५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदको भूमिका विधि निर्माणमा देखिनुपर्छ: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय तथा प्रदेश सांसदहरुको भूमिका विधि निर्माणमा देखिनुपर्ने बताएका छन्।  

संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको भूमिका निर्वाचन क्षेत्रमा कति पैसा लग्यो भन्नेमा भन्दा विधि निर्माणमा देखिनुपर्ने बताएका हुन्।

अहिले कुन सांसदले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट बाँड्यो भन्ने जस्ता विषयले सांसदहरुको भूमिका मापन गर्नु गलत परिपाटी भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका कामहरु राज्यका विभिन्न निकायहरुमार्फत नै हुने बताए।

प्रदेशका सभामुख तथा उपसभामुखहरुले छलफलमा उठाएका विषय बारे बोल्दै अध्यक्ष तिमिल्सिनाले संसदले रुलिङ गरेका विषयमा मन्त्री वा सरकारले जवाफ दिनैपर्ने बताए।

‘संसदले रुलिङ गरेका विषयहरुमा मन्त्री वा सरकारले जवाफ दिनुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने,‘संसदीय मूल्यमान्यता मान्छौं भने संसदले रुलिङ गरेका विषयमा सरकार जवाफदेही बन्नैपर्दछ। त्यो कानुनी व्यवस्था हो। यो हाम्रो क्षेत्र होइन भन्ने वा अरु कुनै बहानामा पन्छिन मिल्दैन।’  

संघीय संसद र प्रदेश सभाकाबीचमा आयोजना गरिने यस्ता अन्तरक्रियाले संसदसम्बन्धी थुप्रै समस्याहरु समाधान गर्न सकिने तिमिल्सिनाले बताए। उनले संसदले बनाएका कानुनको कार्यन्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्ने दायित्व पनि संसदकै भएको बताए।

प्रकाशित: १३ मंसिर २०७७ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App