४ वैशाख २०८१ मंगलबार
राजनीति

नेकपा विवाद: गौतमको ढुलमुले चरित्रले तानातानमा थापा

ओली–देउवा भेटवार्ता

आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी गरे। ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन्। तर केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ।

तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई भेट्न खुमलटार बोलाएका थिए। दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखेका थिए। तर थापाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ। ‘पार्टी उपाध्यक्ष गौतमलाई बालुवाटार र खुमलटार आफ्नो पक्षमा पार्ने विषयमा आश्वस्त हुन नसक्दा खुमलटारले थापाको साथ खोजेको हो,’ स्रोतले भन्यो। नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका थापा कतै पनि खुलेर लागेका छैनन्।

‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष दाहालले उहाँलाई पार्टी दुई लाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ थापानिकट स्रोतले भन्यो, ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने, महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिले चाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो।’ दाहाल र थापाबीच प्रत्येक साता भेटघाट हुने भए पनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भयो।

दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने बताएको स्रोतको दाबी छ।

मंसिर ३ को सचिवालय बैठकमा ओलीले दाहालले राखेको राजनीतिक प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिँदै त्यसको जवाफका लागि समय मागेका थिए। त्यसपछि थापाले ‘प्रधानमन्त्रीलाई जवाफ लेख्न समय दिनुपर्छ’ भनेर एक वाक्य बोलेका थिए। त्यसपछि दाहाल–थापाबीच भेटघाट भएको थिएन। तर आइतबार बिहान खुमलटार बोलाइएपछि दाहाललाई भेट्न थापा गएका थिए। ‘वामदेव गौतमको कुनै भर छैन, कतिबेला के बोल्छन् थाहै छैन,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सचिवालय बैठकमा ओलीको विरोध गर्छन् तर बाहिर गएर म कुनै गुटमा छैन भनेर मलाई गुटबन्दी गरेको भन्ने आरोप लगाउँछन्, त्यसकारण तपाईं खुलेर यता लाग्नुस्।’

यसअघि दाहालले थापासँगको भेटमा उनलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेको तर उनले नमानेको बताएका थिए। तर थापाले दाहालको सो भनाइलाई पत्याएका थिएनन्। ‘आज (आइतबार) को भेटमा पनि दाहालले ईश्वर पोखरेलाई उपप्रधानमन्त्री बनाउँदा तपाईं (थापा) लाई पनि उपप्रधानमन्त्री बनाउनुपर्छ भनेर आफूले ओलीसँग भनेको भन्ने कुरा राख्नुभछ,’ थापानिकट स्रोतले भन्यो। स्रोतका अनुसार आइतबार बिहानको दाहाल–थापा भेटघाट भने एकातिर खुलेर लाग्नुप¥यो भन्ने नै थियो।

भदौ २६ को स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच चरम विवाद बढेका बेला थापाले पार्टी एकताका लागि भन्दै कात्तिक १६ गते चार बुँदे प्रस्ताव अघि सारेर दुवै अध्यक्षलाई भेटेका थिए। पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्यसमेत रहेका थापाले विवाद मिलाउन बालुवाटार र खुमलटार पुगेर आफ्नो चार बुँदे प्रस्ताव राखेका थिए। स्थायी कमिटीको निर्णय अक्षरशः पालना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नुपर्ने, स्थायी कमिटीको निर्णय पालना गर्नेभन्दा उल्लंघन गर्ने परिपाटी रोक्नुपर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षले दायित्व पूरा गर्नुपर्ने तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटीजस्ता बैठकबाट विवाद निरूपण गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि उनले दाहालसँग खासै राम्रोसँग भेटघाट र खुलेर कुराकानी गरेका थिएनन्। तर आइतबार भने उनले खुलेरै दुई अध्यक्ष मिल्नुपर्ने सुझाव दिएका थिए।

विवाद तलसम्म
नेकपाको विवाद तल्लो तहसम्म पुगेको छ। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुव्र्यवहारले यसको प्रस्ट संकेत गरेको छ। स्थायी कमिटी सदस्य एवं सांसद पाण्डेलाई आफ्नै नेता तथा कार्यकर्ताले दुव्र्यवहार गरेपछि दोषीमाथि कारबाहीको माग गर्दै शीर्ष नेताहरूले वक्तव्य जारी गर्नुपर्ने परिस्थिति आयो। पार्टीभित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला शनिबार चितवनमा नेकपा राप्ती नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी उनीमाथि प्रधानमन्त्री ओलीनिकट कार्यकर्ताले दुव्र्यवहार गरेका थिए। उनीमाथि प्रदेश मन्त्री र प्रदेश मुख्यमन्त्रीसँग निकट रहेका कार्यकर्ताले दुव्र्यवहार गरेका हुन्। उनीहरूलाई चितवन पार्टी कमिटीले कारबाहीको सिफारिससमेत गरेको छ। ओली पक्षका नेताहरू ती कार्यकर्ताको बचाउमा लागेका छन्।

स्थायी कमिटी सदस्य पाण्डेले मदन भण्डारी फाउन्डेसनमार्फत गुटबन्दी भइरहेको बताएपछि ओलीनिकट कार्यकर्ता नाराबाजीमा उत्रिएर दुव्र्यवहार गरेका थिए। उनीहरूले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायत नारा लगाएर कार्यक्रममा अवरोध पु¥याएका थिए। दाहाल–नेपाल पक्षले भने ओलीनिकटहरूले मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गरेको आरोप लगाइरहेका छन्। दाहाल–नेपाल समूहले सो फाउन्डेसनका नाममा हुने गतिविधि रोक्न माग गरे पनि ओली पक्षले अस्वीकार गर्दै आएको छ। भदौ २६ गतेको स्थायी कमिटी बैठकले पनि तत्काल यस्ता कुनै प्रतिष्ठानबाट राजनीतिक गतिविधि नगर्ने निर्णय गरेको थियो।

ओली–देउवा भेटवार्ता
आन्तरिक विवादमा रहेको नेकपाका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको विषयले राजनीतिक वृत्तमा फरक चर्चा सुरु भएको छ। आफ्नै पार्टीका नेताहरूले आलोचना गरिरहेका बेला ओलीले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर उनीहरूबीच सरकारले नियुक्ति सिफारिस गर्ने संवैधानिक निकायहरूमा कस्ता व्यक्ति पठाउने भन्नेबारे छलफल भएको जनाइएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार संवैधानिक निकायको नियुक्तिका विषयमा छलफल भएको हो। ‘उहाँहरूबीच संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिका विषयमा छलफल भएको हो, अन्य विषय केही होइन,’ स्वकीय सचिव भानुले भने। विश्वविद्यालयका पदाधिकारी नियुक्तिसहितका विषयमा भेटमा कुराकानी भएको जानकारी दिँदै भानुले भने, ‘सत्तारूढ नेकपासँग झन्डै दुई तिहाइ बहुमत हुँदाहुँदै कांग्रेससँग कसरी सत्ता साझेदारीका विषयमा छलफल हुन्छ ? यो निराधार हल्ला मात्र हो।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वमा आफ्नो पार्टी निरपेक्ष रहेको जनाएका छन्। जनताले कांग्रेसलाई पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएको जनाउँदै उनले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्। ‘पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई, अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं,’ सामाजिक सञ्जालमा प्रवक्ता शर्माले लेखेका छन्, ‘नेकपाको द्वन्द्वसँग बिल्कुल निरपेक्ष छौं। अतः यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँछौं।’

प्रकाशित: ८ मंसिर २०७७ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App