१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘जीवनरक्षक खोप मुनाफाको माध्यम बन्नुहुँदैन’

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्। कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै उनले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रूपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले खोपसम्बन्धी सुखद समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रूपमा देखापरेको उल्लेख गरे। धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सले गरेको पहलकदमीको सराहना गर्दै उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुन नसक्ने स्पष्ट पारे।

१३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै उनले महामारीको त्रासदी अकथनीय रहेको बताए। ‘विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन, यो त राष्ट्रहरूबीच आपसी रूपमा तथा आन्तरिक रूपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असामाञ्जस्यविरुद्ध जागरुक हुन बजेको घन्टी हो,’ उनले भने। सबै एउटै प्रकोपको भूमरीमा रहेकाले कसैलाई आफू धेरै सुरक्षित छु भन्ने लागे पनि त्यस्तो नभएको उनको भनाइ थियो। ‘हामी सबैजना खतरामा छौं। महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री। हामीलाई मन परोस् वा नपरोस्, हामी एउटै भाग्यका हिस्सेदार हौं।’

उनले महामारीलाई अन्तर्राष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाका रूपमा प्रयोग गरिन नहुनेमा पनि जोड दिए। विशेष परिस्थितिमा रहेका राष्ट्रहरूलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत् सहयोगको खाँचो रहेको पनि उनले औंल्याए। वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गरेको बताउँदै उनले मानव सभ्यताले सधै विनाशकारी चुनौती सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको बताए। ओलीले अन्य मुलुकजस्तै नेपाल पनि यो स्तरको संकटका लागि तयार नभएको तर भाइरस नियन्त्रणका लागि उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरूको परिचालन गरेको जानकारी दिए।

प्रकाशित: २० मंसिर २०७७ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App