८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकी प्रदेश : अविश्वास प्रस्ताव ल्याउने कि समर्थन फिर्ता ? छलफलमा प्रचण्ड–माधव समूह

गण्डकी प्रदेश सरकार ढलाउन नेकपाको प्रचण्ड–माधव समूह छलफलमा जुटेको छ। नेकपाको ओली समूह हावी भएको गण्डकी प्रदेश सभामा केपी शर्मा ओली निकट पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलाउन प्रचण्ड–माधव समूहले छलफललाई सघन बनाएको हो। नेकपाको प्रचण्ड–माधव समूह सकभर अविश्वास प्रस्ताव ल्याएर गुरुङ नेतृत्वको सरकार ढलाउन चाहन्छ। तर अविश्वासको प्रस्ताव ल्याउन एक तिहाई मत सुरक्षित नभए समर्थन फिर्ता लिने तयारीमा सो समूह रहेको छ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपाका ४० सदस्य रहेका छन्। जसमध्ये प्रचण्ड–माधव समूहका १३ जना छन्। पूर्व माओवादीको १२ जना र माधव समूहका १ जनासहित १३ जना प्रचण्ड–माधव समूहमा रहँदा ओली पक्षमा २७ सांसद छन्। अविश्वासको प्रस्ताव ल्याउन एक तिहाई सदस्य अर्थात ६० सदस्य रहेको प्रदेश सभामा २० सदस्य अनिवार्य चाहिने भएपछि अविश्वासको प्रस्ताव ल्याउने कि समर्थन मात्र फिर्ता लिने भन्नेमा प्रचण्ड–माधव समूह अन्यौलमा छ।

अविश्वासको प्रस्ताव ल्याउन चाहिने एक तिहाई (२० सांसद) पुर्यामउन प्रचण्ड–माधव समूहलाई कांग्रेस बिना असम्भव छ। किनभने १३ सदस्य रहेको प्रचण्ड–माधव समूहमा जनमोर्चा ३ र जसपाका २ मिसिदापनि १८ मात्र हुन्छ। त्यसैले अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेसको सहयोग अनिवार्य चाहिन्छ। यद्वपी प्रचण्ड–माधव समूह ओली खेमाका ३/४ जना सांसद चोरेर भएपनि वर्तमान प्रदेश सरकार ढलाउन प्रयासरत रहेको श्रोत बताउँछ।

कांग्रेसपनि अविश्वासको प्रस्ताव ल्याउन सकारात्मक नै छ। तर त्यसपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा ठोस सहमति नभएसम्म अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने पक्षमा कांग्रेस छैन। कांग्रेससँग छलफल चलिरहेको र एक/दुई दिनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कि समर्थन फिर्ता लिने भन्ने निर्णय हुने प्रचण्ड–माधव पक्षीय प्रदेश सांसद दीपक कोइरालाले बताए। ‘छलफल चलिरहेको छ,‘कांग्रेस माने अविश्वासको प्रस्ताव दर्ता हुन्छ, नभए समर्थन फिर्ता लिन्छौं’–उनले भने। ‘अविश्वासको प्रस्ताव आएपनि वा समर्थन फिर्ता लिएपनि आखिर मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलाउने हो र यो सरकार ढल्छ’–उनले थपे।

तर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली भने कांग्रेस अहिले पर्ख र हेरको रणनीतिमा रहेको बताउँछन्। नेकपा फुट्छ कि फुट्दैन भन्नेमै आशंका रहेको भन्दै,‘उनले भने,‘नेकपा प्रचण्ड–माधव समूह र जनमोर्चा कसरी अगाडि बढ्छ त्यसपछि मात्रै हामी निर्णय गर्छौं।’ उनले नेकपा औपचारिक रुपमा नफुटेसम्म कांग्रेसले केहिपनि निर्णय नगर्ने बताउँदै उनले अगाडि भने,‘मुभ गरिसकेपछि सफल हुनुपर्योप, त्यसैले कांग्रेस अहिल्यै हतार गर्ने पक्षमा छैन।’ पार्टी फुटिसकेपछि जसै विश्वासको मत लिनुपर्ने भएकाले अहिले हतार गरिहाल्नुपर्ने अवस्थापनि नरहेको उनको भनाई छ।

प्रचण्ड–माधव समूहले समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्ने भएकाले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यतिबेला उनलाई साना २ दल वा कांग्रेस कसैले समर्थन आवश्यक पर्छ। तर कांग्रेस र जसपा ओली सरकारको संसद विघटन गर्ने कदमबिरुद्ध सडक संघर्षमा छ। जनमोर्चाले औपचारिक रुपमा निर्णय नगरेपनि जनमोर्चाका नेता चित्रबहादुर केसीले ओलीको कदमको बिरोध गर्दै आएका छन्। त्यसैलेपनि मुख्यमन्त्री गुरुङबिरुद्ध बहुमत पुग्ने र सरकार ढल्ने विश्लेषण गरिन्छ।

 

 

प्रकाशित: १२ पुस २०७७ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App