१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशः नेकपामा सांसद तान्ने होडबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ। यस प्रदेशमा ओली र दाहाल–नेपाल पक्षका स्पष्ट गुट छन्। प्रदेशका प्रभावशाली नेता लेखराज भट्टले दाहालको साथ छाडेपछि यहाँको राजनीति पेचिलो बनेको छ। राजनीतिक समीकरण यस्तै हुने भनी अहिल्यै यकिन गर्न सकिने अवस्था छैन। भट्ट ओलीतिर लागेकै कारण कैयौं नेता–कार्यकर्ता दुवैतिर नखुलेर मौन बसेका छन्। मौन बसेका र अन्योलमा रहेका नेता–कार्यकर्तालाई मात्र नभई प्रदेश सांसदलाई पनि आफूतिर तान्न दुवै पक्ष सक्रिय छन्।

सुदूरपश्चिममा प्रदेशसभामा नेकपाका ३९ सदस्य छन्। तीमध्ये पूर्वएमालेबाट २५ र पूर्वमाओवादी केन्द्रबाट १४ जना छन्। ओली पक्षका तीनजनाबाहेक माओवादी केन्द्रबाट सदस्य भएका सबैजना आफूतिर भएको भन्दै दाहाल–नेपाल पक्षका नेताले दाबी गरिरहेका बेला ओली पक्षतिर सांसदको संख्या बढ्दै गएकाले सो पक्ष उत्साहित बनेको छ। ३९ मध्ये १३ जना आफूतिर खुलिसकेको ओली पक्षको दाबी छ। ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनीत भएका पूर्वमाओवादी केन्द्रतर्फका सांसद महेशदत्त जोशीले आफूहरूको पक्षमा १३ जना पुगिसकेको बताए।

पठानसिंह बोहरा, नेपालु चौधरी र रतन थापा ओली पक्षका सांसद हुन्। यसैगरी लीलाधर भट्ट पनि ओली पक्षतर्फै खुलेका छन्। पूर्वमाओवादी केन्द्र खेमाका सांसदहरू पनि ओली पक्षतर्फ खुल्ने क्रम बढेको छ। नेकपाका केही सांसद भने मौन छन्।  

‘हामीतर्फ १३ जना पुगिसकेका छन्, १५ जना पुग्ने सम्भावना छ,’ ओली पक्षका एक केन्द्रीय सदस्यले भने, ‘प्रदेशसभामा दाहाल–नेपाल पक्ष अल्पमतमा परेको छ।’

सरकार फेरबदलको चर्चा

ओलीतर्फ १३ सदस्य हुनेबित्तिकै ५३ सदस्य रहेको प्रदेशसभामा दाहाल–नेपाल पक्षका २६ सदस्य मात्रै बाँकी रहन्छन्। १२ सदस्य नेपाली कांग्रेसका र दुई राजपाका छन्। ओली पक्षमा १३ सदस्य पुगे प्रदेश सरकार फेरबदल हुन सक्ने चर्चा सुरु भएको छ। दाहाल–नेपाल र ओली पक्ष दुवैले कांग्रेससँग सहकार्य गरेर सरकार चलाउनेबारे छलफल सुरु गरेका छन्। दाहाल–नेपाल पक्षले भने ३२ जना आफूसँग रहेको र सातजना मात्र ओली पक्षतर्फ रहेको दाबी गरेको छ।

मुख्यमन्त्री भट्ट सकसमा  

दाहाल–नेपाल पक्षमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाउनुपर्ने कुरा उनी पक्षका सांसदले उठाउन थालेका छन्। यसबाट मुख्यमन्त्रीको पद धरापमा परेको विश्लेषण गर्न थालिएको छ। केही सांसदले मुख्यमन्त्री बदल्नुपर्ने भनेर लबिङ थालेको एक सांसदले बताए। यो लबिङ मुख्यमन्त्री बदल्न हो वा फेरबदल हुने सरकारमा आफ्नो मन्त्री पद सुरक्षित गर्न हो भन्ने यकिन हुन सकेको छैन। ‘सरकार गठन हुँदा मन्त्री पद नपाएर असन्तुष्ट भएका केही सांसदले अब केही मन्त्री हटेर नयाँ थप हुने मन्त्रीका लागि बार्गेनिङ गर्न मुख्यमन्त्रीको विरोध गरेका हुन सक्छन् तर मुख्यमन्त्री नै बदल्नेगरी कसैले आवाज उठाएको छैन,’ मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले भने। काठमाडौंबाट फर्किर्नेबित्तिकै मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सांसदहरूसँग भेटघाट गरेको उनले बताए।  

आफूलाई मुख्यमन्त्री बनाउने लेखराज भट्टलाई छाडेर त्रिलोचन भट्ट दाहाल–नेपाल पक्षमा लागेका छन्। सुदूरपश्चिम सरकारमा पूर्वएमालेबाट चार र पूर्वमाओवादी केन्द्रबाट तीन मन्त्री छन्। प्रदेश सरकारको सात सदस्यीय मन्त्रिमण्डलमा भौतिक विकास तथा योजनामन्त्री पठानसिंह बोहरा ओली पक्षधर हुन्। लेखराज नजिक मानिने आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहरा ओली पक्षमा उभिएका छन्। माओवादी केन्द्रको कोटाबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी दाहाल–नेपाल पक्षमा लागेकी छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट नेपाल पक्षमा लागेका छन्। यसरी सातजनामा मुख्यमन्त्रीसहित पाँचजना दाहाल–नेपाल पक्षमा र दुईजना ओली पक्षमा छन्।  

यसैगरी सुदूरपश्चिमका ठूला नेताहरूमा भीम रावल, प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, उर्वादत्त पन्त दाहाल नेपाल पक्षमा छन् भने स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश कमिटी अध्यक्ष कर्ण थापा, केन्द्रीय सदस्य महेश्वर पाठक ओली पक्षमा छन्। यसैगरी झपट रावल, बिना मगर, डा. दीपकप्रकाश भट्ट दाहाल–नेपाल पक्षमा छन् भने प्रेम आले, गणेश ठगुन्ना, दामोदर भण्डारी, गौरीशंकर थारू, लालबहादुर थापा, नारदमुनि राना, नरबहादुर धामी, निरु पाललगायत नेता ओली पक्षमा छन्।

प्रकाशित: १२ पुस २०७७ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App