराकम्पन अब सबै ठाउँमा आउने भट्टराईले जोड दिए। पत्रकारको जिज्ञासामा उनले प्रदेश सरकारमा पनि पराकम्पन सुरु भइसकेको बताए। उनले भने, ‘हामी कसैसँग टासिदैनौं, प्रदेशमा आफै सरकार बनाउँछौं, आवश्यकता अनुसार अरु सम्भावना पनि खोज्छौं।’  

सर्बोच्च अदालत, निर्वाचन आयोग जस्ता निकाय प्रधानमन्त्रीको छायाँ नभएको तर्क गर्दै उनले एकले अर्काेलाई हस्तक्षेप गर्न नमिल्ने बताए। ‘यि निकायले निर्णय गर्दा संविधान र ऐन÷कानुनलाई हेरेर गर्ने हो,’ उनले थपे। नेता भट्टराई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड–नेपाल समुहको भेलालाई सम्बोधन गर्न आइतबार नेपालगन्ज आएका थिए। उनी सोबार बिहान काठमाडौं प्रस्थान गरेका छन्।  

प्रकाशित: १३ पुस २०७७ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App