१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालमा छिमेकी चासो बढ्दो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले सत्ता परिवर्तनसम्मका बहस भइरहेका बेला नेपालमा दुई छिमेकी मुलुक भारत र चीनको चासो बढेको छ। नेपाल र भारतबीच सीमा विवादका कारण सम्वादहीनताको अवस्थाबीच गत कात्तिक ५ मा गुप्तचर प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, भारतीय सेना प्रमुखको गत वर्ष नै तय भएको भ्रमण पनि अहिले हुनु र यही मंसिर ११ गते विदेश सचिव हर्षबद्र्धन श्रींगलाको भ्रमण तय हुनुले पनि नेपालमा भारतीय चासो बढ्दै गएको देखिन्छ। जबकी यसअघि दुई देशबीचको सीमा विवादका बारेमा छलफलका लागि नेपालले पटक पटक गरेको प्रस्तावलाई भारतले कोरोना महामारीको कारण देखाउँदै टार्दै आएको थियो।

परराष्ट्र मन्त्रालयले श्रींगलाको भ्रमण तालिकासमेत सार्वजनिक गरेको छ। श्रींगलाको भ्रमणलाई परराष्ट्र मन्त्रालयले भने दुई छिमेकी देशबीचको उच्च तहको भ्रमणको निरन्तरता भनेको छ। तर भारतबाट भइरहेका एक पछि अर्काे उच्चस्तरीय भ्रमणले नेपालमा भारतीय चासो बढ्ेको देखिने जानकारहरु बताउँछन्। कोरोनाका कारण दुई मुलुकबीच हवाई यातायातसमेत सञ्चालन नभइरहेका बेला भारतले गुप्तचर प्रमुखलाई विशेष विमानबाटै नेपाल पठाउनु र लगत्तै सेना प्रमुख र विदेश सचिवलाई पठाउनुले भारतीय चासो बढेको पुष्टि हुने कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन्।

नेपालमा भारतीय पक्षबाट महत्वपूर्ण भ्रमण हुन थालेपछि चिनियाँ पक्षबाट पनि नेपालमा महत्वपूर्ण भ्रमणको तयारी भइरहेको छ। चीनले मंसिर १४ गते रक्षामन्त्री वेई फेङहेलाई नेपाल पठाउने तयारी गर्दैछ। नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाठका अवसरमा चिनियाँ रक्षामन्त्री नेपाल आउने भनिएपनि यो भ्रमण नेपालमा चिनियाँ उपस्थिति दर्शाउनका लागि हुन लागेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन्। पछिल्लोसमय नेपालको सत्तारुढ दल नेकपा र सरकार समेत चीनसँग निकट हुँदै गइरहेको अवस्थामा भारतलगायत अमेरिका र पश्चिमा मुलुकहरुको चासो बढ्दै गइरहेका बेला चीनले रक्षा मन्त्रीलाई नेपाल पठाउन लागेको हो। उनी चिनियाँ स्टेट काउन्सिलर तथा चिनियाँ जनमुक्ति सेनाको पूर्व रकेटफोर्स कमाण्डरसमेत हुन्। उनी चिनियाँ राष्ट्रपति सी जिङफिङले अध्यक्षता गर्ने केन्द्रीय सैन्य आयोजकको मुख्य चार सदस्य मध्यका एक सदस्य हुन्। नेपालमा दक्षिणी छिमेकी मुलुक भारतको चासो बढ्दै गर्दा रक्षा मन्त्रीलाई पठाएर चीनले पनि नेपालप्रतिको आफ्नो चासो र उपस्थिति बलियो रहेको सन्देश दिन खोजिरहेको जानकारहरु बताउँछन्।

त्यसो त नेपालका लागि चिनियाँ राजदूतले पनि नेपालमा चिनिया उपस्थिति र चासोलाई पटक पटक दर्शाउँदै आएकी छिन्। सत्तारुढ नेकपाभित्र हुने विवाद मिलाउने र सक्रियता दर्शाउने क्रममा चिनियाँ राजदूत होउ याङछीले आलोचना समेत सहनु परेको छ। हालै पनि नेकपाभित्र विवाद चर्किरहका बेला उनले सोमबार नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेकी छिन्। पार्टी भित्रको विवाद बढ्दै गर्दा उनले गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेकी थिइन्। यसअघि पनि नेकपाभित्र विवाद चर्किरहेका बेला गत असारमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल, नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेट गरेर विवाद मत्थर पार्न भूमिका खेलेकी थिइन। पछिल्लो समय सत्तारुढ दलभित्रको किचलो र सत्ता परिवर्तनको बहससँगै छिमेकी मुलुकबाट प्राथमिकताका साथ हुन लागेका भ्रमणलाई चासोका साथ हेरिएको छ।

प्रकाशित: ९ मंसिर २०७७ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App