१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश लोकसेवाले विज्ञापनमार्फत माग्यो कर्मचारी

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ। आयोगले बिहीबार राजपत्रांकित तृतीय श्रेणी र सातौं तह नेपाल इन्जिनियरिङ सेवातर्फ प्राविधिक पदमा कर्मचारी माग गरेको छ।

आयोगले सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३७ सिटमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका उम्मेदवारले आगामी पुस २२ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

गत असोज १२ गते प्रदेश २ सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को उपदफा (१) बमोजिम राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको नेपाल इन्जिनियरिङ सेवातर्फका प्राविधिक पदका लागि प्रदेश २ लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको हो। प्रदेश सरकारले गत असोजमा संघीय ऐनअनुसार प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना गर्न अनुमति दिएको थियो।

प्रदेश सरकारले लोकसेवा आयोगको संगठन संरचना र व्यवस्थापन‘ओ एन्ड एम’ पारित गरी आयोगको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्र यादवलाई जिम्मेवारी तोकेको छ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया अगाडि बढाउन आयोगलाई अनुमति दिएको हो।

 

 

प्रकाशित: २५ मंसिर २०७७ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App