१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘अनुचित सम्झौताभन्दा जनतासमक्ष जान उचित ठानें’

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएकाले नयाँ जनादेशमा जाने निर्णयमा आफू पुगेको बताएका छन्। प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दी गरिएपछि सार्वभौम जनतासमक्ष जानुबाहेक आफूसँग अन्य विकल्प नभएको स्पष्ट पारे।

‘निर्वाचनपश्चात् राष्ट्रिय राजनीतिलाई जनअपेक्षा अनुरूप अगाडि बढ्न नदिने विभिन्न विसंगत गतिविधि सुरु भए,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘सुरुमै सरकार गठनमा विलम्ब गराउने र जनादेशविपरीत अन्त्यहीन बार्गेनिङ र दबाबमा राष्ट्रिय राजनीतिलाई अल्झाउने काम भयो।’

पार्टीका अन्य नेताहरूप्रति निकै आक्रामक र असन्तुष्ट देखिएका ओलीले कतिपय साथीहरूका आँखा निरन्तर पद, प्रतिष्ठा र पदसोपानमा मात्रै केन्द्रित भएको आरोप लगाए। ‘आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा पूरा

गर्न नीति निर्माण, राज्य सञ्चालन र जनपरिचालनमा केन्द्रित हुनुपर्ने नेकपालाई केही नेताबाट आफ्ना असन्तुष्टि, कुण्ठा र आत्मकेन्द्रित सोचहरूको बन्धक बनाउने काम भयो,’ उनले भने।

उनले आफूले पाँच वर्ष सरकार चलाउने र पार्टी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने कुरा गर्दा पार्टीभित्रैबाट नमानिएको बताए। ‘महाधिवेशनका लागि साथीहरूले चार महिना पनि कुर्न सक्नुभएन,’ ओलीले भने, ‘उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्न अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोपपत्र पेस गर्नुभयो।’

पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिईकन पार्टीभित्रैबाट संसद् अधिवेशन बोलाउन हस्ताक्षर संकलन गरेर संविधानविपरीत, प्रणाली र पद्धतिमाथि गम्भीर आघात पुग्ने काम गरेको बताउँदै ओलीले भने्, ‘यसपछि नै पार्टीभित्रको अवस्था निकै गम्भीर र संकटपूर्ण बन्न पुगेको हो।’

सरकारविरुद्ध घेराबन्दी र दाउपेच गर्नुपर्ने जायज कारण के थियो भन्ने प्रश्न गर्दै ओलीले आफूले नेपालको वास्तविक भूमिलाई समेटेर नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय छवि र भूमिका आकर्षण गरेको दाबी गरे। ‘चीनसँग पारवहन यातायात प्रोटोकलमा हस्ताक्षर भएको छ। नेपालको अन्तर्राष्ट्रिय छवि, भूमिका र आकर्षण बढेको छ,’ उनले भने, ‘यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नुपर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गम्भीर षड्यन्त्र लुकेको स्पष्ट छैन र ?’

प्रतिकूलता हुँदाहुँदै पनि नेपालले गएको तीन वर्षमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्दै ओलीले पृथकतावादी गतिविधिलाई समाधान गरिएको बताए। ‘मुलुकले विकास, सुशासन, समृद्धि र स्थायित्वतिर सकारात्मक कदम चालिरहेको यस स्थितिबाट पार्टी खुसी हुनुपर्ने होइन ? सबै मिलेर यसलाई थप गति दिनुपर्ने होइन र ?’ उनले भने।

आफूले प्रतिपक्षी दलभन्दा बढी आफ्नै पार्टीभित्रबाट असहयोग र विरोधको सामना गर्नुपरेको उल्लेख गर्र्दै ओलीले लोकतान्त्रिक बाटो छाडेर सधैंभरि सत्ता, सधैंभरि सरकार र सधैंभरि पदीय भागबण्डाको चक्रब्युमा राजनीतिलाई बन्दी बनाउने काम भएको बताए।

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन आफ्नो रुचि या छनोटको विषय नभएको स्पष्ट पार्दै ओलीले मुलुकलाई अकर्मण्य अवस्थामा राख्नु उचित नभएकाले नयाँ जनादेशमा जाने निर्णय लिएको बताए।

प्रकाशित: ७ पुस २०७७ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App